Comments Add Comment

कुलमान घिसिङलाई युएईबाट खुलापत्र

विदेशमा रहेका युवा तपार्इको साथमा छौं

आदरणीय कुलमानजी

परिवारको मुहार उज्यालो बनाउन भनेर श्रमिकको रुपमा खाडी लगायत अन्य धेरै मुलुक भासिएका सबै युवाहरु यतिखेर परिवारमात्र होइन, देशलाई नै कसरी उज्यालो बनाउन सकिन्छ भनेर दिनरात चिन्ता गरिरहेका भेटिन्छन् ।

चाहे सामाजिक संजालको कुरा होस, चाहे अनलाइन मिडियाहरुको कुरा होस्, हरेकका आँखा आज कुलमानको देश उज्यालो बनाउने सपनातर्फ मोडिएका छन् । आशालाग्दा जुनेली किरणहरुको सहायताले देशमा ब्याप्त रहेको अन्धकार हटाउने सबै नेपालीहरुको सपनालाई तपाईंको उदयले एकपटक खुशीको सञ्चार गरेको छ ।

Ishwor-Aryalतपार्इंको राजनीतिक या व्यावसायिक पृष्ठभूमिको ब्याख्या गरिरहन यहाँ आवश्यक छैन । तपाइको कार्यदक्षताको मूल्यांकन चिलिमे जलविद्युत परियोजनामार्फत नै जनताले गरिरहेका छन् । दक्षता र विज्ञता बोकेको तपाइजस्तो होनाहार नागरिकको पर्खाइमा बिशेष गरेर खाडी मुलुक भासिएका युवाहरु बढी नै छन् ।

देशमा म्यादी सरकारहरुको बिगबिगी छ । विकासका नाराहरु र सपनाहरुले सम्भवत: उछारबाटो पाएका छैनन् । योजनाबिनाका नाराहरु राजनीतिक अभिष्ट सिद्द गर्नका लागि मात्र प्रयोग भैरहेका छन् ।

बारबार जनता ठग्ने खेलो चलाएर बसेका राजनीतिक दलहरु कहिले बिदेशीका पाउमा लम्पसार परेर देशको स्वाभिमानमा धावा बोल्दछन भने कहिले भ्रष्टाचार र अकर्मण्यतामा लिप्त भएर जनताले तिरेको करलाई आफ्नो ब्याक्तिगत पेट भर्ने साधन बनाएर ऐस आराममा लिप्त छन् ।

देशका नदीनालाहरु कौडीको भाउमा बिदेशीलाई बेचिएको छ । जनताले आफ्नै देशको प्राकृतिक सम्पदाहरुको प्रयोग गर्न पनि बिदेशीको अनुमति लिनुपर्ने अवस्था आएको छ । बर्षमा तीनपटकसम्म फेरिने सरकारहरु र तिनका मन्त्रीहरु आफ्नो आफ्नो दुनो सोझ्याउन ब्यस्त छन् । हरेकपटक जनता जाँतोमा पिसिने घुन बनेका छन् । गाउँमा सरकारको उपस्थिति नागरिकता र पासपोर्ट बाँड्नमा सीमित छ भने शहरमा भ्रष्टाचार गर्नका लागि मात्रै यी म्यादी सरकारहरु उपस्थित भएका छन् । कहिल्यै पूरा नहुने राजनीतिक मुद्दाहरु उठाएर जनता बिभाजित गर्नमा सरकार र प्रतिपक्ष दलहरु लागिपरेका छन् ।

कुलमान जी,

मैले यहाँ युएर्इमा काम गर्ने सिलसिलामा सँगै काम गर्ने एक जना युगाण्डाको साथीसँग उनीहरुको पावर सप्लाई सम्बन्धी जिज्ञासा राखेको थिएँ । युगाण्डा भनेको अफ्रिकाको एक अत्यन्तै अविकसित देश पनि हो । तर, उसको जवाफले मलाई धेरै पटक सोच्न बाध्य बनायो ।

उसले भनेको थियो, हाम्रो घरघरमा स्मार्ट मिटर छ, हामीलाई बिजुली चाहियो भने चाहिएको मात्रा हामीले रिचार्ज कार्डमार्फत पाउँछौं । यसको अर्थ जति मात्रामा बिजुली चाहिन्छ, त्यतिको मात्र रिचार्ज गरे हुने । म छक्क परें । आखिर बिद्युतको सप्लाई त्यसरी पनि व्यवस्थापन गर्न सकिने रहेछ ।

त्यसपछि मैले तपाइको टेलिभिजनबाट प्रसारित अन्तर्वार्ता हेरें । त्यहाँ पनि तपाईंले छोटो भए पनि स्मार्ट मिटरको कुरा गर्नुभएको थियो । म खुसी छु, विद्युत प्राधिकरणले दशकौं पछि तपाइजस्तो एक होनाहार नागरिक पाएको छ ।

जलविद्युत विकासका लागि दुईवटा योजनाहरु महत्वपूर्ण हुन्छ । एउटा तत्कालीन व्यवस्थापनको योजना र अर्को दीर्घकालीन रुपमा देशलाई आत्मनिर्भर गराएर उत्पादित बिजुली निर्यात गर्ने योजना ।

हामीलाई मेट्रो रेल चलाउनु परेको छ, रासायनिक मलहरुको कारखाना खोल्नु छ, हामीलाई नेपालभित्र उर्जामैत्री स्मार्ट सीटीहरुको आवश्यकता छ । यथार्थमा भन्दा हाम्रो हातको सीप र श्रमको पसिनाले कतार बिश्वकै नम्बर एक धनी बन्न सक्छ,दुबईमा संसारकै अग्लो महल ठडिन सक्छ भने नेपाल किन विकसित हुन सक्दैन ?

कुलमान जी,

देश राजनीतिक एजेन्डाहरुबाट बन्धक भएको छ । आर्थिक र बिकासका एजेन्डाहरुले छलफलमा ठाउँ पाउँदैनन । देशको अर्थतन्त्र बिदेशीको हातमा गएको छ । बिदेशमा बस्ने नेपाली श्रमिकहरुले यो सबै अवस्था टुलुटुलु हेर्नुपर्ने बाध्यता छ । देश विकसित भए देशको राष्ट्रियता बलियो हुन्छ । हामी स्वाभिमानको भिख मागेर होइन, हाम्रै पौरखी हातहरुले आफ्नो स्वाभिमानको रक्षा गर्न सक्छौं । देश साँच्चै बिभाजित भएको छ, कुलमान जी !

सुन्दै छु, नेपाल बिद्युत प्राधिकरणकै केही कर्मचारीहरुले तपाइको सह्रानीय कामलाई गलत भनेर पुष्टि गर्ने प्रपञ्च गर्दैछन् रे । बिज्ञप्ति निकाल्ने, हुलदंगाबाजी गर्ने प्रयास हुँदैछन् रे । हुनत देशै बन्धकी राखेकाहरुले विद्युत प्राधिकरणलाई नाकामयाब गराउन खोज्नु ठूलो कुरा पनि होइन । तर, यथार्थ के हो भने हामी यस्तो फोहोरी राजनीतिबाट आजित भैसकेका छौं । गर्न खोज्नेहरुलाई काम गर्न नदिने र बिकाशमा भाँजो हाल्ने यस्तै कर्मचारीतन्त्र देशको लागी अभिसाप हो ।

जनताले जुनसुकै मूल्यमा पनि उज्यालो चाहेका छन् । तपाईंलाई जनताको आशिर्वाद रहने छ । बरु जेल जान्छु,देशलाई लोडसेडिङ मुक्त बनाउँछु भन्ने तपाइको उदगार वास्तवमै सह्रानीय छ । आफ्नो कर्तव्यबाट पछि नहटी डटेर लाग्नुभयो भने पचासौं लाख बिदेशिएका श्रमजीवीहरुको आँशुले सही निकास पाउनेछन् ।

बिद्युत प्राधिकरणले बिदेशिएका श्रमिकहरुको लगानीमा कुनै पनि आयोजना बनाउने योजना लिएर आओस् अनि लगानी, उत्पादन र बितरणमा हाल देखिएका समस्याहरुको हल गरोस । प्राधिकरणले माथिल्लो कर्णाली जस्ता ठूला ठूला आयोजनाहरु बिदेशीको भरमा होइन, स्वदेशीकै पाखुराको भरमा निर्माण र सञ्चालन गर्ने योजना ल्याओस् । हामी सदैव त्यसको पर्खाइमा रहनेछौं ।

म्यादी सरकारहरु १०/८ महिनामा ढलिरहन्छन् तर तपाइको बिश्वास र निडरता नढलोस् । तपाइकै कार्यकालमा अन्धकार देश उज्यालो र झिलिमिली बनोस् । हामी त्यसका लागि आफ्नो ठाउँबाट डटेर सहयोग गर्न तयार छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment