म मेरो परिवारलाई भन्छु कि मेरो नाममा कुनै मठमन्दिर, पूजापाठमा कुनै पशुपंक्षीको बली नदिनु।
म मासु खान्छु र मांसाहारी हुँ, तर आफैंले भने कुनै पशुपंक्षीको हत्या/मार भने गर्दिनँ।
पशुपंक्षीको बली दिएर, ढुङ्गा/ मूर्तिलाई रगत चढाएर मेरो मनोकांक्षा पूरा होस् र हुन्छ भन्ने विश्वास र आस्था ममा छैन। यसरी मेरो जीवनमा मैले गरेको कुनै पाप कुकृत्य पखालिन्छ भन्ने भ्रम र अन्धविश्वास पनि ममा छैन।
यो सत्य हो कि म जुन समुदायमा जन्मिएँ अर्थात मगर समुदाय मूलतः प्रकृति पूजक हुँदै अहिले विविध धर्ममा आस्थावान छन्। यो समुदायमा हरेकजसो पूजाहरुमा बली नै चढाईन्छ। तर म भने बली प्रथाबाट टाढै रहेर अरु माध्यमबाट यी संस्कार संरक्षण गर्दै बलीरहित प्रथाको पक्षमा छु। यो मेरो व्यक्तिगत मान्यता हो।
मेरो यो मान्यता व्यक्तिगत हो, सबैमा लागू हुनुपर्छ भन्ने मेरो विचार हैन र मैले यो मान्यतालाई मेरो परिवारमाथि पनि लागू गर्नुपर्छ भन्ने दबाव राख्दिनँ । तर, म मेरो मान्यता भने राख्छु राखिरहने छु।
अरुको प्राण हत्या गरेर मन्दिर वा देवीदेवतालाई चढाएर उनीहरु खुसी हुन्छन् र मेरो मनको चाहना पूरा गरिदिन्छन् भन्ने कुरा अन्धविश्वास बाहेक अरु केहि होइन। नत्र भने धनी हुने सपना सबैको हुन्छ, प्रायः धेरै नेपालीहरुले बली दिन्छन् खै त् धनि बनेको ?
हरेकजसो बलीप्रथाजन्य चाडपर्व नजिकिँदै जाँदा मिडियाहरु र सामाजिक सञ्जालहरुमा बली प्रथा को विरोध र समर्थनमा अनेकन बहसहरु, आक्रोश अनि उत्तेजनात्मक लेख, प्रतिकृया र सामाजिक भद्कावका लेखहरु पनि छरपस्ट देखिन्छन्।
एउटा मत छ, बलीप्रथाको विरोध गर्ने तर मासुचाँहि खाने ?
सत्य के हो भने कसैले चाहेर संसारका सबै मान्छेहरु पूर्ण शाकाहारी बन्न सक्दैनन्। जीवन चक्र र मानव आहारसँग पनि यसको आफ्नै सम्बन्ध रहेको बुझ्न सक्छौं।
एक अध्ययनले दिएको प्रतिवेदन अनुसार यदि मान्छेले पृथ्वीमा भएका जीवजन्तु आहारका रुपमा प्रयोग गर्ने हो भने खाद्य संकट र भोकमरीलाई धेरै हदसम्म कम गर्न सकिन्छ। जब-जब मानव जगतमा खाद्यान्न संकट र भोकमरी लाग्छ, तब-तब आहारका लागि कहिल्यै नखाने पशुको पनि मासु खाएका उदाहरणहरू छन्। पछिल्लो समय सिरियामा भएको गृहयुद्ध र त्यससँगै निम्तिएको खाद्यान्न संकट टार्न चिडियाखानामा रहेका सिंह र सडकमा रहेका कुकुरहरुको मासु खाएको भन्ने खबर आयो ।
मासु खानु र बली दिनुको सम्बन्ध केवल मासु खानुसँग मात्रै सम्बन्धित विषय होइन, बली प्रथा एक अन्धविश्वास हो
तर, मासु खानु र बली दिनुको सम्बन्ध केवल मासु खानुसँग मात्रै सम्बन्धित विषय होइन। बली प्रथा अरुको प्राण हत्या गरेर आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने आशयले दिइने एक अन्धविश्वास हो । तर, यो विश्वासलाई पनि कसैले चाहेर मात्रै अन्त्य गर्न सम्भव छैन।
कुनै प्राणीको हत्या बिना मासु प्राप्त सम्भव पनि छैन । तर, मासुकै निम्ति हो भने त बली नै चढाउनुपर्ने पनि त होइन।
अर्को मत छ बलीप्रथाको विरोध गरेर हाम्रो धर्म संस्कारप्रति आक्रमण गर्ने?
यो सत्य हो कि विश्वकै पशुवली दिने देश मध्येमा नेपाल अग्रपंक्तिमा पर्दछ। यहाँका विशेष गरी प्रकृति पुजक, आदिवासी जनजाती, हिन्दुधर्मावलम्बीहरुले बली दिन्छन्। यहाँ आफुले दिएको बली ठीक र अर्कोले दिएको बली चाहिँ गलतजस्तो पनि गरिँदैछ । यो एकअर्काको मान्यतालाई स्वीकार्न नसक्नुको परिणाम हो।
पशुअधिकारको कुरा
संसारका हरेकजसो देशहरुमा अहिले पशुअधिकारवादीहरु बढ्दै गएका छन्। यी आवाजहरुले पनि मिडियामा राम्रै कभरेज पाएका छन्। नेपालमा पनि यो विस्तारै बढ्दैछ। यसलाई कतिपयले नेपालको संस्कार र धर्ममाथि विदेशी आक्रमण, खास गरी क्रिश्चियन मिसनरीको आक्रमणका रुपमा बुझेका छन्।
तर, नेपालमै रहेका प्राणी हत्या विरुद्ध आवाज उठाउने बुद्ध धर्मावलम्बीहरुको आवाजलाई भने नजरअन्दाज गरेको देखिन्छ । तर, यो कुनै धार्मिक समुदायको मात्र अभियान भने होइन।
केही हिन्दुहरु पशुबलीको पक्षमा लागेको देखिन्छ भने केही हिन्दु धर्मगुरुहरु भने पशुबलीको विरोध गर्दछन्। कोही भन्छन् हिन्दु धर्ममा कहिँ कतै पशुबली दिनुपर्छ भनिएको छैन, लेखिएको छैन। नेपाल र भारतमा ठूलो संख्यामा हिन्दुहरु शाकाहारी छन्।
तर, केही हिन्दु धर्मका ज्ञाताहरूले भने बलीप्रथालाई आफुमाथिको आक्रमण सम्झने गरेका छन् ।
केही समय अगाडि दशैँको बेच्न ल्याएको करोडौं मूल्यका च्याङ्ग्राहरु जङ्गलमा छाड्न भन्दै वीच बाटोबाट पशुअधिकावादीहरुले किनेर लगेको खबरले यतिबेला नेपाली मिडिया र सामाजिक सञ्जालमा पक्ष र विपक्षमा चर्का कुराहरु सुनिँदैछन् । च्याङ्ग्राका धनीले च्याङ्ग्राको मूल्य पाएको छ, च्याङग्राले जीवन । यसमा अरुले टाउको दुखाउनुपर्ने विषय नै होइन ।
पशुअधिकारवादीहरुले यसमा आफ्नो अभियानमा एक सफलताको अनुभव गरेका होलान् । तर, बली प्रथाको पक्षमा बोल्नेहरुको भने निन्द्राहराम भएको देखिन्छ।
पशुअधिकारवादीहरु उनीहरुको मत राख्न स्वतन्त्र छन् र पशुबलीको संस्कार मान्नेहरु पनि स्वतन्त्र छन्। तर, यो स्वतन्त्रता प्रयोग गर्दा एकअर्काको धर्मसँग जोडेर हेर्नु चाहिँ गलत पो हुन्छ कि ? किनभने पशु अधिकारवादीहरु कृश्चियन मात्रै छैनन् र बौद्धमार्गीहरू मात्रै पनि छैनन, उनीहरू हिन्दु पनि छन् । र उनीहरू सबैजना पशुबलीको विपक्षमा देखिन्छन्।
त्यसो त हरेक धर्मको मूलमन्त्र नै हत्या-हिंसा, क्रोध, ईर्ष्या, डाहा, व्यभिचार, चोरी, डकैतीबाट टाढा रहनुनै हो।
उसोभए पशुबलीको विकल्प के हुन सक्छ त् ?
नवदुर्गाको दिन पूजा गरिने कोर्टमा कुभिन्डो र लौकाको पनि चार खुट्टा हालेर बली दिइन्छ। पशुपंक्षी बलीको उत्तम विकल्प यो हुन सक्छ
परापूर्वकालदेखि रही आएको कसैको आस्था र विश्वासलार्इ तत्कालै सजिलै परिवर्तन गर्न सकिँदैन र दबावमा परिवर्तन गराउनु पनि जायज होइन। पशुबलीको अन्त्य समाजको चेतनामा पनि निर्भर रहन्छ। यसलाई दबाव मार्फत होइन, अन्धविश्वास तोड्ने चेतनाको विकासबाट मात्रै सम्भव हुन्छ।
हामीले के देखेका छौं भने विभिन्न मठमन्दिर र कोर्टहरुमा पशुबलीसँगै फलफूलको बली पनि चढाइने गर्छ। दशैँ पर्वको नवदुर्गाको दिन पूजा गरिने कोर्टमा कुभिन्डो र लौकाको पनि चार खुट्टा हालेर बली दिइन्छ। तसर्थ मठ-मन्दिर र कोर्टहरुमा दिइने पशुपंक्षी बलीको उत्तम विकल्प यो हुन सक्छ। यसको साथमा परेवा उडाउने पनि राम्रो विकल्प हो, जो चल्दै पनि आएको छ।
त्यसैले क्रूरतापूर्वक गरिने पशुबलीहरुको अन्त्य गर्दै आफ्नो संस्कारलाई जीवित राख्न यो विकल्प पो उत्तम हो कि?