Comments Add Comment

महन्थ ठाकुरको घरमा चोरी गर्ने उनकै पूर्व ड्राइभर ! दुई युवक पक्राउ

११ असोज, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Pakrauभदौ २४ गते साँझ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरको आँखामा खुर्सानीका धुलो हालेर सानोठिमीस्थित घरमा चोरी भएको थियो । चोरहरुले ठाकुरलाई कुखुरी हानेका थिए, जसबाट उनको हातमा चोट लागेको थियो ।

ठाकुरको घरबाट ब्रिफकेस चोरेर भागेकाहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही पिडाडी ३ घर भई पेप्सीकोला बस्ने रन्जितप्रसाद गुप्ता र महोत्तरी मेघनाथ घोरन्ना घर भई पेप्सिकोला बस्ने प्रमानन्द भन्ने प्रचण्डप्रताप सिंह रहेका छन् ।

पक्राउ परेकामध्ये गुप्ता तमलोपा अध्यक्ष ठाकुरका पूर्वड्राइभर हुन् । महाशाखाका डीएसपी रमेश थापाका अनुसार गत असोजदेखि फागुनसम्म ठाकुरका सवारी चालकका रुपमा उनले काम गरेका थिए । ‘घरमा काम गर्ने अन्य व्यक्तिसँग सम्बन्ध राम्रो नभएपछि गुप्तालाई हटाइएको रहेछ,’ डीएसपी थापाले अनलाइखबरसँग भने, ‘उनकै योजना चोरी भएको पाइयो ।’

अर्का अभियुक्त सिंह पनि जागिरको लागि पटक-पटक ठाकुर कहाँ पुगेका थिए । जसका कारण उनीहरुलाई घरको अवस्थितिबारे जानकारी थियो ।

प्रहरीका अनुसार बाहिरको ढोका पनि खुल्ला देखेपछि उनीहरु सिधै कोठामा पुगेर सोफामा भएको ब्रिफकेस बोकेर भागेका थिए । त्यसक्रममा ठाकुरकी छोरी मिनाक्षीले देखेपछि खुर्सानीको धुलो हानेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुले चोरी गर्नु दुईदिन अघिदेखि नै घरको रेकी गरेका थिए । र, २३ गते पनि चोरी गर्ने योजनासहित पुगे पनि सफल हुन नसकेपछि दोस्रो दिन अर्थात २४ गते फेरि पुगेका थिए ।

चोरी भएको ब्रिफकेसमा ५० हजार जति मात्रै पैसा भएको तमलोपा अध्यक्ष ठाकुरले प्रहरीसमक्ष बताएका छन् । अपराध महाशाखाको टोलीले गुप्तालाई काठमाडौं काँडाघारी र सिंहलाई ललितपुरबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment