Comments Add Comment

गत वर्षभन्दा कुन तरकारी कति महंगो ?

Kalimati-tarkari-bazzar
५ साउन, काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष कालीमाटी थोक बजारमा केही तरकारीमा अस्वाभाविक मूल्यवृद्धि भएको छ । सामान्यतया अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष सिजनकै तरकारीहरु पनि अत्याधिक महंगा भएका छन् ।

वर्षाकै सिजनमा उत्पादन हुने तरकारी नै महंगो मूल्यमा किन्नुपरेपछि उपभोक्ताहरु मर्कामा परेका छन् । वर्षाको समयमा पाइने भटमासको कोसा यस वर्ष गत वर्षको भन्दा ९२ प्रतिशत महंगो छ । गत वर्ष यस्तै समयमा ६५ रुपैयाँ प्रतिकिलो हुने भटमासको कोसा यस वर्ष किलोको १ सय ३५ रुपैयाँभन्दा माथि पर्छ ।

आलुको मूल्य पनि गत वर्षको भन्दा लगभग ६० प्रतिशतले उच्च छ । गतवर्ष कालीमाटी बजारमा साउनको सुरुवातमा प्रतिकिलो ३० देखि ४० रुपैयाँमा आलु पाइन्थ्यो । अहिले कालीमाटीमा आलुको खुद्रा औसत मूल्य ५० देखि ५५ रुपैयाँको हाराहारीमा छ ।

गोलभेंडा र काउलीको मूल्य पनि गत वर्षभन्दा किलोमै १० रुपैयाँ महंगो छ । गत वर्ष यही सिजनमा ६५ रुपैयाँसम्म पाइने गोलभेंडा र काउली अहिले किलोको ७५ देखि ८० रुपैयाँ तिर्नुपर्छ ।

गाजर पनि किलोमा झण्डै ३० रुपैयाँ महंगो भएको छ । अघिल्लो वर्ष यसै सिजनमा ७५ रुपैयाँमा पाइने गाजर अहिले थोक बजारमै १ सय ५ देखि १ सय १० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी थोक बजार समितिले जनाएको छ ।

तितेकरेला, घिरौंला र लौका पनि गत वर्ष भन्दा महंगा भएका छन् । तुलनात्मक रुपमा झण्डै २२ प्रतिशतले महंगिएका करेला, लौका र घिरौंला किलोको ५५ देखि ६० रुपैयाँ पुगेको छ ।

पाकेको फर्सी र भिण्डी पनि गत वर्षभन्दा २५ प्रतिशत महंगो छ । स्कुस भने ८५ प्रतिशत महंगो छ । गत वर्ष यही सिजनमा किलोको ३५ रुपैयाँमा पाइने स्कुस अहिले ६५ देखि ७० रुपैयाँ पर्छ ।

हरियो प्याज पनि झण्डै ६० प्रतिशत महंगिएर किलोको १०५ देखि ११० रुपैयाँमा पुगेको छ । सुकेको लसुनको मूल्य पनि आकासिएको छ । गत वर्ष यही सिजनमा १ सय ७५ रुपैयाँ प्रतिकिलोमा पाइने चाइनिज लसुन यो वर्ष किलोकै ३ सय ३५ रुपैयाँ पुगेको छ । नेपाली लसुनको मूल्य पनि गत वर्ष भन्दा अहिले झण्डै किलोको ९० रुपैयाँ महंगो छ ।

गतवर्ष १ सय ४५ रुपैयाँ रहेको नेपाली लसुन अहिले किलोको २ सय ३५ रुपैयाँ पुगेको छ । ब्यापारीहरु उत्पादन कम भएकाले मूल्य आकासिएको बताउँछन् । तर, मूल्यवृद्धि भने तत्कालै रोकिने स्थितिमा देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment