Comments Add Comment

कमल थापाले प्रचण्डलाई भने- हाम्रो चित्त दुखेको छ

प्रचण्डको जवाफः 'संसदमा अलि भावुक भएकै हुँ'

फाइल फोटो
फाइल फोटो

१७ साउन, काठमाडौं । व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले पूर्वपञ्च एवं राजावादीहरुको चित्त दुखाए । केपी ओलीको प्रेम र हिमचिम राजावादीहरुतिर अलि बढी भएको प्रचण्डले बताउँदा संसदमा ओली र कमल थापा एकै ठाउँमा बसिरहेका थिए ।

प्रचण्डले संसदमा बोलेको त्यस्तो कुराले राप्रपा नेपालका अध्यक्ष कमल थापाको चित्त दुखेको रहेछ । आइतबार प्रचण्डसँग भएको भेटमा यसबारे राप्रपा अध्यक्ष थापाले मुखै फोरेर गुनासो गरे ।

माओवादी अध्यक्ष प्रचण्डसँग आइतबार भएको भेटमा अध्यक्ष थापाले प्रचण्डको अभिव्यक्तिबारे कुरा गरेको राप्रपा नेपालका नेता एवं प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरलाई बताए ।

यसबारे प्रचण्डसँग भएको कुराकानी र सरकारमा राप्रपा नेपालको सहभागिताबारे गिरीसँग अनलाइनखबरले गरेको छोटो कुराकानीः

आइतबार प्रचण्ड र कमल थापावीच भएको भेटमा तपाईहरुलाई सरकारमा सहभागी हुन निम्तो प्राप्त भएको हो ?

प्रचण्डजीले त हामीलाई सरकारमा आउनका लागि प्रस्ताव गरिसक्नुभयो । यो विषयमा आज महराजी र म बसेर ‘एक्सरसाइज’ गर्दैछौं ।

सो भेटमा प्रचण्डको भनाइ के थियो ?

हामीले सरकारमा बस्दाखेरिको समीक्षा गर्‍यौं । विगत, वर्तमान र भविश्यमा पनि हामी देशका समस्याहरुलाई समाधान गरेर कसरी अगाडि जाने भन्नेमा हाम्रा साझा दायित्वका विषयमा पनि हामीले छलफल गर्‍यौं ।

तर, संसदमा त प्रचण्डले केपी ओलीलाई आलोचना गर्ने क्रममा राप्रपा नेपाललाई पनि दह्रै गाली गर्नुभएको थियो नि ?

यो कुरामा हामीले अलिकति चित्त दुखेको छ भन्ने कुरा राख्यौं । तपाई-हामी सँगै सरकारमा थियौं, हामी फरक मान्यता र तपाईहरु फरक मान्यताभित्रको एकता सरकारको उपस्थितिमा थियो भन्ने एक अर्कालाई थाहा छ । हामी यो संविधानको विपक्षमा मत हालेको दल भन्ने पनि एकअर्कालाई थाहा छ ।

हामीले आलोचनात्मकरुपमा समर्थन गरे पनि संविधान कार्यान्वयन गर्ने कुरामा हामीले कुनै पनि कमी कमजोरी हुन दिएनौं । स्थानीय निकायकै तर्फबाट गाउँ गाउँसम्म संविधानको कार्यान्वयन गर्ने कार्यक्रम गर्‍यौं ।

यो संविधान अपूर्ण छ भनेर अन्तरराष्ट्रियरुपमा भएका कन्फ्युजनहरु पनि परराष्ट्र मन्त्रालयको जिम्मेवारी बोकेको हैसियतले हामी कुनै कमीकमजोरी राखेनौं । यी कुराहरु तपाई(प्रचण्ड) ले नै आत्मसाथ गरिरहेको अवस्थामा त्यहाँ संसदमा चाँहि तपाई जुन ढंगबाट प्रस्तुत हुनुभयो, त्यसबाट हाम्रो चित्त दुखेको छ भनेर हामीले राख्यौं । अध्यक्षले नै प्रचण्डजीसँग यी कुराहरु राख्नुभयो ।

प्रचण्डको जवाफ के आयो ?

उहाँले के भन्नुभयो भने म अलिकति चाँहि त्यहाँ भावुक भएकै हो । यो कुरा भन्ने नै उद्देश्य राखेर मैले भनेको होइन । तर, कमसेकम बोल्दै जाँदा त्यस्तो हुन गयो । तपाईहरुलाई अपमानित वा अवमूल्यन गर्ने मेरो कुनै उद्देश्य छैन भन्नुभयो ।

सरकारमा प्रचण्डले मागेको सहयोगका विषयमा तपाईले के जवाफ दिनुभयो ?

तपाईलाई साथ र सहयोग दिनका निमित्त तपाईले सदनमा बोलेका कुराले हाम्रो चित्त दुखेकै छ । अब यो घाउ निको हुने किसिमले तपाईले कस्तो प्रयास गर्नुहुन्छ, त्यसलाई ध्यानमा राखेर हामीले निर्णय गर्छौं भनेका छौं ।

मधेसको मामिलामा त तपाईहरु केपी ओलीभन्दा प्रचण्डको विचारसँग नजिक होइन र ? विगतमा पनि राप्रपा नेपालले मधेसीका मागहरुको सुनुवाइ हुनुपर्ने बताउँदै आएको थियो….

विभिन्न ढंगबाट मधेसको समस्या उठाइएको छ । यसमा वृहत रुपमा छलफल गरेर राष्ट्रिय हितलाई आघात नपुग्ने प्रकारले मुद्दाहरुको विषयमा छलफल गरेर टुङयाउनुपर्छ ।

dilnath_giri
दिलनाथ गिरी

जति चर्चा गरे पनि राष्ट्रिय सहमतिको सरकार अहिलेसम्म बन्न सकेन । अब तपाईहरुले यसलाई सहयोग पुर्‍याउने गरी सरकारमै गएर भूमिका खेल्ने कि बाहिरै बस्ने ?

हामीले पहिलेदेखि नै भनेका छौं, राप्रपा नेपाल र राप्रपावीचको पार्टी एकता हाम्रो पहिलो प्राथमिकता हो । दोस्रो प्राथमिकता सरकारमा के गर्ने भन्ने हो । पार्टी एकता भइसकेपछिको परिस्थितिमा मात्रै हामीले यसबारे निर्णय गर्ने भन्ने सोच बनाएका छौं ।

तर, पार्टी एकता नहुँदै दुई राप्रपावीच सरकारमा जाने र नजाने दुई धार देखियो नि ?

दुईवटै पक्षको केन्द्रीय समितिले पार्टी एकता गर्ने भनेर निर्णय गरेको छ । अब निर्णयमा पुगेर त्यसलाई कार्यान्वयन गर्नुपर्ने अवस्थामा आइपुग्दाखेपरि एकथरि साथीहरु सत्तामा नगई नछाड्ने अवस्थामा पुग्नुभएको छ ।

हामीले के भनेका छौं भनेेदेखि सत्तामा जानुपर्छ भने पनि त्यो भन्दा पहिले हाम्रो अवश्यकता पार्टी एकता गरौं न । त्यसपछि सरकारमा जाने-नजाने विषयमा छलफल गरौं ।

तपाईहरुले पनि त सरकारमा जानै हुन्न भन्नुभएको छैन क्यारे, उसोभए सरकारमा गए हुन्न ?

सरकार जानै हुँदैन हामीले भनेका छैनौं । तर, हाम्रो पहिलो आवश्यकता भनेको पार्टी एकता हो । पहिले यो कार्यभार पूरा गरौं, त्यसपछि दोस्रो परिस्थितिमा राष्ट्रको समसामयिक विषयमा जे निर्णय गर्नुपर्छ, पार्टीले निर्णय गरौं । सरकारमा जानुपर्छ भने त्यो पाटोमा पनि छाफल गरौं । जानुहुँदैन भने त्यसमा पनि छलफल गरौं । पार्टीले जे निर्णय गर्छ, त्यही ढंगबाट अगाडि बढौं भन्ने हाम्रो आग्रह हो । हामी यसैलाई प्राथमिकता दिएर हिँडेका छौं र यही कुरा हामीले प्रचण्डजीलाई पनि राख्यौं ।

पार्टी एकता गरेपछि मात्रै सरकारमा जानेबारे निर्णय लिने भन्नुहुन्छ, तर बुधबार नै प्रधानमन्त्रीको चनाब हुँदैछ, त्यसअगावै निर्णय गर्नुपर्दैन ? कसलाई भोट दिने ?

हिजो पशुपतिसमशेरजीले भक्तपुरमा बोल्दाखेरि सरकारमा जाने विषयमा राप्रपा र राप्रपा नेपालले छलफल नगरी निर्णय गर्दैनन् भन्नुभएको छ । आज हाम्रो यस विषयमा एक चरणमा राप्रपासँग छलफल हुँदैछ । यदि सरकारमा जानुपर्ने परिस्थिति आयो भने वहाँहरुको के हो रोडम्याप, त्यसबारे छलफल हुन्छ ।

भोलि १ बजे राप्रपा नेपालको संसदीय दल र कार्यसम्पादन समितिको बैठक बस्छ । आज महरासँग बसेर एक्सरसाइज गर्छौं र अध्यक्षहरुलाई पनि हामी जानकारी गराउँछौं । त्यसपछि उहँहरुले निर्णय गर्नुहुन्छ र त्यो आ-आफ्नो केन्द्रीय समितिमा राख्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment