Comments Add Comment

लोकमानले सर्वोच्च अदालतमै पुगेर सोधे- मैले भाडामा दिएको घरमा किन म्याद टाँसेको ?

'म पूर्वमुख्यसचिवमात्रै होइन, अख्तियारको प्रमुख आयुक्त हुँ'

lokman-sing-karki

३०, कात्तिक, काठमाडौं । निलम्बनमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ दिएका छन् ।

आफू अख्तियारको सरकारी आवासमा बसिरहेको भन्दै कार्कीले भाडामा दिएको आफ्नो घरमा म्याद टाँस्न किन पठाइएको हो भन्ने प्रश्न सर्वोच्च अदालतलाई सोधेका छन् ।

विगतमा म्याद तामेली गर्न गएका तामेलदारलाई अवरोध गरेर कार्कीले सर्वोच्च अदालतको अपमान गरेको भन्दै उनीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले मुद्दा दायर गरेका थिए । अदालतमा आफूविरुद्ध परेको उजुरीको जवाफ कार्कीले मंगलबार आफैं उपस्थित भएर दिए ।

म्याद तामेलीमा अवरोध गरेको भन्ने आरोपअनुसार सर्वोच्चले कार्कीलाई किन कारबाही नगर्ने भन्दै कात्तिक २३ गते ७ दिनको समय तोकेर आफैँ उपस्थित भई लिखित जवाफ दिन आदेश दिएको थियो ।

भाडाको घरमा किन म्याद टाँसियो ?

कार्कीले अख्तियार प्रमुखमा नियुक्त भएसँगै आफु आयोग परिसरकै सरकारी निवासमा बसिरहेको भन्दै लेखेका छन्- ‘यसअघि मेराविरुद्ध जति उजुरीहरु परे, ती सबैको म्याद मेरो भाडामा दिएको घरमा नपठाएर म बसिरहेको सरकारी निवासमा नै तामेल भएको थियो ।’

कार्कीले आफु बसेको सरकारी निवासमा म्याद तामेलीमा कुनै असहयोग नगरेको समेत दाबी गरेका छन् । उनले यसपटक आफु नबसेर तीन बर्षदेखि भाडामा दिएको घरमा किन, कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लगियो, त्यसबारे आफु आश्चर्यमा परेको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।

यस्तै व्यवस्थापिका संसदमा आफुविरुद्ध परेको उजूरीका बारेमा लेख्दै कार्कीले त्यो संसदको क्षेत्राधिकारभित्रको विषय रहेको भन्दै त्यसबारे अदालतमा जानकारी दिनु नपर्ने बताएका छन् ।

कार्कीले आफुमाथिको आरोप पूर्णरुपमा पूर्वाग्रहमा आधारित रहेकाले खारेज गर्न माग गरेका छन् । तर, कार्कीले भाडामा बसेको घरमा म्याद टाँस्न जाँदा अवरोध पुर्‍याउने आफ्ना नातेदारहरुका बारेमा भने केही भनेका छैनन् । बरु न्यायीयक प्रक्रियामा अवरोध गरेको भन्ने आरोप गम्भीर र गलत भएको कार्कीको जिकिर छ ।

‘म पूर्वमुख्यसचिवमात्रै होइन, अख्तियार प्रमुख हुँ

अधिवक्ता अर्यालबाट दायर गरिएको उजुरीमा दाबी गरिएका आरोपहरु गलत रहेको र सर्वोच्च अदालतप्रति आफ्नो नियत खराब नरहेको तर्क गर्दै कार्कीले विपक्षीले आफुलाई पूर्वमुख्य सचिवको हैसियतमा मात्र मुद्दा दायर गरेको र अहिले संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रुपमा नस्वीकारिएको भन्दै विपक्षी अर्यालको आरोप पूर्वाग्राही भएको जवाफ दिएका छन् ।

कार्कीले निवेदक अर्यालले आफूविरुद्धको उजुरी अथ्यका आधारमा भन्दा पनि अफवाह फैलाउनका लागि दिएको जिकिर गरेका छन् । उनले आफ्नो लिखित जवाफमा भनेका छन्- ‘उजुरीकर्ता निवेदक मप्रति पूर्णरुपमा पूर्वाग्राही भएको मेरो पदीय हैसियतको उल्लेखबाट नै प्रष्ट हुन्छ । मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिवमात्र नभएर संबैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त हुँ । त्यो तथ्य लुकाई मेरो पूर्वपदीय हैसियतमात्र देखाई निवेदन दिनुबाट मप्रति पूर्वाग्रही रहेको प्रमाणित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment