Comments Add Comment

सुजातालाई ५० लाख दिने सिंहदरबारले देखोस् ! यो कालिकोट हो, सुडान होइन

सुजातालाई ५० लाख, कालिकोटमा ३३३ बालवालिकालाई कुपोषण

kuposan-1

२९ कात्तिक, काठमाडौं । राजधानीमा करोडौं सम्पत्तिकी मालिक एवं राज्यसत्तामा पहुँच भएकी सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिइएको विषयमा तात्तातो बहस भइरहेको छ ।

संसददेखि सामाजिक सञ्जालसम्म यही विषयले प्राथमिकता पाइरहेको छ ।

तर, कालिकोटबाट एउटा यस्तो तस्वीर आयो, जसले ‘भल्चर एण्ड द लिटिल गर्ल’लाई सम्झाउँछ ।

यो पनि पढ्नुस्ः राज्यसँग उपचार खर्च लिने सुजाता कोइराला अर्बपति !

दक्षिणी सुडानमा १९९३ मा न्युयोर्क टाइम्सका फोटो पत्रकार केभिन कार्टरले आफ्नो क्यामरामा कैद गरेको उक्त तस्वीरमा कुपोषणको शिकार भएकी सानी बालिका आफ्नो जीवनको अन्तिम अवस्थामा देखिन्छिन् र नजिकै एउटा गिद्ध छ जो बालिकाको मृत्यु पर्खेर बसिरहेको छ ।

सुडानको झल्को दिने यस्तो तस्वीर नेपालमै फेला परेको छ । सम्भवतः नेपालमा कुपोषणले खान नपाएका वालवालिकोको यस्तो तस्वीर यसअघि कहिल्यै देखिएको थिएन ।

कालीकोट सीपखाना गाविसकी १४ महिनाकी सुशीला योगीलाई ग्रामीण स्वास्थ्य कार्यकर्ताले जब घरमै भेट्टाए, त्यतिबेला उनी चरम कुपोषणबाट ग्रस्त भइसकेकी थिइन् ।

sushila-yogi
कुपोषणले ग्रस्त कालिकोटकी सुशीला योगी । तस्वीर सौजन्य: डा. कौशल अली

सीपखानामा रहेको स्वास्थ्य चौकीका स्वास्थ्य कार्यकर्ताहरुको गाउँ भ्रमणका क्रममा भेटिएकी सुशीलालाई कात्तिक २५ गते जिल्ला अस्पताल मान्म ल्याइयो ।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डाक्टर कौशल अलीका अनुसार अस्पताल ल्याउँदा उनको तौल ४ केजी र पाखुराको नाप ७४ मिलिमिटर थियो ।

अस्पतालमा ल्याएर उपचार सुरु गरियो, तर उनको अवस्था यस्तो भइसकेको थियो कि उनको शरीरले बाहिरी पदार्थ लिनै सक्दैनथ्यो । उनको उपचारमा समेत संग्लग्न रहेका डाक्टर अलीले भने- ‘कुपोषणको उपचार भनेको विशेष किसिमको पोषणयुक्त खाना खुवाउनु हो ।’

तर, उनले खान त परै जाओस् नाकबाट पाइपको सहायताले दिन खोज्दा पनि शरीरले लिन सकेन । उपचारकै क्रममा उनको गत शुक्रबार, कात्तिक २६ गते निधन भयो ।

कालिकोट सीपखाना गाविसका पार्वती योगी र जगन्नाथ योगीकी छोरी सुशीला योगी जन्मिएको ९ महिनासम्म ठीकठाक थिइन् ।

जन्मेपछि ९ महिनाको अवधिका लगाइने खोपको मात्रा पनि उनको शरीरले पाएको छ । तर, त्यसपछि पौष्टिक आहारबिना आमाको दूधले मात्रै उनको शरीरको विकास धान्न सकेन । र कडा र सीघ्र कुपोणषणको शिकार भइन् ।

dr-kaushal-ali
डा. काैशल अली

डाक्टर अलीका अनुसार ती बालिकालाई सिघ्र कुपोषण भएको हो । त्यसको उपचार सम्भव थियो तर अस्पतालको सम्पर्कमा आउन ढिला भएका कारण बचाउन सकिएन ।

डाक्टर अलीले भने, ‘कुपोषणको उपचार विधि देशैभर एकै प्रकृतिको हुन्छ । जिल्ला अस्पताल कालिकोट स्तरीय उपचार गराउन सक्छ, तर उनको हकमा अस्पताल ल्याउन ढिला भयो ।’

एकसाताको अवधिमा दुईको मृत्यु, जिल्लामा ३३३ जनामा कडा कुपोषण

कालीकोट लगायत दुर्गम जिल्लाहरुमा गत साउन २५ गतेदेखि कडा कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम चलिरहेको छ । यसले कुपोषणबाट ग्रसित बालबालिकालाई पौष्टिक आहारको जोहो गरी रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गराउँछ ।

तर, प्रभावकारी भनिएको सरकारी कार्यक्रमलाई गिज्याउँदै कालीकोटमा एक साताको अवधिमा दुई बालिकाले कुपोषणकै कारण ज्यान गुमाएका छन् । जिल्ला अस्पतालमा सुशीलाको मृत्यु भएको दुई दिनअघि च्युना गाविसस्थित कुपोषण बिशेष उपचार केन्द्रमा अर्का बालकले मृत्युवरण गरे । उनको पनि अवस्था सुशीलाकै भन्दा फरक थिएन ।

कुपोषण व्यवस्थापन कार्यक्रम लागू भएपछि यसबाट ग्रसितहरुको लगत राख्न सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर ३३३ जना कडा कुपोषणबाट ग्रसित बालबालिकाको पहिचान गरेको छ ।

उनीहरुको उपचारका लागि ७ स्थानमा विशेष उपचार केन्द्रको स्थापना गरिएको छ । जिल्लाको धौलागह, च्युना, मेहलमुडी, कुमालगाउँ, गेला र राँचुली गाविस तथा जिल्ला अस्पताल मान्ममा विशेष उपचार केन्द्र छन् ।

गत वर्षको खडेरीले निम्त्यायो थप कुपोषण

कालिकोटको सीपखाना गाविस जिल्लाको धेरै उब्जाउ हुने गाविसमा पर्छ । हराभरा यो क्षेत्र देख्नेहरुले अनुमान गर्न सक्दैनन् कि यहाँका बालबालिका पनि कुपोषण ग्रसित होलान् र ?

तर, तथ्य के हो भने गत बर्ष कर्णाली क्षेत्रमा ठूलो खडेरी पर्‍यो । ४० बर्षयताकै सबैभन्दा ठूलो खडेरीका कारण गत बर्ष कर्णालीको उत्पादन ५० प्रतिशतले घटेको थियो ।

जिल्ला जनस्वाथ्य प्रमुख डाक्टर अलीले पनि गतबर्षकै खडेरीका कारण त्यसको असर यस क्षेत्रका बालबालिकाको पोषणमा परेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment