+
+
Shares

महन्थलाई दिनुपर्ने चिठी किन मोदीलाई पठाएको ?

मधेसका नेता महन्थ नै हुन्

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २१ गते १८:५५

brijesh jupta (1)संघीय गठवन्धन ठूलो कि मधेसी मोर्चा ? मधेसका सर्वोच्च नेता महन्थ ठाकुर हुन् कि उपेन्द्र यादव ? मोर्चाभित्रै र संघीय गठबन्धन अनि आम मधेसीबीच उठिरहेका यी प्रश्नको जवाफ खोज्दै हामी तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजार पुग्यौं ।

तमलोपाका नवनियुक्त महामन्त्री तथा सांसद बृजेशकुमार गुप्ताले नलुकाई भने-मधेसी मोर्चा नै आन्दोलनको मूल प्रवाह हो र महन्थ ठाकुर नै राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायले मानेका मधेसका उच्च नेता हुन् ।

त्यसो भए मोर्चाका विकल्पमा संघीय गठबन्धन खडा गरेर उपेन्द्रलाई किन नेता बनाइयो त ? हाम्रो अर्को प्रश्नमा गुप्ताले भने, मोर्चाको विकल्प गठबन्धन होइन, उपेन्द्रजीलाई नेता घोषणा गरिएको होइन । आफैं नेता घोषित हुने र आन्तरिक तथा बाहृय शक्तिले मान्ने कुरा फरक हो ।’
 
मधेसी मोर्चा कि संघीय गठबन्धन ? उपेन्द्र यादव कि महन्थ ठाकुर भन्ने प्रश्न सतहमा नआए पनि संविधान संशोधनको प्रस्ताव तयार पार्ने निर्णय गर्ने सन्दर्भमा यो प्रश्नले आन्दोलनरत शक्तिहरुलाई मनोवैज्ञानिक रुपमा पुनः विभाजित गरेको चर्चा छ । यसै सन्दर्भमा अनलाइनखबरकर्मी मात्रिका पौडेलले तमलोपाका महामन्त्री गुप्तासँग गरेको कुराकानीः 

समस्याको समाधान हुने बेलामा मधेसी मोर्चाका नेताहरु विभाजित हुने गर्छन्, यसपाली पनि त्यो संकेत देखिएको हो ?

गलत सोच र चिन्तन बोकेका व्यक्ति मोर्चामा पनि हुन सक्छन् । यहि आन्दोलनको आडमा अलिकति शक्ति विस्तार गरौं, नेता बनि हालौं भन्नेहरु हुन्छन् । तर, मुख्य कुरा मधेसी जनताको माग सम्बोधन गराउने हो । मलाई विश्वास छ, यसपटक समाधान आउँछ । हामीले सधैंभरि आन्दोलन र असन्तुष्टि जनाएर देश झनै ओरालो लाग्ने हो । अब हामी यसरी बस्न सक्दैनौं ।

तर, हिजो नाकाबन्दी लगाउने र खोल्ने बेलामा पनि महन्थ ठाकुर मान्दा उपेन्द्र यादव नमान्ने, उपेन्द्र मान्दा राजेन्द्र महतो नमान्ने प्रवृति देखियो । अहिले पनि त्यस्तै देखिन थालेको हो ?

तपाईले भनेको जस्तो हिजो नाकाबन्दीको बेलाको कुरामा त्यो अलिअलि प्रकट भएको हो । अहिले त्यस्तो नहोला ।

उसो भए तराई मधेसको सर्वमान्य नेता उपेन्द्र यादव हो कि महन्थ ठाकुर ?

यो त प्रष्टै छ नि । हिजो दोस्रो संविधानसभा चुनावपछि उपेन्द्रजीको पार्टी हाम्रोभन्दा सानो थियो । पछि अशोक राईजीहरुसँग मिलेर उहाँ हामीभन्दा ठूलो पार्टीको नेता बन्नुभयो । तर, नेता कसलाई मान्ने भन्ने कुरा फरक हो ।

समग्र मुलुकले मानेको, मधेसी जनताले मानेको र अन्तर्राष्ट्रिय जगतले मानेको मान्छे नै सर्वोच्च नेता हुने हो । त्यो हिसाबले महन्थ ठाकुरजीलाई नै सर्वोच्च नेता मानेका छन् । उहाँ नै मुख्य नेता हो । यद्यपि महन्थजीले म ठूला नेता हुँ भन्नुभएको छैन र हामीले पनि भनेका छैनौं ।

संघीय गठबन्धन बनेपछि चाहिँ उपेन्द्रजी नेता हुनुभयो होइन ?

हामीले मधेसी मोर्चाबाटै आन्दोलन गरेका हौं र मुख्य फोर्स मोर्चा नै हो । यसबीचमा केही अन्य जातीय संगठनहरु थपिएर संघीय गठबन्धन बनेपछि उपेन्द्रजीलाई लाग्यो होला म नेता भएँ । तर, हामीले केही भनेका पनि छैनौं, मुख्य कुरा समाधान हो । मधेसी जनताका माग मधेसी मोर्चाले उठाएको हो र त्यसलाई सम्बोधन हुने कुरा नै महत्वपूर्ण हो ।

brajesh_gupta (2)मधेसी मोर्चाको माग पूरा हुँदा संघीय गठबन्धनभित्रकै कतिपय घटकहरु नमान्लान् नि ? जस्तो खस समावेशी मोर्चा पनि त्यहाँ छ होइन ?

त्यस्तो हुँदैन, मधेसी मोर्चा नै मुख्य कुरा हो । मधेसी मोर्चाको माग सम्बोधन भयो भने अरुको विरोधको अर्थ छैन ।

तर, आगामी चुनावमा मधेसमा को बलियो हुने भन्ने कुराले पनि अलि अलि मधेसी मोर्चामा आबद्ध दललाई दबाव दिएको हो ?

हामीलाई चुनावको परिणामसँग त्यति धेरै चासो छैन, जति सरोकार मधेसी जनताको अधिकारको सवालमा छ ।

चुनावमा त हामी मिलेर गयौं भने मधेसवादी शक्ति मधेसमा पहिलो हुन सक्छ । नमिलेमा फेरि पनि कांग्रेस एमालेले जित्ने हुन् । अहिलेको अवस्था हेर्नुहुन्छ भने गत चुनावमा हामी मिलेनौं, आपसमै भिड्यौं, मधेसमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो भयो । अब पनि मिलेनौं भने त्यस्तै हुने हो ।

अहिले त मधेसी मोर्चाको प्रमुख दुश्मन एमाले नै होइन त ?

कुन सन्दर्भमा यो प्रश्न गर्नुभयो त्यो थाहा भएन । चुनावकै कुरा गर्ने हो भने एमाले मधेसको कोर मधेशी बस्तिमा हाम्रो प्रतिस्पर्धी होइन । राजमार्ग क्षेत्रमा एमाले बलियो छ, जहाँ हामी उसका प्रतिस्पर्धी होइनौं ।

एमालेले अहिले हाम्रो प्रमुख दुश्मन जस्तो देखिएको छ । तर, विगतमा संविधान जारी गर्दाको अवस्था हेर्ने हो भने कांग्रेस र माओवादी नै हाम्रा प्रमुख दुश्मन हुन् । उनीहरुले चाहेका भए संविधानमा हाम्रा माग सम्बोधन गर्न एमाले बाध्य हुने थियो

जहाँसम्म हाम्रो मागका सन्दर्भमा हो, एमालेले अहिले हाम्रो प्रमुख दुश्मन जस्तो देखिएको छ । तर, विगतमा संविधान जारी गर्दाको अवस्था हेर्ने हो भने कांग्रेस र माओवादी नै हाम्रा प्रमुख दुश्मन हुन् ।
उनीहरुले चाहेका भए संविधानमा हाम्रा माग सम्बोधन गर्न एमाले बाध्य हुने थियो । किनकी उसलाई त्यो बेला सरकार चाहिएको थियो । अहिले भन्दा एमालेलाई मनाउन त्यो बेला सजिलो हुन्थ्यो ।

यसको मतलव अहिले पनि एमालेलाई सरकारबाट बाहिर राख्नमात्र कांग्रेस माओवादी तपाईहरुको मागमा सकारात्मक भएका हुन् भन्ने हो ?

म यसलाई मधेसी मोर्चाकै धारणा त भन्दिन । तर, व्यक्तिगत रुपमा मलाई कांग्रेस माओवादीप्रति शंका छ । कांग्रेसका लागि एमाले चुनावी प्रतिस्पर्धी हो, माओवादीका लागि एमाले वैचारिक प्रतिस्पर्धी हो ।

एमालेलाई साइजमा राख्नका लागि हामीप्रति नजिकिएका हुन कि ? किनकी हिजो उनीहरुले किन हामीलाई साथ लिन चाहेनन् त ? जबकी अहिले भन्दा त त्यो बेला सजिलो थियो मधेसका मुद्दा संविधानमा समेट्न । त्यतिबेलै पूर्ण संविधान आउने थियो तर, कांग्रेस माओवादीले नगरेकै हुन् ।

अहिले पनि प्रधानमन्त्रीले भारत भ्रमणमा जानुअघि संविधान संशोधन गर्छौं भन्दा शंका चाहिँ लागेको छ । यद्यपि उहाँहरुले हाम्रा माग जायज छन्, सम्बोधन गर्छौं भनेकाले विश्वास त गर्नु परेको छ ।

भारत भ्रमणअघि नै तपाईका माग सम्बोधन गर्छौं भन्नुको अर्थ भारतलाई मनायो भने तपाईहरु मान्नुहुन्छ भन्ने हो ?

यो कुरा हामीलाई अफ्ठ्यारो लागिरहेको छ । हिजो पनि केपी ओलीजीले हामीलाई दिनुपर्ने चारबुँदे ननपेपर डकुमेन्ट कमल थापामार्फत शुष्मा स्वराजलाई दिनुभएको हो । अहिले पनि प्रधानमन्त्रीले विमलेन्द्र निधिजी मार्फत चिठी पठाउनुभएको कुरा छ । हामीलाई दिनुपर्ने चिठी किन भारतलाई दिने ? प्रचण्डजीले महन्थ ठाकुरलाई दिनुपर्ने पत्र नरेन्द्र मोदीलाई किन पठाएको ? यो कुरा अचम्म लाग्छ हामीलाई ।

भारत मान्यो भने मधेसी मोर्चा मानिहाल्छ भन्ने होला नि ?

यो भ्रममा अब नपरे हुन्छ । भारतलाई मनाउँदैमा मधेसी मोर्चाभित्रका केही नेताहरु मान्लान्, केही पार्टीले पनि मान्लान । तर, मधेसका युवा आन्दोलनकारीले मान्नेवाला छैनन् । यो हाम्रो आन्तरिक मामिला हो, हामीनै बसेर समाधान गरौं । छलफल गरौं, सबैले अडान छाड्ने हो भने निकास निस्कन्छ ।

हामीले सबै मिलेर गरेको सहमति भारतले पनि मान्छ । तर, हाम्रो समस्या भारतमा लगेर समाधान खोज्ने गलत प्रवृति भयो ।

तर, विगतले त्यस्ते भन्छ होइन र ? तपाईहरुले नाकाबन्दी हामीले गरेको भन्नुभयो । तर, प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी नखुली दिल्ली आउन्नँ भनेपछि भारतले रातारात नाका खुलायो । तपाईहरुले मान्नुभयो …

वास्तवमा परिस्थिति त्यस्तो बनाइयो । दुई देशका शासक मिलेपछि त्यस्तो हुँदो रहेछ । ओलीजीले नाका नखोली भारत भ्रमण गर्दिन भन्नुभयो । भारतले रातारात नाकाबाट हाम्रा टेन्टहरु उखेलेर लखेटेको हो । नाकाबन्दीबाट मधेसी जनता पनि आजित भइसकेका थिए । नेता कार्यकर्ता पनि निराश भइसकेको अवस्था थियो ।

मुख्य कुरा सीमांकनको हो । प्रदेश सीमांकन सच्याउनुपर्छ । तर, कसरी सच्याउने भनेर अहिले नै म भन्न चाहान्न । यसम गिभ एण्ड टेक हुन्छ

त्यो संयोग भयो कि भारतले नाका खुलायो, हामीले जसरी पनि नाका बन्द गर्न चाहेनौं । चाहेको भए झडप हुन्थ्यो ।

उसो भए तपाई नै भन्नुस् न त । अब तपाईहरुको कुन माग पूरा भएपछि मधेसको मुद्दा सम्बोधन हुन्छ ?

मुख्य कुरा सीमांकनको हो । प्रदेश सीमांकन सच्याउनुपर्छ । तर, कसरी सच्याउने भनेर अहिले नै म भन्न चाहान्न । यसम गिभ एण्ड टेक हुन्छ ।

दोस्रो कुरा राष्ट्रिय सभाको गठन जनसंख्याका आधारमा प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुनुपर्छ । नागरिकताको विषय ठूलो विवादको कुरा होइन । अंगीकृत नागरिकले राष्ट्रपति, प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नेमा हामी पनि छैनौं । नागरिकतामा रहेको सामान्य बिभेद हटाए हुन्छ ।

के गर्दा मिल्न सक्छ ?

यसमा हामी सबै विकल्पमा खुला हुनुपर्छ । नेताले आफ्नो एजेण्डा बनाउँदा सीमांकनमा कुरा बिग्रेको हो । हिजो कांग्रेस, एमाले, माओवादीका नेताले फलानो जिल्ला छाड्दैनौं भनेकै कारण विवाद भयो ।
अहिले हामी त्यसरी रिजिड भएर जादैनौं, गिभ एण्ड टेक हुन्छ ।

न्युनतम शर्त त हुन्छ नि ?

न्युनतम कुरा भनेको अहिलेको ७ प्रदेशको सीमांकन मान्दैनौं ।

७ प्रदेश नै नमान्ने कि त्यसको सीमांकन मात्र ?

संख्या सात प्रदेश नै होस् केही छैन । तर, अहिलेको सीमांकन नमान्ने भनेको हो ।  हिजो तराई मधेसमा हामीले एक प्रदेश भन्यौं । अहिले हामी मधेशमा २ प्रदेश भनिरहेका छौं । त्यसमा केही जिल्ला तलमाथि हुन सक्छ । जिल्ला टुक्रिन सक्छन् । हामी विवादित ५ जिल्लाको बारेमा पनि उदारतापूर्वक बहस छलफलमा बस्न तयार छौं ।

तपाईहरुको बटमलाइनमा पहाडको एक चोक्टा पनि मधेसमा मिसाउन पाइँदैन भन्ने हो ?

पहाडको एक चोक्टो पनि नमिसाउने भन्ने एक ठाउँमा छ । पहाड तराई मिसाउनै पर्ने चाहिँ किन त ? हाम्रो यो प्रश्न छ ।

तराईको सामथ्र्य, भारतसँगको एक्सेस आदि कारणले पहाड र मधेस मिलाएको प्रदेश बनाउनु परेको भन्छन् नि ?

अहिलेको २ नम्बर प्रदेशमा त पहाड मिसाएको छैन । यसमा के जवाफ छ ? त्यसैले म तभन्छु, यो त शंकाले बिगारेको देश हो । एक अर्काका शंका नगर्ने हो भने समस्याको समाधान हुन्छ ।

हाम्रो कुरा के हो भने समान ढंगले विकास गर्न पनि अलगअलग प्रदेश गरौं । तराईको कुनै जिल्लामा सडक बनाउन १ करोड बजेट छुट्यायो भने ५ किलोमिटर बन्छ । तर, पहाडमा त्यति सडक बनाउन ५० करोड चाहिन्छ । भोलि एउटै प्रदेश हुँदा यसमै विवाद हुन्छ । भारतकै उदाहरण हेरौं न, समान विकास नभएकै कारण उत्तर प्रदेशबाट पहाडी क्षेत्र उत्तराखण्ड अलग गरियो ।

तपाईहरु जे भन्यो त्यो मात्र मधेसी जनताको कुरा होइन होला नि । कि कांग्रेस, एमाले र माओवादीमा आबद्ध मान्छेहरु चाहिँ मधेसी होइनन् ?

उहाँहरु पनि मधेसी नै हो । तर, मधेसी जनताको भावना अनुसार चल्न नसकेको त हो । उहाँहरु मुख्यतः तीन दलका मधेसी सांसदहरु कांग्रेस, एमाले र माओवादीसँग बिकेका मधेसी हुन् ।

हिजो प्रमुख दलहरु जहाँ थिए, आजसम्म कसैले पनि आफ्नो पोजिशन छाडेको देखिँदैन ।  कसरी सहमति होला ?

चाहने हो भने समस्या समाधान हुन्छ । दुवै पक्षले आआफ्ना अडानबाट पछि हट्नुपर्छ । मैले अघि नै भनिसकेँ, केही जिल्ला फुटाएर पनि मिलाउन सकिन्छ । सीमांकनका लागि बाधक मूल कुरा इगो नै हो ।

brajesh_gupta (1)माग सम्बोधन हुन्छ भनेर प्रचण्डलाई भोट दिनु भो । अहिलेसम्म केही संकेत देखिएको छ त ?

अहिलेसम्म माग पूरा गर्छौं भन्ने बाहेक केही भएको छैन । शेरवहादुर देउवाजी बाहिर भएर पनि होला । अब पहिलो कुरा त कांग्रेस र  माओवादीले एउटा धारणा समान बनाउनुपर्‍यो । त्यसपछि उहाँहरु र हामीबीच कुरा मिलेर एउटा प्रस्ताव बनाएपछि एमालेलाई मनाउने हो । त्यो अवस्थामा एमालेले धेरै बिरोध गर्ला जस्तो मलाई लाग्दैन ।

तर, एमालेबिरुद्ध मोर्चाबन्दी गर्ने गर्नुभो । अब तपाईहरुको माग पूरा गर्न एमाले किन तयार होला र ?

सहजै तयार हुने त देखिँदैन । तर, यो माग भनेको कुनै पार्टी वा व्यक्तिको होइन । मधेसी समुदायको माग भएकाले एमालेले पार्टीगत मागका रुपमा लिनु हुँदैन । मधेसमा एमालेको पनि संगठन छ, एमालेका पनि मतदाता छन् । यो त सिंगो समुदायको कुरा हो ।

तर, पहिलो कुरा त सत्तारुढ गठबन्धबीचमा सहमति हुनुपर्छ । हामीबीच सहमति भयो भने न एमालेसँग कुरा गर्ने हो । त्यो अवस्थामा एमालेलाई बाध्य पार्न सकिन्छ ।

एमालेलाई अलग राखेर तपाईहरुले मात्र समाधान दिन सक्नुहुन्छ ?

हामीले त्यो गर्न खोजेको छैन । संख्याको हिसाबले हेर्ने हो भने त अहिले हामीलाईसंविधान संशोधन गर्न २८ मत नपुग्ने हो संसदमा । त्यो २८ मत त कतैबाट जुगाड पनि होला ।

तर संसदको दोस्रो ठूलो शक्ति एमालेलाई अलग राखेर गरिएको सहमति कहाँ लागु गर्ने ? हिजो ९० प्रतिशत संख्याको दम्भ देखाएर जारी गरेको संविधान लागु हुन सकेन । अहिले त कांग्रेस माओवादीले हाम्रो माग जायज छ भनेको अवस्थामा हाम्रो शक्ति त ६६ प्रतिशत भइसक्यो । तर, पनि एमाले बिनाको सहमति लागु हुन गाह्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?