Comments Add Comment

सरकारका १०० दिनः काम कुरो एकातिर, कुम्लो बोकी…

(समाचार टिप्पणी)

२६ कात्तिक, काठमाडौं । सरकार गठनको १०० दिन पुग्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल कति सफल भए, कति असफल भन्नेबारे चर्चा हुन थालेको छ । जे-जसरी चर्चा भए पनि सत्य के हो भने पदबहाली गर्दैगर्दा प्रधानमन्त्रीमा जुन सक्रियता र उत्साह थियो, त्यो ठ्याम्मै घटेको छ ।

Prachanda-tika

प्रधानमन्त्री दाहाल मात्रै होइन, यसअघि जति प्रधानमन्त्रीहरु भए, सिंह जस्तै गर्जिँदै सिंहदरबार छिर्ने र निस्कँदा भिजेको मुसोजस्तै भएर निस्कने गरेका छन् । हरेक आशलाग्दा नेताहरु मन्त्री वा प्रधानमन्त्रीको कुर्सीमा बसेपछि केही महिनामै किन यसरी खुइलिएर निस्कन्छन् ? प्रधानमन्त्री दाहाल तीन महिनामा किन कमजोर बने ?

काम कुरा एकातिर, कुम्लो बोकी….

प्रधानमन्त्री प्रचण्ड ९ महिनाको म्याद बोकेर प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । उनले गर्नुपर्ने धेरै थियो । उनको पार्टीका लागि गुमेको साख फर्काउन करिब अन्तिम अवसर पनि हो यो ।

संविधान कार्यान्वयन गराउँदै स्थानीय निकायको निर्वाचन गराउनु अर्को चुनौती हो प्रचण्डको । पार्टीको साख फर्काउन दाहालले ९ महिनामा जनताले महसुस गर्ने गरी सुधारका कामहरु ल्याउन सक्नुपर्थ्यो । तर, त्यस्तो भएन ।

त्यसको मुख्य कारण प्रधानमन्त्री आफैँ हुन् । उनको सचिवालय र अघोषित सल्लाहकारहरु यसको अर्को कारण बन्न पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कम्तिमा पनि दिनको दुई घण्टामात्रै सरकारी काममा ध्यान केन्द्रित गर्ने हो भने विकास निर्माणका धेरै समस्याहरु समाधान हुने निश्चित छ । तर, आफु कसरी चल्नुपर्छ भन्नेकुरा न प्रधानमन्त्रीले कहिल्यै महसुस गरे, न प्रधानमन्त्रीका वरिपरि बस्नेहरुले नै सुझाव दिए ।

बितेका तीन महिनामा प्रधानमन्त्रीको कार्यालयले विकास निर्माणका कामहरु कहाँ र कसरी के भैरहेको छ भन्ने बुझ्न चाहेन । र, उनको १०० दिन शुन्य जस्तै भयो । तीन महिना बित्न लाग्दा मात्रै प्रधानमन्त्री राष्ट्रिय महत्वका आयोजनाहरुमा घुमघाममा निस्किएका छन् ।

आफ्नै सचिवालयको असहयोग नै प्रधानमन्त्रीको असफलताको अर्को कारण हो । सुरुका केही दिन प्रधानमन्त्रीले विभिन्न विषयमा यति धेरै निर्देशन दिए, प्रशासनले नियमित गर्नुपर्ने काममा समेत निर्देशन भयो ।

तर, प्रधानमन्त्रीले निर्देशन दिएका कामहरुको प्रगति भएको छ कि छैन भन्ने कुरा सचिवालयले केलाउन चाहेन । यसले गर्दा एकातिर प्रधानमन्त्रीको निर्देशन हल्का बन्न पुग्यो भने अर्कातिर उनका निर्देशनहरु कार्यान्वयन नै भएनन् ।

जस्तो एउटा उदाहरण

प्रधानमन्त्री दाहालले पदभारसँगै ‘गरिबसँग सरकार’ कार्यक्रम घोषणा गरे । झट्ट सुन्दा यो निकै लोकप्रिय नारा थियो । तर, १०० दिनको परिणाम के आयो त ?

प्रधानमन्त्री दाहालले उक्त नारा घोषणा गर्नुअघि कम्तिमा पनि गरिबी निवारणसँग काम गर्ने १४ वटा मन्त्रालयका सचिवलाई बोलाएर गरिवी निवारणका लागि तपाईको मन्त्रालयबाट के-के भैरहेको छ र के-के गर्न सकिन्छ भनेर छलफल गर्न सक्थे । अर्थात घोषणा भइसकेपश्चात पनि यसरी छलफल गरेर कामलाई एउटा गति दिन सकिन्थ्यो ।

अर्को पक्ष प्रधानमन्त्रीले घोषणा गरेका हरेक कार्यक्रमको प्रगति कस्तो छ भन्ने सूचना राख्न प्रधानमन्त्रीको सचिवालयमा विकास र प्रशासनबारे जानकारी राख्ने आफ्नै छुट्टै संयन्त्र आवश्यक हुन्छ । यस्तै प्रधानमन्त्रीको कार्यालयले पनि आफ्नो प्रधानमन्त्रीको निर्देशनका आधारमा समन्वयन, अनुगमन र निर्देशन दिने र त्यसको विवरण हरेक हप्ता प्रधानमन्त्रीलाई ब्झाउनुपर्ने हुन्छ । र, त्यसैका आधारमा सुधार गर्दै जान सजिलो हुन्थ्यो ।

तर, प्रधानमन्त्री दाहाल, उनको सचिवालय र उनको कार्यालयले त्यो कुनै पनि काम गर्न सकेन ।

यदि प्रधानमन्त्रीको कार्यालय र प्रधानमन्त्रीको सचिवालयले मिलेर ती निकायहरुले गरेको कामको हरेक जानकारी दिने र समन्वयन गराउने गर्दै आएका भए तीन महिनापछि प्रधानमन्त्रीले टाउको दुखाउनुपर्ने थिएन ।

फरक पार्टीका मन्त्रीहरु सरकारमा छन् । मन्त्रालयमा सचिव र मन्त्रीवीच के-के भइरहेको छ, प्रधानमन्त्री अनविज्ञ छन् । सचिवहरु भोलि कतै सरुवा हुनपर्ला भन्ने डरले मन्त्रीले जे भन्यो, त्यही गरिदिने अवस्थामा पुगेका छन् ।

सिंह भएर आउँछन्, मुसो बनेर निस्कन्छन्

पदभार ग्रहण गर्दै गर्दा हरेक प्रधानमन्त्रीहरु सुन्दर नाराहरु अघि सार्छन । तर विदा भएर जाँदै गर्दा प्रधानमन्त्रीहरु निरिह देखिन्छन्, किन त ?

करिब आधा दर्जन प्रधानमन्त्रीको सचिलावमा बसेर काम गरेका एक अधिकारी भन्छन्, विकासमा हुने ढिलाइको मुख्य कारण नै प्रधानमन्त्री हुन् । यसबारे थप ब्याख्या गर्दै उनी भन्छन्, प्रधानमन्त्रीले हरेक मन्त्रालयका पदाधिकारीसँग विकास निर्माणका कामबारे आफैँले छलफल गरेर त्यसको सूचना लिने र देखिएका समस्याहरु फुकाउँदै अगाडि बढ्नुपर्छ । कुनै जटिल समस्या भेटिए विज्ञहरुको सुझाव र राय लिएर काम गर्न सकिन्छ । तर, त्यसो गर्दैनन् । प्रधानमन्त्रीहरु भेटघाट, शिलान्यास, उद्घाटनमै हराइरहेका हुन्छन् ।

निष्कर्ष के हो भने प्रधानमन्त्रीले माथिबाट मिलाएर नपेलेसम्म सार्वजनिक प्रशासनले तेल निकाल्दैनन् भन्नेकुरा राम्ररी बुझेको देखिँदैन । वा बुझेर पनि त्यो हिम्मत गर्न सकेनन् ।

प्रधानमन्त्री दाहालकै कार्यशैलीबारे टिप्पणी गर्दै प्रधानमन्त्री कार्यालयका एक सचिव भन्छन्, कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था भएको देशमा प्रधानमन्त्री र उनको सचिवालयले कसरी काम गर्छन भन्नेकुरामा समेत प्रधानमन्त्री र उनको सचिवालयले ध्यान दिएको पाइएन ।

जस्तो, भारतमा प्रधानमन्त्रीलाई भेट्न चाहनले विहान र बेलुका दुई पटक लाइन लागेर बस्नुपर्छ । र प्रधानमन्त्रीले सबैसँग क्रमशः कुरा सुन्ने गर्छन् । तर, हाम्रो प्रधानमन्त्रीलाई वालुवाटारदेखि सिंहदरबारसम्म भेट्नेहरुको जुलुश आउँछ । र, तिनैलाई पालैपालो भेटेर प्रधानमन्त्रीले आफ्नो समय बर्बाद गरिरहेका छन् ।

अनि बाँकी रहेको समय उद्घाटन र शिलान्याशले खाइदिएको छ । तर, प्रधानमन्त्रीको सचिवालयले यस्तो समस्या व्यवस्थापन गर्न सकेन । प्रधानमन्त्री दाहाल यस्तो सचिवालय बोकेर हिँडिरहेका छन्, आफ्नो विवेकले भन्दा पनि प्रधानमन्त्रीले यस्तो भन्नुभयो, गर्दिए भन्ने सोचका सचिवालयले कार्यालय भरिएको छ ।

यसै सन्दर्भमा भारतलाई हेरियो भन्ने निकै भिन्न देखिन्छ । भारतीय प्रधानमन्त्रीको सचिवालयमा डेक्स सिस्टम हुन्छ । हरेक मन्त्रालयको डेक्स हेर्ने सचिवालय सदस्यहरु यतिधेरै जानकारी राख्छन्, उनीहरुले हरेक मन्त्रालयले कहाँ के गरिरहेको छ र कहाँ कस्तो समस्या आएको छ भन्ने जानकारी राख्छन् । हरेक दिन प्रधानमन्त्रीलाई बि्रफिङ गर्छन् र समाधानका लागि सम्वन्धित निकायमा निर्देशन पठाउँछन् । तर प्रधानमन्त्री दाहालको सचिवालय सदस्यलाई प्रशासन कसरी चल्छ भन्ने सामान्य सिद्धान्तको समेत ज्ञान भएको पाइँदैन ।

विगतका केही प्रधानमन्त्रीको सचिवालमा बसेर काम गरेका एक अधिकारी भन्छन्, ‘प्रष्ट भन्नुपर्दा विकास निर्माणमा प्रभावकारीता नआउनुको मुख्य जड नै प्रधानमन्त्रीहरु हुन् । प्रधानमन्त्रीले चाहृयो भने १० बर्षमा विकासले कोल्टे फेर्ने उनको बुझाइ छ ।

प्रधानमन्त्रीको हचुवा यात्रा

प्रधानमन्त्री दाहाल भर्खरै मेलम्ची आयोजना, अपर तामाकोशीसहित केही आयोजनाको निरीक्षण गरेर फर्किएका छन् । प्रधानमन्त्रीले राष्ट्रिय गौरबका आयोजनहरुको अध्ययन गर्नु आफैँमा राम्रो कुरा हो । तर, त्यहाँ जानुभन्दा पहिले प्रधानमन्त्रीले आयोजना प्रमुखहरुसँग बसेर छलफल गरेर त्यहाँको सूचना लिनुपथ्र्यो । उनीहरुले दिएको जानकारी अनुसार आयोजनाको अवस्था छ कि छैन भनेर हेर्न गएको भए प्रधानमन्त्रीलाई कसरी गलत सूचना पुग्छ भन्नेकुरा पक्कै भेटिन्थ्यो । तर, प्रधानमन्त्री दाहालले त्यस्तो गरेनन् ।

छलफल गरेर जाँदा तपाईले मलाई यस्तो रिर्पोट दिनुभएको थियो, तर, यहाँ त त्यो रहेनछ त भनेर कम्तिमा प्रश्न गर्ने ठाउँ पाउने थिए । तर, त्यस्तो छैन, कति पैसा छ, योजना कहिले बन्नुपर्ने हो, काम कति प्रतिशत भएको छ, यत्ति सूचनाका भरमा प्रधानमन्त्री आयोजनाहरुको भ्रमणमा निस्किएका छन् ।

एकजना सचिव भन्छन्, छलफलमा सचिवहरुले जे-जे अहिले गर्न सकिदैन भनेका थिए, कार्यकारी प्रधानमन्त्री दाहालले तिनै कामहरु गर्न भटाभट निर्देशन दिए । र, प्रधानमन्त्रीको बहाली भएको २४ दिनमा २७ जना सचिवहरुलाई सरुवा गरेर तितर-वितर पारिदिए । जबकि प्रधानमन्त्री दाहालले केही दिनअघि मन्त्रीहरुले सचिव रोज्दै हिँड्ने दिन गए भनेर सचिव सरुवा नगर्ने प्रतिवद्धता जनाएका थिए । प्रधानमन्त्री दाहालको असफलताको दिन त्यहीँबाट शुरु भएको थियो । जुन कुरा गर्न सकिँदैन त्यो कुरा प्रधानमन्त्रीले बढी बोल्ने गरेका छन् ।

गलत सल्लाहकारको चंगुल

प्रधानमन्त्री दाहालसँग एकजना सचिवको हिमचिम बढेको छ । उनी हुन्, टंकमणि शर्मा । सचिव शर्मा प्रधानमन्त्रीलाई खुशी पारेर लाभको पद हासिल गर्ने सपनामा कुदिरहेका छन् । र, शर्मालाई एउटा आरोप छ, उनी मैले जति कसैले जानेको छैन भन्ने सोचबाट ग्रसित छन् ।

प्रसंसाबाट खुशी हुने प्रधानमन्त्रीको कमजोरी बुझेका शर्माले प्रधानमन्त्रीलाई हरेक काम ठीकठाक छ भन्ने सन्देश दिँदा प्रधानमन्त्री फस्न थालेको चर्चा प्रधानमन्त्री कार्यालयभित्रै छ ।

सचिव शर्माले माओवादीलाई खुशी पारेर महालेखा परीक्षक बन्न चाहेको चर्चा छ । र, त्यहाँ मुख्यसचिव सुवेदीलाई पठाउन सके आफैँ मुख्यसचिव हुने रहले सचिव शर्मालाई सताएको छ ।

त्यस्ता पात्रले प्रधानमन्त्रीलाई कहिले पनि यो भएन, यसरी जानुपर्छ भन्ने सुझाव दिँदैनन् भन्नेकुरा न प्रधानमन्त्रीले बुझेका छन्, न उनको सचिवालयले ।

प्रधानमन्त्री कार्यालयमा आर्थिक पूर्वाधार महाशाखाको जिम्मेवारी सम्हालेका सचिव शर्मालाई प्रधानमन्त्रीले सोध्नुपर्ने हो, विकास निर्माणका कामले गति लिएका छैनन्, सडकहरु ठूला ठूला खाल्डाखुल्डीले भरिँदा तपाईले के गर्नुभयो भनेर त्यसको विवरण माग्नुपर्ने होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment