Comments Add Comment

जहाँ एक घुट्को पानी पिउन लाइन बस्नुपर्छ (भिडियोसहित)

भोजपुरका सिस्नेरीवासी भन्छन्- पानीको दुःखले बुहारी भित्र्याउन पाइएन !

bhojpur-sisneri-drinking-water-problem-1
विद्यार्थीलाई लाइन लगाएर पानी पिलाउँदै शिक्षक

३० कात्तिक, भोजपुर । पाठ्य पुस्तकमा पढाइन्छ- स्वस्थ शरीरका लागि दिनमा कम्तिमा २ लिटर पानी पिउनुपर्छ । तर पढेको र परेको जीवन किन पो मिल्थ्यो र ? भोजपुरको सिस्नेरीका बालबालिकाले दिनमा २ लिटर होइन दुई घुट्को पानी पिउन पनि लाइन बस्नुपर्छ ।

सिस्नेरीको सास्ती

पूर्वको कर्णाली पनि भनेर चिनिने भोजपुर जिल्लाको पूर्वी भेगमा पर्ने याङपाङ गाविस विकासको हिसाबले मात्र होइन, प्राकृतिक स्रोतसाधन र पूर्वाधारबाट पनि पछाडि परेको ठाउँ हो । अरु चिजको कुरै छाडौं, त्यस ठाउँमा पानीको निकै अभाव छ । याङपाङ गाविसको सिस्नेरी भनेपछि अहिले खानेपानीको हाहाकार भएको ठाउँको रुपमा चिनिन्छ । सिस्नेरीबाट खानेपानी लिन लगभग दुई किलोमिटर पैदल हिँडेर ठूलो पँधेरो वा हेकुवा धारा पुग्नुपर्छ ।

याङपाङका हरेक ठाउँमा खानेपानीको समस्या भए पनि सबैभन्दा ठूलो बस्ती भएको सिस्नेरीमा चरम समस्या छ ।

खानेपानीको दुःखकै कारण सिस्नेरीका युवाले बिहेको लागि केटी नै पाउन छोडेका छन् । केटी माग्न जाँदा खानेपानीको अभाव भएको त्यो ठाउँमा छोरी दिनु हुँदैन, छोरीले दुःख पाउँछे भनेर फर्काउने गरेका छन् । यस्तै कारणले सिस्नेरीबाट बसाइँ सर्ने क्रम बढ्दो छ । गाउँ रित्तिएर उजाड बन्दै गएको छ ।

पानीको दुःखलाई सिस्नेरीका बासिन्दाले भाग्यसँग जोडेर हेर्ने गरेका छन् । उनीहरु भन्छन्, ‘यस्तो सतिले सरापेको ठाउँमा बस्नु हुँदैन ।’

bhojpur-sisneri-drinking-water-problem-2

पढ्ने बेला गाग्री बोक्नुपर्छ

सिस्नेरी देउरालीस्थित रचना प्राविका विद्यार्थीले पढ्न छाडेर दुई किलोमिटर टाढाबाट पानी बोकेर ल्याउने गरेका छन् । कलिला विद्यार्थीले उकालो बाटोमा कष्ट गरेर ल्याएको पानी स्कूलमा अमृत झैं बाँडेर खानुपर्ने हुन्छ ।

स्कूलमा पानी ल्याउने रुटिन नै हुन्छ । सबैले आफ्नो पालोमा पढ्न छाडेर भए पनि गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता छ ।

सिस्नेरीमा खानेपानीको कुनै मुहान छैन । पानीको स्रोत लगभग १० देखि २० किलोमिटर दूरीमा रहेको हेलौछा गाविसमा छ । त्यहाँको पानी ल्याउन छिमेकी गाविस चम्पेको भूगोल प्रयोग गर्नुपर्ने हुन्छ । पानीको मुहान वरिपरिको ऐलानी जग्गामा स्थानीयले अलैंची खेती लगाएका छन् । त्यही अलैंचीलाई देखाएर उनीहरुले पानी ल्याउन नदिने भएकाले सिस्नेरीवासीको दुःखका दिन हट्न सकेको छैन ।

छिमेकी गाविसको प्राय सबै वडामा खानेपानी सुविधा पुगे पनि सँगै रहेको गाविसमा पानीलाई अमृत जस्तै मान्नुपर्ने अवस्था छ ।

भिडियोसहित 

त्यसो त याङपाङको लागि खानेपानीको योजना नपरेको पनि होइन । गत आर्थिक वर्ष मात्र पाँच करोड रुपैयाँको बजेट फ्रिज भयो । चम्पे-याङपाङ भाङ्टार खानेपानी आयोजनाको नाममा गएको बजेट केही व्यक्तिहरुको उजुरीका कारण फ्रिज भएर गएको स्थानीयको गुनासो छ ।

विगतमा सिस्नेरीमा कागजमा सीमित धाराहरु जडान गरिए पनि लामो प्रयासपछि गत आर्थिक वर्षमा योजना परेको थियो । तर, खानेपानी योजना सञ्चालन सम्बन्धी कानुनमै एकजना व्यक्तिले उजुरी गरेपछि योजना कार्यान्वयन हुन नसक्ने व्यवस्था रहेकोले योजना त्यत्तिकै तुहियो ।

यस्तो अवस्थामा सिस्नेरीका बासिन्दाले अब कुन दिन अरुणको जल बोतलमा ल्याएर पञ्चामृत जस्तै बाँडेर खानुपर्ने अवस्था आउने हो, नत्र सबैले आशा मारिसकेका छन् । पानीकै संकटले एउटा गाउँ रित्तिँदै गएर इतिहासमा सीमित हुने अवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment