Comments Add Comment

‘भगवान’ले बचाए तर एक्लै बनाए

बेसहारा भए छिमा र श्यामी

Shyami-and-Chhima-Pun, Pyuthan, Become alone
बेसहारा बनेका प्यूठान फोप्ली-३ का छिमा पुन र श्यामी पुन

१६ साउन, प्यूठान । गत साता अविरल वर्षासँगै गएको बाढी तथा पहिरोले प्यूठानमा ३८ भन्दा बढीको ज्यान लियो । भुपाल पुन र तेजे पुनको परिवारलाई पनि पहिरोले खायो ।

संयोगले दुबै परिवारमा दुई किशोरी बाँचेका छन् । तर, परिवारका सबै सदस्य गुमाएका उनीहरु बेसहारा बनेका छन् । बाढी तथा पहिरोले परिवारका सबै सदस्य गुमाएका प्यूठान फोप्ली-३ का छिमा र श्यामी पुन अहिले बेसहारा बनेका हुन् ।

छिमाको परिवारले तिमिलेमा घर बनाउन लागेको थियो । तर, साउन १० गते आएको बाढीले घर मात्र होइन, परिवार नै निल्यो । र, छिमा अब एक्लो भएकी हुन् । ‘सबै परिवार तिमिलेमा घर बनाउँदै हुनुहुन्थ्यो । काम गर्नेहरु ओढारमा बसे । भाइबहिनीहरुलाई लिएर आमा-बुवा छिमेको गोठमा बस्नुभएको थियो,’ १६ वर्षीया छिमाले भनिन्, ‘राति आएको खोलाले खेत-गोठ सबै बगायो ।’

घटनामा उनको बुवा भुपाल, भाइ धन, बहिनीहरु लिला र थमीको ज्यान गएको छ । उनीहरुको शव झिमरुक खोलामा भेटिएको थियो । आमा चमेली अझै वेपत्ता छिन् ।

परिवारको सबै सदस्य गुमाएकी छिमा पुरानो घर डाँडाथोकीमा एक्लै बस्दै आएकी छन् ।

अम्बिका माद्यमिक विद्यालय फोप्लीमा कक्षा ८ मा अध्ययनरत उनको परीक्षा चलिरहेको छ । पहिलो दिनको परीक्षा सकिएकै बेला उनले अभिभावक गुमाउनु पर्‍यो । उनले भक्कानिँदै भनिन्, ‘यस्तो घटना होला भन्ने सोचेकी पनि थिइनँ ।’
वैदेशिक रोजगारबाट फर्किएका भुपाल खेत भएतिरै घर बनाएर बस्ने तयारीमा थिए । राति गाउँभरी पहिरो गएको रहेछ । ‘बाटो हिँड्नेहरुले कसैले बगाइसकेको छ भने कसैले ओढारमुनि छन् भने,’ घटना सम्झदै छिमा भन्छिन्, ‘दगुर्दै ठूलीआमाको घर गएँ । उहाँ रुन थाल्नुभयो ।’

घटनास्थल र छिमा भएको ठाउँ दुई घण्टाको पैदल दुरीमा छ । ‘आमाबुवालाई भेट्न जान्छु भन्दै हिँड्न खोजेकी थिएँ,’ उनले थपिन्, ‘गाउँकाले तिमीले खोला तर्न नसकिने भनेपछि दिनभरी रोएरै बिताएँ ।’

एक्लिएकी बालिका मध्ये अर्की हुन्, श्यामी पुन । साथी कहाँ गएकाले उनी त बाँचिन् तर, परिवारका सबै सदस्य गुमाउन पुगिन् । ‘एक रात घर छोडेकी थिइनँ । घटना हुनु अघिल्लो दिन सङ (साथी)ले जबर्जस्ती गरेकाले विनाको घर गएकी थिएँ,’ उनले भनिन्, ‘राति होहल्ला मच्चिएपछि उठ्यौं । घर नै थिएन ।’

घटनामा उनका बुवा तेजे, आमा खल्ती, हजुरआमा नन्दी र दिदी हर्कमाको ज्यान गएको छ । श्यामीले भनिन्, ‘भगवानले मलाई बचाएजस्तो लाग्छ । तर, परिवार गुमाएँ ।’

दुबै बालबालिकालाई नेपाली सेनाको हेलिकप्टरले अहिले प्यूठान सदरमुकाम खलंगा ल्याएको छ । उनीहरुलाई महिला तथा बालबालिका कार्यालयको अल्पकालीन आवास गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment