
१७ कात्तिक, पोखरा । भारतीय सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउँदा उनीसमक्ष गुनासो राख्ने भएका छन् । मुखर्जीले शुक्रबार पोखरा भ्रमण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति मुखर्जी पोखरा पुगेको मौका पारेर भूपू सैनिकहरुले आफूहरुलाई परेको समस्या राख्न लागेका हुन् । भूपू सैनिकहरुको संस्था एक्स सर्भिसम्यान सेल, पोखराले बुधबार यहाँ पत्रकार सम्मेलन गरी भूपू गोर्खाका परिवार र विधवाहरुले भोगेका समस्या समाधानका लागि आग्रह गर्ने जानकारी दिएको हो ।
मुखर्जीसँगको भेटमा एक्स सर्भिसम्यान सेल पोखराले समस्या समाधानका लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । यसका लागि दुतावास र पेन्सन क्याम्पलाई समय मिलाइदिन आग्रह गरिसकेको तर दुतावास र पेन्सन क्याम्पले जवाफ दिइनसकेको सेलका सचिव ओनररी क्याप्टेन पदमबहादुर गुरुङले बताए ।
सेलका संयोजक कर्णेल कमानसिंह गुरुङले ज्ञापन पत्र बुझाउनका लागि समय माग्दै विन्ति पठाए पनि जवाफ नआएको बताए ।
प्रयास जारी रहे पनि पहुँच नहुँदा गुनासो राख्ने ठाउँ नपाइने हो कि भन्ने चिन्ताले पत्रकार सम्मेलनमार्फत आफ्ना मागहरु सार्वजनिक गर्नुपरेको बताए ।
भारतीय सैनिकको मृत्यु भएपछि उनकी श्रीमतीले पेन्सनपट्टा बनाउन नपाउँदा पेन्सन नै पाउन नसकेको एक्स सर्भिसम्यान सेल पोखराले जनाएको छ ।
श्रीमान जीवित भइञ्जेल श्रीमानले पेन्सन पट्टा बुझिराखे पनि श्रीमानको मृत्युपछि विवाह दर्ता, विवाह अघिको डकुमेन्ट, जग्गाको लालपूर्जा लगायत खोजेर अहिले पेन्सन नै नपाउने अवस्था सिर्जना हुँदा भूपू सैनिकका विधवा श्रीमतीहरुले समस्या भोग्नुपरेको सेलका संयोजक कर्णेल गुरुङले बताए ।
त्यस्तै, दुईवटा नाम भएका सैनिक, जात परिवर्तन गरी सेनामा भर्ती भएका, पहिलेकी श्रीमतीको मृत्युभए पछि दोश्रो विवाह गरेका सैनिकका श्रीमतीले पनि पेन्सन पाएका छैनन् । त्यस्तै ईस्वी सम्वत र विक्रम सम्वतको फरकका कारणले पनि समस्या भोगिरहेको भूपू सैनिकहरुको गुनासो छ ।
विगतमा बाहुन, दलित लगायतलाई सैनिकमा भर्ती हुन नदिइने भएका कारण उनीहरुले जात फेरेर कसैले गुरुङ त कसैले मगर लेखेर जागिर खाएको तर नेपाली नागरिकता भने आफ्नै जातमा हुँदा अहिले नागरिकता नभई पेन्सन पट्टा नपाउनेहरु पनि पोखरामा धेरै छन् ।
यस्तो समस्या भोग्ने करीब ४० प्रतिशत सैनिकका परिवार सदस्यहरु रहेको गुरुङले दाबी गरे ।
नेपालमा कुल १ लाख २६ हजार भारतीय सेनाबाट अवकाशप्राप्त भूपू सैनिकहरु छन् । पोखरामा मात्र ६३ हजार भूपूसैनिक रहेको बताइन्छ ।
प्रमुख जिल्ला अधिकारीले सच्याएर पठाएको डकुमेन्टलाई आधार मानेर सबै समस्याको समाधान गर्ने गरी आफ्ना मागहरुको सम्बोधन गर्न भारतीय राष्ट्रपतिलाई आग्रह गर्ने तयारी गरिएको एक्स सर्भिसम्यान सेल पोखराले जनाएको छ ।
कर्णेल गुरुङले आफूहरुको बिरोध भारत सरकार, भारतीय राष्ट्रपतिविरुद्ध लक्षित नरहेको स्पष्ट पारे । उनले भने, ‘हामीले भारत सरकार र वा भारतीय राष्ट्रपतिविरुद्ध लक्षित गरेर आवाज उठाएका हैनौं, बरु यहीको भारतीय दुतावास र पेन्सन क्याम्पका कर्मचारीको ढिलासुस्ती र लापर्वाहीले गर्दा समस्या भएकाले सुधार्नका लागि दवाब दिन लागेका हौं ।’
गुरुङले यसअघि भारतीय सैनिकका उच्च अधिकृत, भारतीय दुतावास लगायतमा ध्यानाकर्षण गराउँदा पनि समस्या नसुल्भिmएकाले भारतीय राष्ट्रपतिसमक्ष मागहरु राख्न लागेको बताए ।
पत्रकार सम्मेलनमा उपस्थित केही पीडितहरुले पेन्सन क्याम्पका कर्मचारीले नियतवश काम नगरिदिँदा पनि आफूहरुले न्याय नपाएको गुनासो गरे । पेन्सन क्याम्पका कर्मचारीले घुस खाने नियतले हुने काम पनि रोकेर राखेको उनीहरुको आरोप छ ।
यसैवीच अर्को एउटा छुट्टै प्रशंगका कास्की स्याङजा र लमजुङका ७३ जना भूपू सैनिकहरुले १९ वर्ष भारती सेनामा काम गरेर पनि अहिलेसम्म एक रुपैयाँ पेन्सान नपाएको पूर्वसैनिक इन्द्रबहादुर गुरुङले बताएका छन् । आफूहरुले राष्ट्रपति मुखर्जीलाई भेट्न चाहे पनि समय छैन भनेर भेट गर्न नदिइएको उनको गुनासो छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4