Comments Add Comment

मदन पुरस्कार विजेता रामलाल जोशी भन्छन्- अझै परिपक्व भएर लेखनमा लाग्छु 

कैलालीको धनगढीमा बसेर साहित्य कर्म गर्दै आएका रामलाल जोशीले आफ्नो कथासंग्रह ‘ऐना’ ले मदन पुरस्कार पाएको खबर धनगढीमै पाए ।

Ramlal-Joshi,-Ainaखबर पाउँदा एकसाथ आश्चर्य र खुशीमा डुबे उनी ।

धनगढीबाट उनले फोनमार्फत अनलाइनखबरसँग खुशी साट्दै भने, ‘कहिल्यै चर्चामा नआएको र पर्दामा नदेखिएको लेखकको सिर्जनालाई मदन पुरस्कारले विश्वास गर्‍यो । निष्पक्ष मूल्यांकन भएको महसुस भइरहेको छ ।’

नेपालमा राजनीति, साहित्यका साथै हरेक क्षेत्रमा सोर्स-फोर्स र विकृति देखिरहेको बेला आफूले मदन पुरस्कार पाउँदा स्वच्छ मूल्यांकन हुने ठाउँ पनि रहेछ भन्ने लागेको उनले बताए ।

हत्तपत्त राजधानीको नजर नपर्ने मोफसलमा बसेर साहित्य सिर्जना गरिरहेका उनले पाठकको मन जित्न सक्छु कि सक्दिनँ भन्ने दोधारमा गत वर्ष कथासंग्रह ‘ऐना’ प्रकाशनमा ल्याएका थिए ।

तर, कृति प्रकाशनमा आएसँगै सुदूरपश्चिमको आञ्चलिक स्वाद पस्किएको भनेर पाठकबाट त राम्रो तारिफ पाए नै, प्रतिष्ठित पुरस्कार पाएपछि केन्द्र मोफसलप्रति पूर्वाग्रही हुने गरेको धारणा पनि मेटिएको महसुस गर्न पाएका छन् ।

डोटी जिल्लाको कानाचौरबाट ०५० सालमा धनगढी झरेका रामलाल पछिल्लो समय धनगढीमै साहित्य तथा जीवनकर्ममा व्यस्त छन् । त्यहाँ हुने हरेक साहित्यिक कार्यक्रममा उनी पुगेकै हुन्छन् । उनी धनगढीकै पञ्चोदय उच्चमाविमा नेपाली विषयका शिक्षक हुन् । साहित्यिक कार्यक्रममा सरसंगति गर्दै सिर्जनामा रमाउँदै जाँदा उनले ०५७ सालमा गजलसंग्रह ‘हत्केलामा आकाश’ प्रकाशनमा ल्याएका थिए । ‘ऐना’ उनको दोस्रो कृति हो ।

गजलबाट किन कथा लेखनमा हात हाले रामलालले ?

‘गजल सानो विधा भएकोले मैले देखे-भोगेको स्थानीय जनजीवनका कुरा उतार्न सम्भव थिएन । सुदूरपश्चिमको जनजीवनलाई चित्रात्मक र विम्बात्मक रुपमा उतार्न कथा नै लेख्नुपर्ने देखेँ’ उनले भने ।

ऐना संग्रहमा १९ वटा कथा छन् । तिनमा सुदूरपश्चिम क्षेत्रका सामाजिक पीडा, वादीहरुको भोगाइ लगायतका विषय समेटेका छन् ।

धेरै नेपाली लेखकको सपना हुन्छ, मदन पुरस्कार पाउने । यस्तो पुरस्कार पाइसकेपछि रामलालको अबको सपना के छ ? यो पुरस्कारबाट आफ्नो लेखनमा के फरक पर्ने उनले महसुस गरेका छन् ?

जोशीले सुनाए, ‘कथासंग्रहबाट पाठक-समीक्षकहरुबाट राम्रो टिप्पणी पाएँ । अझै सुध्रेर र परिपक्क भएर लेखनमा लाग्छु ।’

धेरै कवि, लेखकहरुले उपन्यासमा आफ्नो आकार फैलाइरहँदा उनको पनि यस्तै सोच छ कि ?

उनले थपे, ‘सुदूरपश्चिममा नउघ्रेका पाटाहरु धेरै छन् । त्यसलाई साहित्यमा राम्ररी ल्याउन उपन्यास लेख्ने पनि सोच छ ।’

नोटः प्रविधिक त्रुटीका कारण क्षमाप्रार्थीसहित तस्वीर परिवर्तन गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment