Comments Add Comment

त्रिभुवन विमानस्थलमा सुरक्षा सतर्कता उच्च

Airport-Security-Check

५ साउन, काठमाडौं । गत असार २५ गते साँझ एक भारतीय महिला आत्तिँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको प्रहरीमा पुगिन् । उनले आफनो २ लाख रुपैयाँ भारु चोरी भएको कुरा एक्कै सासमा सुनाइन् । प्रहरी पनि चकित पर्‍यो र सोध्यो कहाँ थियो पैसा कसरी हरायो त ? आफ्नो ब्यागेजमा भएको पैसा होटलमा पुगेर हेर्दा नभेटिएको ति महिलाले प्रहरीलाई बताइन् ।

ड्युटीमा भएका प्रहरीले भारतीय महिला सुनन्दा अंकितालाई एउटा उजुरी दिन भने । भारतबाट धार्मिक भ्रमणका लागि नेपाल आइपुगेकी पर्यटकको पैसा विमानस्थलमै चोरी भएको उजुरी परे पछि प्रहरीको पनि बेचैनी बढ्यो ।

विमानस्थलमा खटिएको प्रहरी टोलिले तत्काल अनुसन्धान अगाडि बढायो तर केहि पत्ता लागेन । विमानस्थलको निगरानीका लागि राखिएका सिसि टिभी क्यामेराले आगमन कक्षमा देखिएका तीन जनाको हर्कतलाई शंकास्पद देखायो । तर मान्छे भेटिने सम्भावना थिएन ।

ति शंकास्पद भनिएका मान्छे फेरि पनि देखिन सक्ने तर्फ सचेत हुँदै प्रहरीले निगरानी बढाइरहेको थियो । भोलिपल्ट अर्थात २६ गते बिहानै शंकाको घेरामा रहेका तिनै तीन जना फेरि विमानस्थलमै देखिए, लगतै पक्राउ पनि परे । उनीहरु थिए पेरुबाट चोरी गर्दै नेपालसम्म आइपुगेका तीन जना कुख्यात चोरहरु ।

विमानस्थलको क्यामेराले कैद गरेको दृष्य अनुसार ति चोरहरुको निगरानी र शैली चानचुने छैन । जुन ठाउँबाट ति भारतीय महिलाको पैसा चोरी भएको छ त्यहि ठाउँमा प्रहरीहरु ओहोर-दोहोर गरिरहेका हुन्छन् । अन्य यात्रुहरुको संख्या पनि बाक्लो हुन्छ । तर सबैको आँखा छलेर उनीहरु ब्यागेजबाट नगद चोर्न सफल भएका छन् ।

उद्देश्य चोरी वा अन्य ?

अनुसन्धानको क्रममा के पत्ता लाग्यो भने उनीहरु जुलाई दुई तारिखमा पेरुबाट ब्राजिल, दक्षिण अफि्रका हुँदै चार तारिखमा तान्जानिया पुगे । तीन रात तान्जानियामा बसेको यो समूहले त्यहाँ पनि चोरी गरेर नेपाल आएको हुन सक्ने डिआइजी गोविन्द निरौला बताउँछन् ।

अोमानको मस्कटबाट ८ जुलाइमा काठमाडौं आइपुगेका यी चोरहरु के चोर्न कै लागि पेरुबाट काठमाडौंसम्म आइपुगेका हुन् त ? गम्भीर प्रश्न बनेको छ । दक्षिण अमेरिकाको पनि अन्तिम तिर पर्ने पेरुबाट नेपाल आउने खर्च त्यति सस्तो छैन । त्यसमा पनि उनीहरुले जुन रुट प्रयोग गरेर नेपाल आइपुगेका छन् त्यो रुट अक्सर लागुऔषध कारोबारीहरुले मात्रै प्रयोग गरेको देखिन्छ ।

जम्मा दुई लाख भारु चोरी गरेका उनीहरुका लागि त्यो त्यति ठूलो रकम हुनै सक्तैन । हेर्दा सामान्य चोरीको घटना जस्तो देखिए पनि यसले सुरक्षा निकायलाई निकै गम्भीर बनाएको छ । उनीहरु नेपालसम्म किन आए ? त्रिभुवन बिमानस्थललाई नै किन चोरीको निशानामा राखे ? उनीहरुको खास उद्देश्य के हो ? गम्भीर प्रश्नहरु उब्जिएका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्द भन्छन्, ‘पेरुदेखि कुनै मान्छे चोरी गर्न मात्रै पक्कै नेपालसम्म आएको होइन होला ? यसमा थप अनुसन्धान जरुरी छ ।’

विषेश ब्युरोका डिआइजी बम बहादुर भण्डारीका अनुसार चोरीका आरोपमा पक्राउ परेकाहरुको बारेमा आपराधीक रेकर्ड भेटिएको छैन । डिआइजी भण्डारीले भने, ‘तत्काल हेर्दा त्यस्तो ठूलो उद्देश्य त देखिँदैन तर त्यत्रो ठूलो लगानी गरेर चोर्नका लागि मात्रै नेपाल आएका होलान् त भन्नेतर्फ हामी अनुसन्धान गरिरहेका छौं ।’

उनले अघि भने, ‘पेरुको आतंकवाद नेपालसम्म जोडिंदैन । उनीहरु लागुऔषध कारोवारसँग जोडिने हुन् तर अहिलेको अवस्थामा थप अनुसन्धान जरुरी छ ।’

विमानस्थलमा नेपाल प्रहरीको विषेश ब्युरो, अपराध महाशाखाको टोलि, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको समेत विषेश टोलि परिचालन भैरहेका छन् । तर पनि विमानस्थलको सुरक्षा चुनौति सामना गर्न तत्काल औंठा छाप राख्नेदेखि अन्य विष्फोटक पदार्थ वा लागुऔषध चेक गर्ने प्रविधि जरुरी भैसकेको डिआइजी भण्डारी बताउँछन् ।

कनेक्सन कहाँसम्म ?

असार २५ गते भारतीय महिलाको दुई लाख रुपैयाँ चोरेको यो समूहले पर्सिपल्ट साँझ काठमाडौंबाट इण्डोनेशियाको जाकार्ता हुँदै मलेशियाको क्वालालाम्पुरसम्म पुगेर फेरि काठमाडौं नै फर्कने टिकट बनाएको पनि पाइएको छ । उनीहरु किन दोस्रो पटक पनि नेपाल आउन खोजे ? यो पनि अनुसन्धानको विषय बनेको छ ।

ति तीनै जना चोरहरुलाई चोरीको आरोपमा नियन्त्रणमा लिएर गौशाला वृत्तले मुद्दा चलाइरहेको छ । उनीहरुको अन्य कनेक्सन वा योजना खोज्ने प्रयास कसैले गरेको देखिँदैन ।

पूर्व एआइजी रविराज थापाको बुझाइमा उनीहरु पेशेवर चोर नै हुनसक्छन् र विमानस्थललाई मात्रै टार्गेट गर्ने उनीहरुको उद्देश्य हुन सक्छ । तर उनीहरुको विगत कस्तो छ भनेर गहन अनुसन्धान गर्नुपर्ने उनी बताउँछन् । ‘कतिपय व्यक्तिहरु चोरी गर्दै खाने लफंगाहरु पनि हुन्छन् तर यसलाई इन्टरपोल मार्फत अनुसन्धान गरेर उनीहरुको रेकर्ड खोज्न सकिन्छ,’ पूर्व एआइजी थापाले भने ।

पूर्वएआइजी थापाले भने विमानस्थल जस्तो संवेदनशील ठाउँबाट चोरी हुनुलाई सामान्य रुपमा लिन नहुने बताउँछन् । उनका अनुसार नेपालका विमानस्थलको सुरक्षा व्यवस्था निकै फितलो छ । ‘विमानस्थलको सुरक्षा यति कमजोर छ कि यहाँ कसले के गरिरहेको छ कसैलाई थाहै हुँदैन, यहाँ सुरक्षाको बारेमा कसैले गम्भिर भएर चासो दिएकै छैनन्,’ उनी भन्छन्, ‘विमानस्थल जस्तो ठाउँमा हजारौंलाई पास वितरण गरिएको छ कसरी सुरक्षा हुन सक्छ ?’

विमानस्थलमा हतियारधारी प्रहरी परिचालन

एकातिर पेरुदेखि आएको चोरले प्रहरीलाई छक्यायो, अर्कोतिर विभिन्न देशहरुमा आतंककारी आक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विषेश सुरक्षा सतर्कता अपनाएको छ ।

विषेश गरेर बंगलादेशमा भएको आतंककारी आक्रमण पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको विषेश टोलि परिचालन भैरहेको डिआइजी निरौलाले बताए ।

एसपीको कमाण्डमा त्रिभुवन विमानस्थलको सुरक्षाको पूर्णरुपमा हतियारले सजिएका प्रहरीको विषेश टोलि परिचालन भैरहेका छन् । डिआइजी निरौलाले भने ‘विमानस्थलमा सुरक्षा चुनौति बढेको छ । चेकिङमा विषेश टोलि परिचालन भएका छन् । उनीहरु जुनसुकै बेलामा फायर गर्न सक्छन् ।’

पोशाकमा खटिएको टोलिले हतियारसहित विमानस्थलमा गस्ती गर्छन् भने भित्र चेकिङमा खटिने अधिकृतहरुसमेत हतियारसहित तयारी अवस्थामा परिचालन भैरहेको उनले बताए ।

त्यसो त विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट)देखि भित्री भागसम्म सादा पोशाकका टोलि पनि उत्तिकै परिचालन भैरहेको प्रहरीको दाबी छ । बिहानदेखि हतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन सक्ने कुकुर पनि परिचालन हुन्छन् । त्योसँगै सेना र अन्य सुरक्षा निकायले पनि निगरानी बढाइरहेको डिआइजी निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment