Comments Add Comment

मधेसी नेताको बैठकमा प्रचण्ड र ओलीको तुलना, प्रचण्ड ‘ढाँट’ ओली प्रष्ट

संघीय गठबन्धनले छठसम्म सरकारको बाटो हेर्ने

prachanda-and-oli

१२ कात्तिक, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठकमा मधेसी नेताहरुले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको रोचक ढंगले तुलना गरे । त्यहाँ नेताहरुले प्रधानमन्त्री प्रचण्डका तीनवटा चरित्र औंल्याए ।

झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर मधेसी नेताहरुले केपी ओलीलाई स्पष्टवादी भन्दै प्रचण्डलाई चाँहि बढ्ता गाली दिएका छन् । प्रचण्डलाई उनीहरुले ‘ढाँट’ एवं ‘पछाडिबाट छुरा रोप्ने मित्र’को संज्ञा दिएका छन् । ओली स्पष्टवादी भएको मधेसी नेताहरुको ठहर छ ।

तीनबुँदे सहमति गर्दै मधेसी मोर्चा र गठवन्धनले १९ साउनमा भएको प्रधानमन्त्री चुनावमा प्रचण्डलाई भोट दिएको थियो । तर, चार महिना नपुग्दै गठवन्धन प्रचण्डसँग रुष्ट भएको छ ।

गठवन्धनले संविधान संशोधन प्रस्ताव दर्ताका लागि छठसम्म सरकारको बाटो हेर्ने र नभए तीनबुँदे सहमति कार्यावयनका लागि अल्टिमेटम दिँदै आन्दोलनको तयारीमा जुट्ने रणनीति बनाएको छ ।

उपेन्द्र यादव नेतत्वको गठवन्धनको बिहीबारको बैठकले सरकारलाई सचेत गराउने निर्णय गरेको थियो ।

प्रचण्डका तीन चरित्र

गठवन्धनको बैठकमा मधेसी मोर्चामा आवद्ध दलका नेताहरुले प्रधानमन्त्री प्रचण्ड र केपी ओलीको तुलना गर्दै विश्लेषण गरेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डको बोलीमा कुनै ठेगान नभएको बताए ।

विरोधी नै भए पनि ओली आफूलाई लागेको कुरा प्रष्ट भन्थे । तर, प्रचण्ड भित्र हुन्छ भन्ने तर, पछाडिबाट छुरा रोप्ने जस्तै प्रवृत्ति देखिएको छ

सरकार गठनका बेला १५ दिनभित्र संविधान संशोधन गर्दा गर्ने भनेको प्रचण्डले त्यसपछि भारत जानु अघि, दशैंअघि, गोवाबाट फर्किएपछि भन्दै अहिले तिहार र छठको भाका राखेको बताए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले त आफूलाई जे लागेको छ, त्यो बोल्ने गरेको तर, प्रधानमन्त्री प्रचण्डले ढाँट्ने काम मात्र गरेको बताए ।

बैठकमा तमलोपाका नेता वृषेशचन्द्र लालले माओवादी अध्यक्ष समेत रहेका प्रचण्डको तीन प्रवृत्ति रहेको बताए । उनका अनुसार जनयुद्धले प्रचण्ड हदैसम्म क्रुर हुन सक्छन् भन्ने देखाएको छ । प्रचण्ड आफ्नो फाइदाका लागि एक घन्टामा नै बोली फेर्न सक्ने भन्दै उपयोगवादी नेता हुन् ।

उनले निराकार शब्दको प्रयोग गर्दै ऋषिमुनिहरुले सबै त्यागेपछि कुनै मोह नदेखिएझै प्रचण्डमा ३० दलीय मोर्चालाई छाड्दा त्यस्तै संवदनाहीन देखिएको विश्लेषण गरेका थिए ।

मोर्चाका एक नेताले भने, विरोधी नै भए पनि ओली आफूलाई लागेको कुरा प्रष्ट भन्थे । तर, प्रचण्ड भित्र हुन्छ भन्ने तर, पछाडिबाट छुरा रोप्ने जस्तै प्रवृत्ति देखिएको छ ।’

छठसम्म सरकारको बाटो हेर्ने

sanghiya-ghathbandhan

गठवन्धनको बैठकमा अबको रणनीतिबारे छलफल भएको छ । एक नेताका अनुसार तिहार र छठ आएको र भारतीय राष्ट्रपतिको भ्रमण पनि भएकाले केही समय पर्ख र हेरको अवस्थामा बस्ने समझदारी भएको छ । २६/२७ गते बैठक बसेर सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिन्छौं र नभए आन्दोलनमा जान्छौं, उनले भनेका छन् ।

महाअभियोगमा एमालेको प्रभाव

संघीय गठवन्धनको बैठकमा नेताहरुले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रकरणमा कांग्रेस र माओवादीमाथि एमालेको प्रभाव परेको बताएका छन् । यद्यपि गठवन्धनले अहिले नै यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment