Comments Add Comment

‘आफैंले पढाएका प्रचण्डलाई चिनिनछु’

अभि सुबेदीसँग गुरु संवाद

अभि सुवेदी एउटा परिचयमा मात्र सीमित छैनन् । कवि, निबन्धकार, नाटककार, समालोचक, अनुवादक लगायत धेरै विधामा फैलिएका छन् ।

उनको छुटाउन नहुने अर्को महत्वपूर्ण विधा हो प्राध्यापन । ४६ वर्षदेखि उनी निरन्तर विद्यार्थीकै माझमा छन् अभि सर । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा २७ वर्षदेखि पढाउन थालेका उनी अहिले पनि त्यहीँ एमफिलको कक्षा लिन्छन् । उनले तीन वर्ष अंग्रेजी विभागको प्रमुख भएर समेत काम गरे ।

उनै प्रा. डा. सुवेदीसँग गुरु पूर्णिमाको सन्दर्भमा गरिएको संवादः

Abhi-Subedi

सरको विचारमा गुरुको अर्थ के हो र गुरुका कर्त्तव्य के-के हुन् ?

– संस्कृतमा अँध्यारो चिर्ने व्यक्तिलाई गुरु भनिएको छ । गुरुले ज्ञान दिने हो । गुरु शब्दको ध्वनिले नै धेरै सभ्यतालाई प्रतिविम्बित गर्छ । दीक्षा दिने र विद्यार्थीलाई श्रेष्ठ मानिस बनाएर विश्वमा अघि बनाउने कर्तव्य हुन्छ गुरुको ।

पुरातन समयमा दीक्षा लिन ऋषिमुनिहरूकहाँ जाने चलन थियो । तर, गुरुबाट दीक्षा कहिले सकिन्छ भनेर जति कुर्दा पनि हत्तपत्त नपाइने । ऋषिको कुटीमा गाई हेरेर बस्नुपर्ने । यस मानेमा विद्या हासिल गर्नु पनि सजिलो कुरा हैन । धेरै धैर्यको खाँचो पर्छ, समय लाग्छ । गुरुकै क्षमतामा पुग्न त शिष्यले धेरै अभ्यास गर्नुपर्छ । गुरु सक्षम हुनुपर्छ । सक्षम भएन भने शिक्षा नै गलत हुन्छ ।

गुरु हुनु कत्तिको दुखिया कर्म हो ?

– मैले त रोजेर आएको क्षेत्र हुनाले कहिल्यै दुःख लागेन । सबै ठाउँमा जाँदा सर भनेर सम्मान गर्छन् ।

तपाईंको जीवनको पहिलो गुरु को हो ?

– पहिलो गुरु त आमालाई नै मान्छु । बुबा ४६ वर्षको हुँदा १०/११ वर्षकी मेरी आमासँग बिहे गर्नुभयो । त्यतिबेला पहिलो आमाको छोराहरू र मेरी आमालाई घरैमा पढाउन बुबाले दार्जिलिङबाट तिवारी गुरु ल्याउनुभएको रै’छ । आमाले उनैबाट बंगाली, संस्कृत लगायत धेरै विषयको ज्ञान लिनुभयो । त्यति बेला धेरै आमैहरूलाई क पनि लेख्न आउदैनथ्यो । गुरुबाट सिकेका कुरा पछि आमाले मलाई पनि सिकाउनुभयो । बंगाली जान्दछु म ।

पछि धार्मिक हिसाबले कट्टर स्वभावको गुरु कृष्णलाल अधिकारी मेरो गुरु हुनुभो । त्यसभन्दा पछि दक्षिणी भारतका क्रिश्चियन गुरुबाट अंग्रेजी सिक्ने अवसर पाएँ । त्यो सिकाइको प्रभाव साहित्यमा पर्‍यो ।

तपाईंको जीवनमा सबैभन्दा बढी प्रभाव पारेको गुरु ?

– आमा नै हो । जीवन र जगत्को समझ आमाले दिएको ज्ञानबाटै पाएँ ।

आफ्ना पुराना गुरुहरूसँग सम्पर्कमा हुनुहुन्छ कि हुनुहुन्न ?

– धेरै गुरु आज हुनुहुन्न । अहिले हुनुभएकामा मोहनी लोहनीसँग सम्पर्क हुन्छ । उहाँ फेसबुकमा देखा परिरहनुहुन्छ । एकजना गुरु कमल प्रकाश मल्ल अमेरिकामा हुनुहुन्छ । सुन्छु- उहाँलाई अचेत त्यति सञ्चो छैन रे ।

जुनसुकै कुरामा पहिले र अहिले भनेर तुलना गरिन्छ, पहिले र अहिलेका गुरुबीच कत्तिको अन्तर पाउनुहुन्छ ?

– समयअनुसार परिवर्तन हुन्छन् । सामान्यतया पश्चिमा मुलुकतिर गुरुलाई मान्दैनन्, पूर्वतिर बढी मान्छन् भनिन्छ । तर, यो कुरा गलत हो । मैले पश्चिमतिर जाँदा गुरुलाई निकै सम्मान गरिएको देखेँ । फूल लिएर भेट्न जाने भन्ने कुरा हैन । फलानो गुरुबाट मैले पढेको, सिकेको भनेर अत्यन्तै गर्व गर्छन् । तर, सत्य कुरा के हो भने, गुरु निष्ठावान् छ भने पूर्व न पश्चिम सबैतिर मान्छन् । ज्ञानप्रति श्रद्धा गरिन्छ र गुरु त्यसको संवाहक हुने भएकाले सम्मान मिल्ने हो ।

शिष्यले गुरुप्रति गर्ने आदर-सम्मानमा पनि कुनै फरकपन पाउनुभएको छ कि ?

– त्यस्तो लाग्दैन । मैले त पहिलेदेखि अहिलेसम्म माया र सम्मान नै भेटेको छु । गुरु र शिष्यबीच नजिकको सम्बन्ध होस् जस्तो लाग्छ । तर, नजिक भन्दैमा शिष्टाचारको दूरी नै पार गर्ने किसिमको हैन । यो अपेक्षा गरेअनुसार मैले असल चेलाहरू पाएको छु ।

पढाउने क्रममा विद्यार्थीलाई तपाईँले सिकाउने मुख्य कुरा के हुन्छ ?

– सकेसम्म आफ्नो बुताले तार्ने काममा लागिरहें । मैले नैतिक शिक्षा पढाउने हैन । विषय पढाउने हो । विषयसँग सम्बन्धित हुने भएकाले मानवतासँग जोडिएको बृहत्तर विषय समाउन सकून् भन्नेमा ध्यान दिन्छु । यसको माध्यमबाट अरु विषयमा पकड होस् भन्ने लाग्छ । पढाइसँग जोडिने गरी थिएटर, पेन्टिङको कुरा ल्याउँछु । उनीहरू पनि रमाइलो मान्छन् ।

तपाईंले अहिलेसम्म कति चेला कमाउनुभयो होला ? तपाईंका पुराना चेलाचेलीले कत्तिको सम्झिन्छन् ? भेट्न आउँछन् कि आउँदैनन् ?

– धेरै भए होलान् हौ । हजारौं । मलाई त चेलाका चेलाले पनि मान्छन् । म पनि तिनलाई आफ्नै चेला मान्छु । चेला-चेलीहरू बोलचाल गरिरहन्छन् । भेट्न पनि आउँछन् । म त उनीहरूबाट निराश छुइनँ । राम्रो मान्छन् ।

चेलाचेलीबाट उपहार कत्तिको आउँछन् ?

– ल्याइरहन्छन् नि के-के थरी । कसैले मिठाइ पनि दिन्छन्, कसैले फलफूल ल्याउँछन् । धेरैले किताब दिन्छन् । बेलायतबाट त कमिज पनि पठाउँछन् । उनीहरूलाई त अभि सर मोटो हुनुहुन्छ जस्तो लाग्दो रै’छ, ठूलो न ठूलो कमिज पठाइदिन्छन् । (हाँस्दै) यता ल्याएपछि टेलरमा गएर घटाउनुपर्छ ।

तपाईंले बिर्सन नसक्ने तीन चेलाहरू ?

– त्यसरी नाम लिँदा राम्रो नहोला । मेरो लागि सबै समान हुन् ।

तपाईंले पढाएका चेलाहरु ठूलो ओहदामा पुगेका पनि होलान् नी ?

-धेरै छन् । अहिले राजनीतिमा छाएका प्रचण्ड र कमल थापा मेरा चेला हुन् । मैले त मेरा विद्यार्थी भनेर प्रचण्डलाई बिर्सिसकेको रै’छु । उनैले पछि सम्झाए । पाटन क्याम्पसमा साइन्स पढ्न आएका थिए उनी । प्रायः अघिल्लो बेन्चमा बस्ने भएकोले उनलाई विशेष याद गरेको थिएँ । समयक्रममा उनी राजनीतिमा आए । १८/१९ वर्षको उमेरमा जस्तो अनुहार उनको अहिले छैन । त्यसैले मैले चिनिनँ ।

उनको फोटो देख्दा कता-कता देखेको मान्छे जस्तो चाहिँ लाग्थ्यो । उनी सशस्त्र युद्ध छाडेर आएपछि लोकराज बराल सरले प्राज्ञिक व्यक्तिहरूलाई एक दिन सानो भेलामा डाक्नुभएको थियो । खासमा प्रचण्ड र बाबुरामसँग भेटाउन हामीलाई बोलाउनुभएको रै’छ । त्यही भेलामा प्रचण्डले ‘मलाई चिन्नुभयो अभि सर’ भनेर सोधे । मैले त मेसै पाइनँ । उनले ‘म तपाईँकै विद्यार्थी, पाटन क्याम्पसमा पढाएको बिर्सनुभो ?’ भनेपछि पो हेक्का भो । उनको मुहारबाट जुँगा हटाएर बल्ल पुरानो विद्यार्थी चिनेँ ।

शिक्षण/प्राध्यापनमा रहँदा सबैभन्दा खुसी र दुःख लागेका प्रसंगहरू के छन् ?

– खुसी लागेका पक्ष नै धेरै छन् । आफूले गाइड गरेअनुसार विद्यार्थीले काम गर्छन् । प्यासन देख्दा खुब खुसी लाग्छ । अर्कातिर मेरो मिसन र उद्देश्य नबुझी बात गर्छन् । मलाई प्रयोग गर्छन् । यसमा दुःख लाग्छ ।

गुरु पूर्णिमाको दिन आज के-के गर्नुभयो ?

– आज बिहानभरि विद्यार्थीसँगै थिएँ म । मलाई भेट्न घरैमा आए । सँगै खाना खायौं हामीले । बाहिर पनि भेट्न बोलाएका छन् । फोनबाट शुभकामना दिनेहरू धेरै थिए । रमाइलो पो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment