
७ कात्तिक, काठमाडौं । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे अझैसम्म निर्णय गर्न सकेको छैन ।
केन्द्रीय कार्य समिति बैठक सोमबारमात्र बस्नेछ । त्यसअघिको संसदीय प्रक्रियाबारे सभामुखमा भर पर्ने कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले बताए । संसदको बैठक आज बोलाइएको छ । र, महाअभियोग प्रस्तावमाथि छलफलका लागि सभामुखले समय तोक्ने कार्यसूची छ ।
यता कांग्रेस सांसदहरुले भने संसदीय दलको बैठक माग गरेका छन् । संसदीय दलको बैठक बसेर भने पनि सांसदहरुलाई महाअभियोगको पक्षमा बोल्ने बाटो खुलाउन उनीहरुले माग गरेका छन् । ‘मैले अस्तिनै देखि समय मागेको छु, आजको बैठकमा महाअभियोग प्रस्तावको पक्षमा बोल्नेछु’ कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।
लोकमानलाई बचाउने पक्षमा कांग्रेस नजाने र जान पनि नसक्ने उनले बताए । स्वयं पार्टी सभापति शेरवहादुर देउवा पनि लोकमानलाई जोगाउने पक्षमा नरहेको उनले दाबी गरे ।
स्रोतका अनुसार कांग्रेसले संसद बैठकबाट प्रक्रिया अघि बढोस् भन्ने चाहेको छ । यद्यपि केही प्रभावशाली नेताहरु भने महाअभियोगको विपक्षमा देखिएका छन् ।
प्रतिक्रिया 4