+
+
Shares

झापाको पुनर्संरचना विवाद उत्कर्षमा, दमकलाई उपमहानगर बनाउन माग गर्दै आन्दोलन

दमकका सरकारी कार्यालयमा कालोझण्डा, ४ आन्दोलनकारी पक्राउ

गौरव पोखरेल गौरव पोखरेल
२०७३ कात्तिक २५ गते १४:३२

kalo-jhanda-damak

२५ कात्तिक, झापा । स्थानीय तह पुनर्संरचना गर्दा आफूहरुको मागलाई वेवास्ता गरिएको भन्दै झापा क्षेत्र नं. ७ का राजनीतिक दल आन्दोलित बनेका छन् ।

लखनपुर, तोपगाछी र धरमपुरलाई गाभेर दमक उपमहानगरपालिका बनाइनु पर्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत विहीबार प्रस्तावित दमक उपमहानगरपालिका क्षेत्रभित्रका सरकारी कार्यालयमा कालो झण्डा राखिएको छ भने यस क्षेत्रभित्र सरकारी सवारी साधनलाई आवतजावतमा समेत रोक लगाइएको छ ।

आन्दालनकारी ३ घण्टा नियन्त्रणमा

इलाका प्रहरी कार्यालय, दमकमा कालो झण्ड राख्ने क्रममा ३ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आन्दोलन परिचालन समितिका संयोजक नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ७ का इञ्चार्ज गगन पुरीसहित नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य शंकर बस्नेत, प्रेम विमली र नेपाली कांग्रेसका दिपेश दाहाललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको हो ।

‘इलाकामा जवरजस्ती तालाबन्दी गर्न खोजेपछि नियन्त्रणमा लिएका थियौं’, इलाका प्रहरी कार्यालय, दमकका डिएसपी राजन लिम्बूले अनलाइनखबरसँग भने, ‘उछृङ्खल गतिविधि देखिएकाले सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो ।’

‘माग पूरा नहुञ्जेल आन्दोलन’

आन्दोलन परिचालन समितिले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ । समितिको दोस्रो चरणको कार्यक्रमहरुमा गाउँगाउँमा जनतासँग अन्तरक्रिया, जनप्रर्दशन, रिले अनसन लगायत छ ।

jhapa-bibad

१५ तहमा असन्तुष्टि

यसैबीच, नेकपा एमालेसहितका अन्य ६ राजनीतिक दलले स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले तय गरेको १५ वटा स्थानीय तहसहितको खाकामा विरोध जनाएका छन् ।

उनीहरुले केही दलको आडमा गरिएको निर्णय संशोधन गर्न माग गरेका छन् । असन्तुष्ट दलले जिल्ला प्रशासन कार्यालयमा बुधबार ज्ञापन पत्र समेत बुझाएका छन् ।

नेकपा एमाले झापाका इञ्चार्ज रविन कोइरालाले जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दिपक दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?