Comments Add Comment

खाडी मुलुकमा उडुसले टोकेको रात

जिन्दगीमा पहिलोपटक उडुस देखें । कुकुरमा लाग्ने या गाईमा लाग्ने किर्नाहरुसंग त पहिल्यै देखी बानी परेको थिएँ । वास्तवमा भन्ने हो भने मलाई रगत चुस्नेहरु मन पर्दैनन चाहे मानिस हुन् चाहे जीव जनावरहरु । जुका देखें भने आज पनि सिकसिक लाग्छ ।

Ishwor-Aryal
ईश्वर अर्याल

प्रकृतिले रगत चुस्नेहरु पनि बनाईदिएको छ, श्रम चुस्नेहरु पनि बनाइदिएको छ । हाँसी हाँसी रगत दिनेहरु पनि यहि संसारमा छन् । मलाई भने रगतको लेनदेन मन पर्दैन । छोरा आइसीयुमा हुँदा भक्तपुरबाट सानो एयर कन्डिसनिङ बाकसमा बोकेर ल्याएको सेतो रगत सम्झिँदा अहिले पनि भात रुच्दैन ।

नेपालमा म र म जस्ता धेरैलाई रगतसंग खेल्न मन पर्दैन । किनकी यो जिवन र मृत्युुसंग जोडिएको हुन्छ । जसको जति जिन्दगी बँचेको छ, हाँसी हाँसी बाँच्न पाउनेहरुले मृत्युसंग कुनै गुनासो राख्दैनन ।

दश बर्षसम्म भयानक आगोको लपेटो जस्तो युद्धमा देश पिल्सिएपछी यसले कमसेकम ८०% भुभाग र लगभग शतप्रतिशत जनतालाई सकारात्मक र नकारात्मक दुबै असर पार्यो । रगत चुस्नेहरु मारिए, चुसाउनेहरु मारिए । हुन त युद्ध पनि उडुसहरुकै बिरुद्धमा गरिएको थियो ।

गाउँको गरिब परिवारमा हुर्केर बल्लतल्ल स्कुल सम्म जाने हैसियत बनाएको म र म जस्ता धेरै ‘म’हरुलाई उडुसहरु बिरुद्ध गरिएको भनिएको त्यो युद्धले एक किसिमको क्रान्तिकारी चेतना भरिदियो । नपत्याए ति हजारौं ‘म’ हरुलाई खाडीमा भेटेर सोध्न सकिन्छ । उनिहरुमध्ये कतिपयसंग अहिले फेसबुकमा स्ट्याटस लेख्ने शब्दहरु पनि छैन । जे थियो सबै गुमाए, जो जससंग शब्दहरु बाँकी रहेका छन तिनिहरु म जस्तै कहिले काहिँ रोइलो गर्छन, उडुसहरुबाट देश बचाउ ! देश बचाउ !!

नेपालका उडुसहरु र खाडीका उडुसहरुमा धेरै भिन्नता देखें । यहाँ त उडुसहरु ठुला ठुला गाडी नचढ्ने रहेछन् । ढाका टोपि र दौरा सुरुवाल नलगाउने उडुसहरु पहिलोपटक देख्दा म झन्डै नआत्तिएको

खाडीका उडुसहरुको शिकार हुनुमा कहिले काहिँ खुसी लाग्छ, यि उडुसहरुले धेरै रगत चुस्दैनन । सय उडुसले एक महिना भरी हरेक रात रगत चुसे भने पनि त्यो मिलिमिटरको आँकडामा मात्र पुग्छ । तर हाम्रो शरीरमा रगत बन्ने प्रक्रिया त्यो भन्दा छिटो हुन्छ । फेरि पनि म उडुसलाई घृणा गर्छु । हरेक रात मै संग सुत्छन, मेरो शरीरलाई स्पर्श गरिरहेका हुन्छन् । बिस्तारै र थाहै नादिइकन सुटुक्क थोरै रगत लिन्छन् । इमान्दार पुर्वक चुसेको ठाउँमा बोतलमा ढक्कन लगाएर छोडे जस्तो बन्द गरेर छोड्छन ता की बाँकी रहेको रगत बाहिर नपोखियोस । दुख, दर्द दिने ईनीहरुको सिद्धान्त हुँदैन ।

आफुँले रगत चुसेपछी अरुलाई निम्त्याउने बानी छैन । जसले जति रगत चुस्न सक्छ उसले त्यतीमा नै चित्त बुझाउने इमान्दारिता नेपाली उडुसहरुमा पाइँदैन । सकेजती चुसेर अरु उडुसहरुलाई मनपरी गर्न यिनिहरुले कहिल्यै बोलाउँदैनन । एकआपसमा कहिल्यै गुनासो गरेको देखेको छैन मैले । म फेरि पनि भन्छु उडुसहरुले मान्छेहरुले भन्दा धेरै कम रगत चुस्छन । एक थोपा मात्र पनि किन नहोस, तर म उडुसलाई रुचाउँदै रुचाउन्न । यदि संगै सुत्ने र शरीरमा स्पर्श गर्नेलाई माया गरिन्थ्यो भने मैले सबभन्दा धेरै माया उडुसलाई गरिरहेको हुने थिएँ ।

उडुस देखेको पहिलो रात त म पनि खुसी भएको थिएँ । मलाई लाग्थ्यो, यिनिहरुले अब धेरै रगत चुस्नेछैनन् । नेपालमै चुसिएर चाउरी परेको छालासहित खाडी छिरेपछि म एकपटक पनि दुब्लाएको छैन । ठिक्क चाहिने मात्रा पुरा गरेपछि यिनिहरु चुप लाग्छन्

नेपालका उडुसहरु र खाडीका उडुसहरुमा धेरै भिन्नता देखें । यहाँ त उडुसहरु ठुला ठुला गाडी नचढ्ने रहेछन् । ढाका टोपि र दौरा सुरुवाल नलगाउने उडुसहरु पहिलोपटक देख्दा म झन्डै नआत्तिएको । दुइतले पातलो स्टिलको खाट, पातलै ओच्छ्याउने डसना, पातलो कम्मल अनि त्यसभित्र नदेखिने धेरै उडुसहरु ।

सुतेर उठिसकेपछी कहिले कहिले कानको पछाडिबाट खुरुरु कपालतिर जाँदै गरेको अवस्थामा भेटिने उडुसहरु मेरो लागी नितान्त नौला उडुसहरु थिए । यिनिहरुको पनि फरक फरक साइजहरु साइज हुनेरहेछन, कोहि अत्यन्तै मसिना, कोहि अलि ठुला । जे मा बसे पनि चपक्क गरेर टाँसिने यिनिहरुको बानी चाहिँ नेपाली उडुस जस्तै लाग्यो । सेतो टायल लगाएको भुँईमा मसिना खुट्टाहरुले बिस्तारै हिँड्ने उडुसहरु नेपालका उडुसहरु जस्तो सँधै हतारमा हुँदैनन ।

उडुस देखेको पहिलो रात त म पनि खुसी भएको थिएँ । मलाई लाग्थ्यो, यिनिहरुले अब धेरै रगत चुस्नेछैनन् । नेपालमै चुसिएर चाउरी परेको छालासहित खाडी छिरेपछि म एकपटक पनि दुब्लाएको छैन । ठिक्क चाहिने मात्रा पुरा गरेपछि यिनिहरु चुप लाग्छन् ।

 

हो मैले शुरुमै नेपाल भयानक युद्धबाट गुज्रिएको प्रसंग लेखेको थिएँ । खाडीका उडुसहरु देखेर मलाई युद्धको सम्झना आयो, किनकी त्यो युद्ध उडुसहरुलाई भगाउन गरिएको युद्ध थियो । गाउँमा, शहरमा, बस्तीमा, टोलमा, इलाकामा अखडा जमाएर गरिब जनतालाई चुस्ने उडुसहरु भगाउने अभियान थियो । कतिपयको यस बिषयमा फरक धारणा पनि होला, तर त्यो अभियानमा निस्वार्थ लागेर रगतको बली चढाउन तयार हुनेहरुले यहि सोचेका थिए । एकाध उडुसहरुलाई भगाउन पाए देखी हामी कहिल्यै चुसिन पर्ने छैन भन्ने उनिहरुको अन्तर्य थियो ।

धेरै पछि थाहा लाग्यो नयाँ नश्लका उडुसहरुलाई जेनेटिकल्ली मोडिफाईड गरेर कुनै बिशेष स्वाभाबका उडुसहरु जन्माउने युद्ध रहेछ । युद्ध पछिका उडुसहरु झनै नयाँ भएर आए, कुनैमा भारतिय डिएनए त कुनैमा पश्चिमा देशहरुका डिएनए प्रत्यारोपण गरिएका रहेछन् । उनिहरुले नौलो ढंगबाट बिभिन्न आसनहरुमा, बिभिन्न परिवेशहरुमा, बिभिन्न तापक्रममा उहि पुरानो खेल खेल्न लागे । यसपाली चुसिने रगतको मात्रा धेरै थियो र तरिका पनि धेरै थियो ।

अझ सुचना प्रबिधीको बिकाससंगै यिनिहरुको रगत चुस्ने प्रबिधीमा पनि फरकपना आयो । कहिले डर देखाएर त कहिले थाहा नै नदिइ आफ्नो।काम फत्ते गर्न लागे । त्यसो गरिएको चाहिँ डराउने मानिसको शरीरले बिशेष प्रकारको हार्मोन निकाल्छ र रगतमा अम्लियपना बढाउँछ, सम्भवत त्यस्तो प्रकारको रगत मिठो लागेर हुनसक्छ । हरेक दिन २००० नेपाली अनुहारहरु चुसिएको शरीर र चाउरिएको अनुहार लिएर एयरपोर्टबाट बाहिर निस्किन लागे । तर हुनेहार दैब नटार भनेझैं फेरि खाडिका उडुसहरुबाट टोकिएको टोकियै छन् । कठै उडुसहरुबाट टोकिन लेखेको नेपाली जिन्दगी !

रात ढल्केपछी बिहानी आउँछ तर एउटा उडुसबाट छुटकारा पाएपछी अर्को उडुसको पालो आउने रहेछ । नेपालमा र खाडीमा टोकिने मान्छेहरु दिनप्रतिदिन बढेको बढ्यै छन् । एउटा अर्को फरक पनि छ, यहाँ कहिले कहिले बंगालीहरु पेस्ट कन्ट्रोल भन्दै कोठामा छिरेर धेरै उडुसहरुलाई मार्छन । यो देखेर मनमा एउटा अजिवको प्रश्न आउँछ ति बंगालीहरु किन कहिल्यै नेपाल छिर्दैनन ?

बुढेसकालमा जब आफ्नो सर्वस्व लुटिइसकेको हुन्छ, हाडछाला मात्र भएको शरीरसंगै मलाई मेरा सन्तानहरुलाई उडुसहरुको कथा सुनाउन मन छ । त्यतिबेला उनिहरु बुझ्ने भैसकेका हुनेछन्

एकपटक स्काइपमा छोरीले हेल्लो ड्याडी भन्दै गर्दा म उडुस मार्न ब्यस्त थिएँ । काल नआएको एउटा उडुस मार्न नपाउँदै फोनको घण्टी बज्यो । कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने छोरीको प्रश्नलाई मैले अफिसमा भएको र पेपरवर्क गरिदिएको भनेर टारें । उडुस मार्दैछु भनेको भए छोरीलाई धेरै स्पष्टिकरण दिनु पर्थ्यो । १० बर्षकी बच्चीले आफु उडुसबाट टोकिएको थाहा पाएकी छैन । अझ टाइ सुट लगाउने उडुसहरु पनि हुन्छन भनेर भनेको भए छोरीले ड्याडी खुस्किनुभएछ भन्थी होली । म चाहन्छु मेरा सन्तानहरुलाई कहिल्यै उडुसहरुले नटोकुन, न त नेपालमा न त खाडीमा नै । त्यसका लागी म पेस्ट कन्ट्रोल गर्दै हिँड्ने बंगालीहरुसंग कुरा गर्नु परेपनी गर्न तयार छु ।

बुढेसकालमा जब आफ्नो सर्वस्व लुटिइसकेको हुन्छ, हाडछाला मात्र भएको शरीरसंगै मलाई मेरा सन्तानहरुलाई उडुसहरुको कथा सुनाउन मन छ । त्यतिबेला उनिहरु बुझ्ने भैसकेका हुनेछन् । त्यतिबेला उनिहरुले आफु पनि चुसिएको कुरा बुझ्नेछन । उनिहरुलाई आफ्नो बाउ चुसिएर हाडछाला मात्र भएकोमा भन्दा पनि आफु चुसिएकोमा ग्लानी हुनेछ । तर म उनिहरुलाई कथासंगै उडुसको पेस्ट कन्ट्रोल गर्ने तरिका पनि सिकाउने छु र कहिल्यै उडुसले टोक्न नपाउने गरी आराम गर्नेछु । के म चीर निद्रामा पुगेपछि मलाई टोकेका उडुसहरु छट्पटिएर मर्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment