+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विदेशनीतिमा प्रचण्डपथ

ओलीजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा म अफेन्सिभ थिएँ

पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री
२०७३ कात्तिक ११ गते १७:३७

prachand-path-2भारत र चीनसँगको सम्बन्ध जहाँसम्म छ, राजनीतिकरुपले स्थिर र आर्थिकरुपले सम्वृद्धिको दिशातिर अगाडि बढ्न नसक्दासम्म हामीले भोगेको समस्याबाट पुरै मुक्ति पाइन्छ भन्ने मलाई लागेको छैन । मैले शान्ति प्रक्रियामा आएपछि १० वर्ष यही देखें । चीनलाई अलि बढी जोड दिएर सम्बन्ध बनाउन खोज्ने या भारतलाई अलि बढी जोड दिन खोज्ने । कहिले भारतसँग नजिकजस्तो देखिने, कहिले चीनसँग नजिकजस्तो देखिने । कोही कुनैबेला भारतसँग नजिक, अर्को चीनसँग नजिक जस्तो देखिने जो भएको छ, मैले अन्तर्यमा गएर हेर्दा यो हाम्रो राजनीतिक स्थायित्वसँग र यहाँको आर्थिक सम्वृद्धिसँग जोडिएको छ ।

हामी आर्थिकरुपमा सवृद्ध हुन थाल्यौं भने हाम्रो विदेश नीतिमा पनि विश्वसनीयता बढ्छ । हाम्रो हैसियत पनि बढेर जान्छ । सबैलाई नयाँ ढंगले  सन्तुलन गर्न सक्ने हैसियत पनि बन्छ । हामी गरीब भइराख्ने र राजनीतिक पार्टीवीच झगडा भइराख्ने वा राजनीतिक अस्थिरता भइराख्यो भने त्यो दुर्भाग्य हामीले व्यहोरिरहनुपर्छ । यो कुरा इतिहासदेखि नै त्यस्तै छ । जंगबहादुर आउँदा एउटासँग, अर्को आउँदा अर्कोसँग जानुपर्ने । सुघौली सन्धीदेखि हेर्‍यो भने पनि त्यो देखिन्छ ।

हामी गरीब भएपछि गरीबलाई त सबैले हेप्छन् । अनि सबैले उपयोग गर्न खोज्छन् । सम्वृद्ध भएपछि, स्थायित्व भएपछि आफ्नो भनाइको वजन पनि बढी हुन्छ । हामीभन्दा कैयौं गुणा गरीबहरु अहिले धनी भइसकेपछि उनीहरुलाई संसारमा, अन्तरराष्ट्रिय समीटमा पनि त्यो ठ्याक्कै देखिन्छ । गरिब देशका प्रतिनिधिहरु बोल्दाखेरि स्रोताहरुको, नेताहरुको बडी ल्याङ्वेज अर्कै हुन्छ । अलि धनी, सम्वृद्ध र स्थिर राजनीति भएका देशहरु बोल्दाखेरि चाँहि अर्कै हुन्छ । त्यसकारण हामीले राजनीतिक स्थिरता बनाउने र सम्वृद्धितिर देशलाई लैजानेसँग नै हाम्रो विदेशनीतिको पनि वजन निर्भर छ ।

अहिले हामी जहाँनेर छौं, संविधान बनाएका छौं । परिवर्तन घोषित छ । यसलाई कार्यान्वयनको सफलता र त्यसैसँग जोडेर सम्वृद्धितिर जाने कुराले नै छिमेकीसँगको हाम्रो सम्बन्ध पनि र अन्तरराष्ट्रिय सम्बन्ध पनि राम्रो हुन्छ ।

‘मेरो विदेशनीति स्वतन्त्र छ’

मेरोचाँहि, म के भन्छु भने मैले साँच्चै नै स्वतन्त्र विदेश नीति लिएको छु भन्ने मेरो दाबी हुन्छ । मेरो कसैसँग ‘एलाइन’ भन्ने हुँदैन  । म नेपालको कतिबेलाको आवश्यकता के हो भन्नेबाट नै बढी निर्धारित हुने गरेको छु ।

मैले ओलीजीलाई प्रधानमन्त्री निर्वाचित गर्ने प्रस्ताव गर्दैगर्दा, हामीले नाकाबन्दीको सामना गर्दैगर्दा र संविधान घोषणा गराउने वातावरण बनाउँदै  गर्दा तपाईहरुले हेर्नुभयो भने म शायद अरुभन्दा अलि बढी ‘अफेन्सिभ’ नै थिएँ

तपाईहरुले यो शान्ति प्रक्रियाको सबै चरणमा हेर्नुभयो भने मेरो निश्कर्ष, मेरो दलको अथवा लिडरको हिसाबले मैले जे आवश्यक छ भनेरसोच्छु, त्यही गर्ने गरेको छु । कहिले अलिकति चीनसित बढी फाइदा हुन्छ कि भनेजस्तो लाग्यो भने मैले त्यसै गरेको छु । भारतसँग अलि बढी डिल गरे फाइदा हुन्छ कि भनेजस्तो लाग्यो भने त्यसै गरेको छु । तर, जे गर्दा पनि नेपालको राष्ट्रिय हितभन्दा दायाँ वायाँ चाहिँ मेरो कहिल्यै पनि छैन ।

‘नाकाबन्दीमा म अरुभन्दा बढी अफेन्सिभ थिएँ’

यो कुरो बढी सेन्सेटिभ छ । मैले बडो प्रष्टसँग भनेको छु । कुरा त हो, राष्ट्रवाद अथवा राष्ट्रियता भन्दाखेरि चाँहि हामीमा अब ठूलो डिबेट हुन सक्छ । पहाडको, त्यसमा पनि अपर काष्टले बुझ्ने एउटाचाहिँ नेस्नालिज्म पनि छ । जनजातिले बुझ्ने एउटा नेष्नालिज्म पनि छ । मधेसीहरुको पनि एउटा खालको चाँहि बुझाइ छ । यसमा मैले व्याख्या गरिनँ ।

मेरो खालि के हो भने मैले ओलीजीलाई प्रधानमन्त्री निर्वाचित गर्ने प्रस्ताव गर्दैगर्दा, हामीले नाकाबन्दीको सामना गर्दैगर्दा र संविधान घोषणा गराउने वातावरण बनाउँदै  गर्दा तपाईहरुले हेर्नुभयो भने म शायद अरुभन्दा अलि बढी ‘अफेन्सिभ’ नै थिएँ ।

कहीँ कसैको दबावमा नेपाल आउनुहुँदैन, हामीले यतिबेला स्वतन्त्र निर्णय गर्नैपर्छ, सरकार हामी आफैं नेपालका राजनीतिक दलका नेताहरु बसेर जे समझदारी बनाएका थियौं, त्यहीअनुसार नै सरकार बन्नुपर्छ, त्यहाँ अरु कसैको दबावमा सरकार बनाउने कुरा हुन सक्दैन ।

पछिल्लो चरण फेरि किन यस्तो भयो त भन्ने जहाँसम्म सवाल छ, मेरो तर्क के छ भने मैले के देखें भने देश ध्रुवीरकणतिर जाँदैछ । मधेस एकातिर र पहाड अर्कातिर जाने खतरा बढ्दै गयो । यसलाई ‘न्यारोडाउन’ गर्नेतिर भन्दा बढ्ने भयो र हाम्रो छिमेकीसँगको सम्बन्ध र अन्तरराष्ट्रिय सम्बन्धको सन्तुलन पनि बिगि्रने खतरा पैदा भयो ।

र, म त्यस्तो पात्रभित्र पर्छु, जसले मधेसलाई, थारुलाई, जनजातिलाई एड्रेस गर्ने । मेरो बारेमा पनि थुप्रै कन्फ्युजन त भयो । तर, म के ठान्छु भने त्यति हुँदाहुँदै पनि मसँग त्यो मोरल र पोलिटिक अथोरिटी अझै बाँकी छ । मैले जोड्नुपर्छ नेपाललाई भन्ने कुराबाट हो ।
यो भारतलाई फकाउनका निम्ति भन्ने सोच्नुभयो नि, त्यसो हुन्थ्यो भने अहिले, आजका मितिमा तपाईले मेरो जे स्टेप देख्नुहुन्छ, त्यो स्टेप हुँदैनथ्यो । म अरु व्याख्या गर्दिनँ । अहिले मैले धेरै व्याख्या गरें भने बिगि्रन्छ भन्ने मलाई डर छ ।

तर, तपाईहरुले आजको हेुर्नभयो भने नेपालको राष्ट्रिय हित प्राइम कुरा हो । यसको निम्ति दुबै छिमेकीसँग मिलाएर लैजाने र आन्तरिक राष्ट्रलाई एकतावद्ध गर्ने कुरा प्राथमिकताको कुरा हो । यो तपाई पाउनुहुनेछ । गहिरो गरी हेर्नुभयो भने योभन्दा बाहिर छैन मेरो । हैन भने त म अर्कै ठाउँमा पुगि नै सक्थें । म तपाईहरुलाई यो क्लियर गर्न चाहन्छु  ।

modi-prachanda-xi

त्रिपक्षीय साझेदारीले नेपाललाई माथि पुर्‍याउँछ

यो त्रिदेशीय साझेदारीको कुरा मैले धेरै पहिले चीन जाँदा र भारत जाँदा पनि उठाएको छु । यसको रणनीतिक महत्व छ भन्ने मेरो गहिरो बुझाइ छ । यो सम्भव छ र नेपाललाई माथि ल्याउने अनि नेपाल पनि केही चिज हो भन्ने बनाउन सक्नुचाहिँ रणनीतिक हुन्छ भन्ने मेरो गहिरो बुझाइ अनुसार नै मैले यो कुरा राख्दै आएको छु ।

चीनले यो कुरा राख्नेवित्तिकै सुरुवातबाटै धेरै राम्रो भनेर समर्थन गर्‍यो । इण्डियाले यो सोचाइ चाहिँ राम्रो हो, तर अहिले भर्खरै फिजिबल छैन, प्राक्टिकल छैन, यसलाई अझै त्यो ठाउँमा पुग्न समय लाग्छ भनेर पहिलेदेखि भनेको हो । म विपक्षी दलको नेताका रुपमा इण्डियामा जाँदाखेरि पनि इण्डियाले यसलाई टाइम आइपुगेको छैन भनेको थियो । सलमान खुर्सिद विदेशमन्त्री भएका बेला उनले पब्लिक स्टेटमेन्ट पनि दिएका थिए । यो आइडिया त ठीकै हो, तर अहिले फिजिबल छैन भन्ने खालको थियो ।

अहिले गोवामा दुबै देशमा प्रधानमन्त्रीसँग मेरो ४० मिनेट कुराकानी भयो । पहिलो २० मिनेट सी जिनपिङसँग, अर्को २० मिनेट तीनैजना नेताहरुवीच । यो संयोग नै हो ।

यसबाट मैले के महसुस गरेको छु भने त्रिदेशीय साझेदारीको कुरो जो त्यहाँ चल्यो, उहाँहरुले यसलाई त्यहाँ पोजेटिभ भन्नुभएको हो । मोदीजीले पनि त्यहाँचाँहि यसलाई पोजेटिभ नै भन्नुभएको हो ।  त्यहाँ त्रिदेशीय साझेदारीको सहमति गरेको होइन, अनौपचारिक कुराकानीमात्रै भएको हो ।

तर, इण्डियन मिडियामा त्यो त एकदमै व्यापकरुपमा आइदियो । नेपाल, भारत र चीनको मिटिङ भयो, त्रिदेशीय साझेदारीमा समझदारी भयो भनेर आइदियो । बाध्य भएर इण्डियन विदेश मन्त्रालयले बोल्नुपर्ने अवस्था आयो । र, दुई दिनपछि खण्डन आयो । भोलिपल्ट व्यापकरुपमा इण्डियन मिडियामा त्यो फोटो पनि आयो । फोटोसहित यसरी मिटिङ भएको भन्ने आइसकेपछि त्यसले त इण्डियामा पनि ठूलो प्रभाव पार्‍यो । इण्डियन मिडियामा छायो त्यो त ।

म नेपाल फर्किएपछि चीनको विदेश मन्त्रालयका प्रवक्ताबाट पनि वक्तव्य आयो । त्यो सपोर्टमै आयो । जे होस् यो चिज महत्वपूर्ण भयो भन्ने नै कुरा हो । त्यसकारण मेरो अनुरोध के छ भने त्रिदेशीय साझेदारीको रणनीति नेपालको हितमा छ । यसलाई अलि बढी ‘ह्यामरआउट’ गर्न जरुरी छ भन्ने मलाई लाग्छ । यसले नै नेपालको स्वतन्त्रतालाई पनि सुदृढ गर्न सक्छ । आर्थिक विकासलाई पनि सुदृढ गर्न सक्छ ।

(वर्तमान सरकारको विदेश नीतिबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डद्वारा बुधबार साँझ बालुवाटारमा व्यक्त विचारको सारसंक्षेप)  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?