Comments Add Comment

प्रहरीको दशैं सुरक्षा योजनाः साइकल गस्तीदेखि तालिमप्राप्त कुकुरसम्म

SSP Vikram Thapa (6)
१४ असोज, काठमाडौं । चाडवाडको मौसममा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि काठमाडौं प्रहरीले तीन तहको बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

दशैं, तिहार र छठलाई केन्द्रित गरी सार्वजनिक गरिएको तीन तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, शादा पोसाकका प्रहरी र प्रविधियुक्त टिमको परिचालन छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं परीसर प्रमुख एसएसपी बिक्रम थापाले चाडवाडको समयमा काठमाडौं छाड्ने मानिसहरुलाई सुरक्षाको चिन्ता हुने भएकाले काठमाडौं जिल्लामा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिए ।

प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिनेछ । एसएसपी थापाका अनुसार प्रत्येक बृत्तबाट १० देखि १५ मोटरसाइकल र भित्री गल्लीका लागि ३ देखि ५ साइकलले गस्ती गर्नेछ ।

टेकुस्थित काठमाडौं परिषरको कार्यालयबाट आजै २१० मोटरसाइकल र ८६ साइकललाई दशैंका लागि परिचालनसमेत गरिसकिएको छ ।

काठमाडौं छिर्ने सीमा नाकाका साथै आपराधिक गतिविधि बढी हुने सम्भावित क्षेत्रमा तालिमप्राप्त कुकुरहरुपनि परिचालन गरिनेछ । जघन्य अपराध तथा चोरी पत्ता लगाउने, लागूऔषध र बिष्फोटक पदार्थ पत्ता लगाउने गरी तीन प्रकारका बिशेष तालिमप्राप्त कुकुरहरु काठमाडौंमा परिचालित छन् ।

अपराध महाशाखाले सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्नेछ । सादा पोसाकका प्रहरीले चोरी नियन्त्रण, स्न्याचिङ, बसपार्कको टिकटमा हुने कालोबजारी र नाका-नाकामा बिशेष सूचना संकलकको काम गर्नेछन् ।

साथै प्रहरीले दशैंमा काठमाडौंबाहिर जाने यात्रुका लागि ९ स्थानमा हेल्प डेक्स स्थापना गरेको छ । पत्रकार सम्मेलनमा एसएसपी थापाले काठमाडौंका ३३५ स्थानमा सीसीटिभी जडान गरिएको जानकारी दिए । यसअघि २८० स्थानमा यो सुविधा थियो ।

साथै प्रहरीले चाडबाडमा जुवातास र पटका पट्काउन निषेध गरिएकाको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीको नियम नमान्नेलाई सार्वजनिक अपराधदेखि बिष्फोटक पदार्थ ओसारपसारसम्मको मुद्धा चलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment