Comments Add Comment

तरुण दल कांग्रेसको सैन्यदस्ता होः अध्यक्ष बस्नेत

jitjang-bhupendra-and-bidwan-2

१ मंसिर, पोखरा । तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजंग बस्नेतले तरुण दल नेपाली कांग्रेसको सैन्य दस्ता भएको बताएका छन् ।

निर्वाचित भएपछि पहिलोपटक पत्रकारसँग कुरा गर्दै बस्नेतले तरुण दल कांग्रेसको रक्षार्थ खटिने सैन्यदस्ता भएको बताएका हुन् । उनले भने, ‘कांग्रेसको रक्षार्थ तरुण दल अहोरात्र खटिने सैन्य दस्ता हो, देशमा भएको अन्याय, अत्याचार, भ्रष्टाचार अन्त्य गर्दै कांग्रेसको रक्षार्थ तरुण दल सदैव लडिरहन्छ ।’

अध्यक्ष बस्नेतले पार्टीले एकढिक्का भएर आफूलाई अध्यक्ष बनाएको दाबी गरे । उनले तरुण दललाई नेपालकै सबैभन्दा विश्वासिलो र ठूलो संगठन बनाउने घोषणा गरे ।
तरुण दलप्रति युवाको आकर्षण रहेको भन्दै त्यो विश्वासलाई दाग लाग्न नदिने उनले दृढता व्यक्त गरे । उनले आगामी निर्वाचनमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा तरुण दलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

दलका शीर्ष नेतामा पहिलोपटक सहमतिको संस्कार देखिएको भन्दै अब संविधान कार्यान्वयन र आगामी निर्वाचनमा पनि यो सहमति अटुट रहने विश्वास व्यक्त गरे ।

अध्यक्ष बस्नेतले आफूलाई तरुण दलको चौथो महाधिवेशनमा प्रतिनिधि नभएको भन्ने हल्लाको खण्डन गरे । आफूलाई निवर्तमान अध्यक्ष उदय शमशेर राणाले मनोनयन गरेर बोलाएपछि आफू पोखरा आएको बताउँदै उनले आफू महाधिवेशन प्रतिनिधि भएको जिकिर गरे ।

यद्यपि महाधिवेशनको बन्द सत्र हुँदै गर्दा बस्नेत अध्यक्ष बन्ने हल्ला चलेपछि प्रतिनिधीहरुले बस्नेत प्रतिनिधी नभएको भन्दै अध्यक्ष नमान्ने बताएका थिए । उनले पार्टी एकताको सन्देश दिन आफूलाई अध्यक्ष बनाइएको उनको जिकिर छ ।

यसअघि देउवा पक्षका बस्नेतलाई अध्यक्ष घोषणा गर्दै तरुण दलको महाधिवेशन सम्पन्न भएको थियो । ९१ सदस्यीय कार्यसमिति बन्ने तरुण दल चार पदाधिकारी मात्रै चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो ।

जस अनुसार उपाध्यक्षमा सिटौला पक्षका उत्तम चापागाई, महासचिवमा पौडेल पक्षका भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा खड्का पक्षका विद्वान गुरुङ चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्य पछि चयन गरिने बताइएको छ ।

श्रोतका अनुसार गुटका नेताहरुमै तानातान र खिचातानी भएपछि सम्पूर्ण पदाधिकारी र सदस्य चयन नभई महाधिवेशन अन्त्य गरिएको हो । महाधिवेशनमा छलफल नभई नेता बसेको होटलको कोठामा बसेर टिके नेतृत्व चयन भएको थाहा पाएपछि महाधिवेशन प्रतिनिधी निराश हुँदै घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment