
२९ कात्तिक, काठमाडौं । नेकपा एमालेका सांसद एवं अर्थ समितिका सभापति प्रकाश ज्वालाले संसद बैठकमा रोल्पाकी सुनकुमारी नेपाली र कांग्रेस नेता सुजाता कोइरालाबीच किन विभेद भनेर प्रश्न गरेका छन् ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनकुमारीको उपचार खर्च अभावमा निधन भएको छ । यो दुःखद खबर आएको केही दिनपछि नै सरकारले आइतबार पूर्वमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गर्यो ।
संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद ज्वालाले भने, ‘पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई भर्खरै ५० लाख उपचार खर्च दिने निर्णय सरकारले गरेको छ । यो निर्णय गलत छ, भर्त्सना योग्य छ । यो निर्णय जनताको भावना विपरित छ ।’
पूर्वराष्ट्रपतिलाई करौडौं उपचार खर्च तथा सहयोेगीलाई बाटो खर्च दिनेदेखि भ्रष्टाचारमा दोषी ठहर भएका खुमबहादुर खड्काहरुलाई समेत सरकारले पैसा बाँडेको उनले बताए । उनले भने, ‘उपचार खर्चका नाममा सरकारले पटक-पटक राज्यकोष दुरुपयोग गर्ने काम गरेको छ । यस्ता गलत निर्णयहरु सच्याउन म सरकारको ध्यानाकर्षण गराउँछु ।’
अहिले पनि धेरै नेपाली औषधि नपाएर मरिरहेका भन्दै उनले भने, ‘रोल्पाकी एक महिला श्रीमानको पिटाईबाट घाइते भएकी, उनको उपचार हुन सकेन र ज्यान गएको छ । एउटा महिलाको उपचार हुन नसकेर ज्यान जान्छ, अर्को एउटा महिलाले ५० लाख रुपैयाँ लिएर विदेशमा उपचारको निम्ति जान्छ । यो भेदभाव कहिले अन्त्य हुन्छ ?’
आफू सभापति रहेको अर्थ समितिले उपचार खर्च व्यवस्थित गर्न र कार्यविधि संशोधन गर्न निर्देशन दिएको तर, सरकारले त्यसलाई पनि लत्याउने काम गरेको उनले बताए ।
उपचार खर्च नदिई नहुने व्यक्तिहरुलाई मात्र सरकारले दिने र सकेसम्म नेपालमा नै उपचार गर्नुपर्ने भएपनि अहिले सरकारले जथाभावी पैसा बाँडेको उनको आरोप छ । गृहमन्त्रीले ठाडो प्रस्ताव लगेर निर्णय गराएको र सरकारको प्रवक्ताले निर्णय नै भएको छैन भनेर ढाँटेको भन्दै उनले संसदलाई जवाफ दिन माग गरेका छन् ।
यो पनि पढ्नुहोस्
मृत्युसँग जुध्दै सुनकुमारीः न राज्यले देख्यो, न रोल्पाले सुन्यो