९ भदौ, काठमाडौं । भण्डै तीन साता लामो आन्तरिक किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रुप दिँदैछ । प्रचण्ड सरकारमा कांग्रेसको भागमा १४ मन्त्रालय परेका छन् ।
यसअघि १३ मन्त्रालय दिने समझदारी भएपनि आन्तरिक भागवण्डा मिलाएर सहकारी तथा गरिवी निवारण थपिएको छ । जसमध्ये देउवाको भागमा ८, रामचन्द्र पौडेलको भागमा ५ र सिटौला समूहको भागमा एउटा मन्त्रालय परेको छ । खुमबहादुर खड्का समूहले पनि देउवासँग एउटा मन्त्रालय मागेको छ ।
कांग्रेस नेताहरुका अनुसार विहीबार साँझसम्म मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने र भोलि -शुक्रबार) मन्त्रिपरिषद विस्तार गरेर सपथ गराउने तयारी भइरहेको छ ।
यसरी भयो भागशान्ति जय नेपाल !
लामो विवादपछि रामचन्द्र पौडेल समूहलाई पाँच मन्त्रालय दिन देउवा तयार भएका छन् । पौडेललाई एक मन्त्रालय थप्नु अघि उपप्रधान तथा विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पार्टीको भागमा एक मन्त्रालय थप गराएका थिए ।
५ मन्त्रालय नपाएर सरकारमै नजाने धम्की दिएपछि अन्ततः पाँचवटा मन्त्रालय दिएर सभापति देउवाले पौडेल समूहको असन्तोषलाई मथ्थर पारेका छन् ।
पौडेल समूहले पाँच मन्त्रीको नाम पनि तय गरेको छ । तर, उनीहरुले पाउने मन्त्रालय टुंगिन बाँकी छ । पौडेल निकट नेताहरुका अनुसार विहीबार साँझसम्म मन्त्रीहरुको नाम पार्टी सभापति देउवालाई बुझाइनेछ । नेताहरुका अनुसार पौडेल समूहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी मन्त्री बन्ने भएका छन् ।
कृष्ण सिटौला र गगन थापा समूहले पनि एउटा मन्त्रालय पाउने भएको छ । यो समूहबाट गगन थापा र भीमसेनदास प्रधानमध्ये एकजना मन्त्री बन्नेछन् । मन्त्रालयका आधारमा को जाने भन्ने निर्णय हुने नेताहरु बताउँछन् ।
देउवाको भागमा निधि र लेखकसहित ८ मन्त्री
पौडेल समूहलाई पाँच र सिटौला समूहलाई एक मन्त्रालय दिएपछि देउवा समूहले पाउने मन्त्रालयको संख्या ८ पुगेको छ । यीमध्ये विमलेन्द्र निधि र रमेश लेखक पहिल्यै मन्त्री भइसकेका छन् । अब देउवा पक्षबाट ६ जना नयाँ मन्त्रीले सपथ खानेछन् ।
देउवा निकट स्रोतका अनुसार अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवनबहादुर शाही देउवा समूहबाट मन्त्री बन्ने पक्का भएको छ । केसीले शहरी विकास, प्रकाशशरणले परराष्ट्र र बालकृष्णले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने लगभग पक्का जस्तै छ भने जीवनवहादुर संस्कृति मन्त्री बन्ने चर्चा छ ।
कांग्रेस नेता केसी यसअघि शिक्षा मन्त्री बन्ने चर्चा थियो । तर, यो मन्त्रालय माओवादीले आफैंसँग राख्ने भएपछि उनी शहरी विकासमा जान बाध्य भएका हुन् ।
देउवा पक्षबाट पाँचौं मन्त्रीमा झापाका सांसद केशवकुमार बुढाथोकीको सम्भावना छ । उनले केन्द्रीय सदस्यको बन्नुको सट्टा मन्त्री रोजेको कांग्रेस स्रोत बताउँछ ।
छैटौं मन्त्रीमा को जाने भन्ने टुंगो लागिसकेको छैन । यसमा तीन जनाको नाम छलफलमा छ । फर्मुल्लाह मन्सुर, सूर्यमान गुरुङ र अम्बिका बस्नेतमध्ये एकलाई मन्त्री बनाउने तयारी भइरहेको एक नेताले अनलाइनखबरलाई बताए ।
खुमबहादुरलाई के दिने ?
रामचन्द्र पौडेल र सिटौला समूहको गुनासोलाई व्यवस्थापन गर्न सफल बनेका कांग्रेस सभापति देउवाले अझै केही समस्या सुल्झाउन बाँकी छ ।
देउवाले अब आफ्नै समूहभित्रको असन्तुष्टिलाई सम्हाल्न बाँकी छ भने खुमबहादुर खड्काले एउटा मन्त्री मागिरहेको खड्का समूहलाई पनि व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।
महाधिवेशनमा सहयोग गरेका खुमबहादुर आफूलाई उपसभामति नबनाएकोमा पहिलेदेखि नै असन्तुष्ट छन् । अब मन्त्री पनि नदिए उनको आक्रोस बढ्नेछ । खुमबहादुर समूहबाट शंकर भण्डारीको नाम चर्चामा छ । खुमबहादुरले पत्नी शिलालाई पनि मन्त्री बनाउन चाहेको चर्चा यसअघि चलेको थियो ।
अब देउवाले छैटौं मन्त्रीमा आफ्नै समूहबाट पठाउँछन् या खुमबहादुर टीमलाई एउटा मन्त्रालय दिन्छन् ? यसबारे देउवाले निर्णय गर्न सकेका छैनन् ।
प्रतिक्रिया 4