Comments Add Comment

एमाले बैठकमा ओली र भुसालवीच भनाभन

घनश्यामको प्रश्नः अध्यक्षज्यु, किन ढाँट्नुहुन्छ ?

Kp oli and Ghanshyam bhusal९ असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी ओली र उपमहासचिव घनश्याम भुसालवीच शनिबार साँझ रोचक जुहारी चल्यो ।

ओलीले भुसालको राजनीतिक प्रतिवेदनलाई ‘लेख’ ‘आर्टिकल’ र ‘लिखत’ को संज्ञा दिए भने भुसालले चाँहि ओलीलाई ‘ढाँट’को संज्ञा दिए ।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकमा शनिबार अध्यक्ष ओलीले सदस्यहरुबाट उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि थियो । तर, बोल्ने क्रममा ओलीले भुसाललाई तीखो प्रहार गर्न थालेपछि बैठकमा ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु हुटिङजस्तै गर्नुपर्ने अवस्थामा पुगेको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

बोल्ने क्रममा पार्टी अध्यक्ष ओलीले घनश्यामको फरकम मतको दस्तावेजलाई होच्याउँदै भने- ‘उहाँको त्यो लेखको हो, विभिन्न पत्रपत्रिकामा आएको आएको छ, त्यो लेखको यहाँ जवाफ दिइराख्नुपर्दैन ।’
ओलीले यसो भनेपछि उनी बोल्दाबोल्दै भुसालले भने- मलाई डेढ मिनेट टाइम दिनोस् ।’

तर, अध्यक्षले उनलाई टाइम दिएनन् । भुसालले आफ्नै दस्तावेजका बारेमा अध्यक्षले कुरा गरेकाले आफूले यसबारे स्पष्ट गर्न पाउनुपर्ने माग गरे । उनले बैठकमा भने- ‘यो मेरो विषयमा कुरा उठेको हो, स्थायी कमिटीमा के भएको थियो, त्यो मैले भन्नुपर्ने भयो, तपाई केन्द्रीय कमिटीलाई किन ढाँट्दै हुनुहुन्छ अध्यक्षज्यू ?’

भुसालले यसरी वीचैमा प्रतिवाद गरेपछि ओलीले पहिले ‘लेख’ भनेको उनको २६ पेजको दस्तावेजलाई ओलीले ‘यो आर्टिकल हो’ भने ।

वैठकमा एकाएक माधव नेपाल पक्षका नेताहरु गुन्गुनाउन थाले । युवराज ज्ञवाली, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतले आफूहरुले यसबारे बोल्न पाउनुपर्ने माग गर्न थाले ।

अलि पछाडि बसेका केपी ओली पक्षका सुवास नेम्वाङ लगायतले केही भनिरहेको सुनियो । उनीहरु केपी ओलीको पक्षमा बोलिरहेका थिए ।

नेताहरुले हुटिङ गर्न थालेपछि अध्यक्ष ओलीले आफ्नो भाषणलाई अलि सच्याउने प्रयास गरे । र, उनले भुसालको प्रतिवेदनलाई अर्को उपमा दिए-‘ठीक छ, यो लिखत हो ।’

ओलीले सुरुमा लेख, त्यसपछि आर्टिकल र लिखत मात्रै भने तर यसलाई राजनीतिक प्रतिवेदन वा प्रस्तावका रुपमा स्वीकार गरेनन् ।

माधव नेपाल पक्षका नेताहरुले विगतमा गिरिजाले टनकपुर सन्धीलाई सन्धी, सम्झौता र समझदारी भनेजस्तो कहिले लेख त कहिले आर्टिकल भन्ने ? भन्दै ओलीको प्रतिवाद गरे ।

केन्द्रीय कमिटीको बैठक बस्नुपूर्व बसेको एमाले स्थायी कमिटिको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सोही बैठकमा उपमहासचिव भुसालले २६ पृष्ठको फरक राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो बैठकले भुसालको प्रस्ताव केन्द्रीय सदस्यहरुलाई बाँड्ने र पढ्न दिने भने पनि केन्द्रीय कमिटी बैठकको कार्यसूचीमा चाँहि राखेको थिएन ।

भुसालको प्रतिवेदनमा पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । भुसाल निकट एक केन्द्रीय सदस्यको दाबी अनुसार केन्द्रीय कमिटीको बैठकमा भुसालको प्रतिवेदनमाथि औपचारिक छलफल नभए पनि प्रायः सबै नेताहरुले पार्टीभित्रको गुटबन्दीका विषयमा बोलेका छन् र गुटबन्दी अन्त्य गर्नुपर्ने भनेका छन् । यसले भुसालको प्रतिवदेनको औचित्य पुष्टि गरेको ती नेताको दाबी छ ।

एमाले बैठकमा पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न कार्यदल बनाउने विषयमा पनि कुरा उठेको छ । तर, यसबारे निर्णय भएको छैन ।

बैठक आइतबार पनि जारी रहने एमालेले जनाएको छ । आजको बैठकले आगामी कार्ययोजनाबारे निर्णय गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

एमाले छेउमा बस्ने गरी सरकारमा जाँदैनः ओली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment