Comments Add Comment

दशैंका बेला सांसदको घर फोरेर ल्यापटप र गहना चोरी

उपत्यकामा चोरीका ८ वटा उजुरी

३० असोज, काठमाडौं । दशैंलाई लक्षित गरी प्रहरीले अनुगमन, चेकिङ र सुरक्षा सतर्कता बढाए पनि चोरी हुने र ठग्ने क्रम भने रोकिएन । यद्यपि आफूहरुको सक्रियताले विगतका वर्षहरुभन्दा निकै कम अपराधका घटना भएको प्रहरी बताउँछ ।

Ram-Krishna-Yadavसांसदकै घरमा चोरी

नेपाल प्रहरीको अपराध महाशाखाको तथ्यांक अनुसार दशैं अवधिभर काठमाडौं उपत्यकामा चोरी भएका आठवटा उजुरी परेका छन् । सांसद रामकृष्ण यादवको घर पनि चोरहरुको निशानामा परेको छ ।

दशैं मनाउन भनेर धनुषास्थित घर गएका सांसद रामकृष्ण यादवको काठमाडौंको डेरामा चोरी भयो । अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार सांसद यादवको कोटेश्वरस्थित घरको ढोका फोरेर केही सुनका गहना र ल्यापटप गरी १ लाख १० हजार रुपैयाँ बराबरको चोरी भएको छ ।

गत शुक्रबार धनुषाबाट काठमाडौं फर्किएपछि मात्रै डेरामा चोरी भएको थाहा भएको सांसद यादवले प्रहरीलाई बताए । शुक्रबार धनुषाबाट फर्किँदा ढोका फुटाएर चोरी भएको थाहा पाएपछि यादवले प्रहरीलाई खबर गरेको एसपी कार्कीले बताए ।

यसैगरी ललितपुरस्थित एक घरमा पाँच लाख रुपैयाँ बराबरको चोरी भएको छ । त्यो बाहेक ठूला चोरीका घटनाहरु नभएको प्रहरीले जनाएको छ ।

‘गाउँ गएकाहरु फर्किने क्रम जारी छ उहाँहरु आएपछि खालि छोडिएका घरमा चोरी भएका छन् कि छैनन् उजुरी आउला तर अहिलेसम्म आठ वटा मात्रै चोरी भएको घटनाहरु आएको छ,’ एसपी कार्कीले अनलाइनखबरसँग भने ।

अघिल्लो वर्ष दसैंमा मात्रै ६१ वटा चोरीका घटना भएका थिए । तर यसपटक टोल टोलमा समेत प्रहरी परिचालन भएकाले केही छिटफुट घटना बाहेक दशैं सुरक्षित भएको प्रहरीको दावी छ ।

१६ जना ड्राइभरको दशैं हिरासतमा बित्यो

दशैंको मौका छोपेर यात्रु ठगेको र क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण यात्रा गराएको आरोपमा १६ जना चालकहरुको यस पटकको दशैं अभिषाप जस्तै भएको छ । काठमाडौंबाट बाहिरिने यात्रुसँग बढी भाडा असुल्ने र भनेको समयमा सवारी साधन उपलब्ध नगराउने यातायात सञ्चालक र चालकविरुद्ध प्रहरी कठोर बनेका थिए ।

टिकट नपाएको र बढी भाडा मागेको भनेर यात्रुहरुले गरेको गुनासोका आधारमा काठमाडौंका नयाँ बसपार्क, कोटेश्वर, गौशाला लगायतका क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालित भएका थिए ।

काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापाका अनुसार काठमाडौंमा यात्रु ठग्ने १६ जना चालक तथा बस काउण्टरका कर्मचारीको दशैं प्रहरी हिरासतमा बितेको छ । १६ जनामध्य ६ जनालाई ठगीको मुद्दा चलाइएको छ भने बाँकी १० जनामाथि सार्वजनिक मुद्दा चलाएको एसएसपी थापाले बताए ।

‘हामीले ज्यादती गर्ने चालकलाई मुद्दा चलाएका छौं भने २५ सय यात्रुको १२ लाख भन्दा बढी भाडा फिर्ता गराएका छौं,’ एसएसपी थापाले भने ।

यात्रु ठग्नेमा अधिकांश काठमाडौंबाट नेपालगञ्ज, दाङ, धरान, जनकपुर, पोखरा लगायतका स्थानमा चल्ने बस तथा टाटा सुमो सञ्चालकहरु देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment