Comments Add Comment

पहिरोले पर्वतमा ९९ घरपरिवार विस्थापित हुने खतरामा

pahiro_palpa

२६ साउन, पर्वत । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् ।

असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण करिब एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने करिब ९९ घरपरिवार विस्थापनको खतरामा परेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।

उनका  अनुसार वर्षासँगै बस्ती माथिबाट आएको पहिरोका कारण उत्तरी पर्वतको माझफाँट–९ का ६ घर पूर्णरुपमा विस्थापित बनिसकेका छन् । बाढीका कारण भूकम्पले हल्लिएको र चिरिएका ठाउँ कमजोर बनेका हुन् । जिल्लाको भँगरा–२ गैरीस्वाँराका २१ घरधुरी, देउराली–६ को जहेलेका २२ घर, कुश्मा नगरपालिका–१, मालढुङ्गाका नदी किनारमा बसेका झन्डै २५ घरपरिवार विस्थापनको खतरामा परेका छन् ।

त्यसैगरी, बाँसखर्क–९ का ७ घरपरिवार र माझफाँट–९ का २४ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको भनी विभिन्न प्राविधिक टोलीबाट समेत प्रतिवेदन प्राप्त भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

जोखिममा देखिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउने भन्ने निर्णय भएको समेत सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिए । बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँलाई सुरक्षित स्थानमा सार्नका लागि गृहकार्य भइरहेको ढकालले जानकारी दिए ।

कुश्मा नगरपालिका तथा सम्बन्धित गाविसले जोखिममा रहेका बस्तीका समुदाय एवम् स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिसँग समन्वय एवम् छलफल गरी नजिकैको सुरक्षित स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्ने तयारी गरेको बताइएको छ ।

पहिरोकै कारण साउन १२ गते राति धौलागिरि कपास उद्योग माझफाँटको भवन पुरिँदा १२ वर्षीया अंकिता तामाङको ज्यान गएको थियो भने आठजना घाइते भएका थिए । वर्षाले कालीगण्डकीको सतह बढ्दा र कटानका कारण पर्वत बेनीका तथा बगरफाँटका करिब २००, इमिचौरका १० र शालिग्राम गाविसस्थित सेतीवेणी बजारका झन्डै २५ परिवार जोखिममा रहेका छन् ।

जुनसुकै बेला पनि पहिरो आउने वा कालीगण्डकीको कटानका कारण दुर्घटना निम्तिने भयका कारण स्थानीयवासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment