Comments Add Comment

अमेरिकी पत्रकारको प्रश्नः अचम्मै भयो, यो कसरी भयो ?

डोनाल्ड ट्रम्पले जित्दा क-कसले हारे ?

प्रारम्भिक दृश्य

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पदमा निर्वाचित भएपछि यो पंक्तिकार पत्रकारिता अध्ययन गरिरहेको कलेज CUNY GRADUATE SCHOOL OF JOURNALISM  मा प्रोफेसर र विधार्थीबीच अन्तरक्रिया चलिरहेको थियो ।

प्रश्न निस्कियो -“अब हामी पत्रकारले ट्रम्प जस्तो व्यक्ति निर्वाचित भएपश्चात कसरी रिपोर्टिङ गर्ने ?”

मैले जवाफ दिएँ – “जसरी हामी पहिला गर्थ्याैं, त्यसरी नै गर्ने । हामीले मन नपराएको व्यक्ति निर्वाचित भयो भन्दैमा हामीले गर्ने पत्रकारितामा किन फेरबदल गर्ने ? जे देखेको छौं, त्यो लेख्ने हो, डराउनुपर्ने कुरै छैन, आफ्नो धर्म छोड्ने हैन । ”

anuz Thapaमेरो उत्तर सुन्नेवित्तिकै मेरो सहपाठीले प्रतिवाद गरिन् र भनिन् -“तिमी पो यो देशको होइनौ, तिमीलाई फरक पर्दैन । तर, हामीलाई फरक पर्छ । म यस्तो व्यक्तिबारे कसरी लेखुँ, जो मलाई मनै पर्दैैन र उनी व्यक्तिका बारे कसरी लेखुँ, जो कसैलार्इ मन पर्दैैन । र उनी यति धेरै अलोकप्रिय छन्, तर अकस्मात उनी अब संसारकै नेता भए ।

मेरो जवाफ -“होे, म यो देशको होइन, तर पत्रकार हुँ । म देखेको कुरा लेख्छु । कुनै आग्रह-पूर्वाग्रह विना म रिपोर्टिङ गर्छु । तिमीले अलोकप्रिय नेताको कुरा गर्‍यौं । हाम्रो देशमा कुनै बेला आतंककारी घोषित पार्टी निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बन्यो । त्योबेला पनि हामीलाई तिमीहरुलाई जस्तै अचम्म लागेको थियो, तर पछि त्यो स्वाभिवक बन्दै गए किनकी उनीहरु जनताबाट निर्वाचित भएर आएका थिए । आफुले सोचेको कुरा भएन भन्दैमा जनमतको कदर गर्दिनँ भन्न मिल्दैन । लोकतन्त्रको सुन्दरता नै जनताको मत हो । ”

उनी मैले त्यति भनेपछि अलि शान्त भइन् । अन्तरक्रिया पनि सकियो र कक्षा शुरु भयो । कक्षाको अन्त्यमा उनी मेरा अघि आइन् र मसँग माफी मागिन्- “सरी, मैले तिमीलाई देशको कुरा गरेर होच्याउन खोजेको हैन । ”

मैले भनें -“केही छैन, यो भनेको आवेशमा बोलिने कुरा हो । मुल कुरा पत्रकारको काम भनेर पत्रकारिता गर्ने हो । मनपर्ने व्यक्ति र मन नपर्ने व्यक्ति भनेर छुट्याउन मिल्दैन । ”

विषय प्रवेश

माथि उल्लेखित वार्तालाप यो आलेखमा समेट्न किन पनि जरुरी थियो भने यो अहिले अमेरिका र संसारभरि धेरै मानिसको मुखमा झुण्डिएको छ – “अचम्मै भयो, यो कसरी भयो ?”

तर, ट्रम्पले जित्दैमा अचम्म मान्नुपर्ने कुरा छैन । मैले अनलाइनखबरमै करिब तीन महिनाअघि “घृणा फैलाउँदै जित पहिल्याउंदैः डोनाल्ड ट्रम्प शीर्षकमा ? आलेख लेखको थिएँ । ट्रम्पले जित्न सक्ने सम्भावनाबारे औंल्याएको थिएँ । तर, म यहाँ ती सबै कुरा दोहोर्‍याउन चाहन्नँ ।
यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने किन मानिसहरु सबै अचम्म मानिरहेका छन् ट्रम्पको जीतमा ?

यसको उत्तर हो- अमेरिकाको मूलधार मिडिया । हामीले त्यही विश्वास गर्‍याैं, जुन प्रतिष्ठित न्युयोर्क टाइम्स, वाल स्टि्रट, वासिङटन पोस्ट, सीएनएनजस्ता मिडियाले भन्यो ।

उनीहरुले केवल ट्रम्पको नकारात्मक पाटोको कुरालाई मात्र अगाडि ल्याए र त्यही कुरालाई मात्रै यसरी प्रचार गरे कि मानौं ट्रम्प राक्षस नै हो ।
हो, पक्कै पनि उनमा धेरै अवगुण छन् । उनी महिलालाई, अपांगता भएका व्यक्तिलाई अनादर गरिरहेको भेटिन्छन् जुन किमार्थ स्वीकार्य छैन । तर, ‘उनलाई समर्थन गर्ने मानिसहरु पनि छन् है’ र ‘उनीहरुको भनाइ पनि मिडियामा स्थान दिनुपर्छ है’ भनेर कहिल्यै रिपोर्टिङ गरेनन् ।

बरु उल्टै ती मिडियाहरुले केसम्म गरे भने, ट्रम्पको समर्थक हुन् भन्नेबित्तिकै हाँसोको पात्र बनाइए र उनीहरु पनि खराब हुन् भनेर समाचार लेखियो । यता हिलारीको पक्षमा भने प्रायः सबैजसो मूलधारे मिडियाहरु खुलेरै लागे ।

मैले न्युयोर्क शहरमा रिपोर्टिङको क्रममा धेरै नेपालीहरुसँग समाचारको सिलसिलामा कुरा गरेका थिए । अधिकांश नेपालीहरु हिलारी क्लिन्टनकै समर्थनमा थिए जुन स्वाभाविकै थियो, तर ट्रम्पका नेपाली समर्थकहरु पनि कम थिएनन् ।

रिपोटिङकै क्रममा न्युयोर्क शहरको क्विन्समा बस्ने ४० वर्षीय मिलन शाही ट्रम्पका समर्थकका रुपमा भेटिए र उनले खुलेरै उनको प्रचार गरेका थिए । उनको ट्रम्पप्रतिको समर्थन देखेर धेरैले उनको आलोचना गरेका थिए ।

नोभम्बर ८ तारिख निर्वाचनको दिन उनलाई पछ्याउँदै उनले भोट हाल्ने स्थानमा गएर सोधें – “यति धेरै मानिसहरुले आलोचना गरिरहेका छन् तंपाईलाई, नरमाइलो लाग्दैन ?”

आफ्नो श्रीमती गीता सेन शाहीसँगै भोट हालेका उनी नम्र भएर भनिरहेका थिए – “लोकतन्त्रमा हरेक विचारलाई सुन्नुपर्छ । हिलारी समर्थकलाई पनि म सम्मान गर्छु । तर, मेरो विचारमा ट्रम्प नै अहिलेको आवश्यकता हुन् ।”

शाहीको श्रीमती पहिले हिलारीको समर्थक थिइन् । तर, उनी पनि पछि गएर ट्रम्पको समर्थक भइन् ।

यहाँ जान्न यो जरुरी छ कि जसरी हिलारीको समर्थकलाई मुलधारे मिडियामा स्थान दिइयो, त्यसरी ट्रम्पका समर्थकलाई कहिले दिइएन । मूलधारे मिडियाका लागि त ट्रम्पका समर्थक केवल अजव प्राणी मानियो ।

मूलधारे मिडियाले गरेको अर्काे गल्ती देशको कुना कुना नजानु । मूलधारे मिडिया शहर केन्द्रित थिए ।

निर्वाचनको नतिजा हेर्ने हो भने पक्कै पनि शहरका मानिसहले हिलारीलाई भोट हालेका छन् । तर, गाउँका मानिसहरुले ट्रम्पलाई हालेका छन् । निर्वाचन अगाडि ती गाउँले मतदाताकहाँ गएर “कसलाई भोट हाल्दैछौं ?” भनी सोध्न पनि जरुरी ठानेनन् यी मिडियाहरुले । एसीमा बसेर वरिपरि आफूजस्तै कथित पढेलेखेको व्यक्तिहरुसँग कुरा गर्दै लेख्न थाले – ‘हिलारीले बाजी मार्छे’ अनि ‘सर्वेमा हिलारी अगाडि’ भनेर डम्फु बजाउँदै गए ।

मूलधारे मिडियाका डम्फूमा सबै यसरी नाच्दै गए कि खुट्टाले टेकेको जमीन खस्किएको चालै पाएनन् र अनि भन्न थाले – “अचम्मै भयो, यो कसरी भयो ?”

अन्य देशमा रहेका मानिसहरु अचम्ममा पर्नुलाई स्वभाविक मान्छु म किनभने उनीहरुले पछ्याउने भनेको अमेरिकाको मूलधारे मिडिया नै हो जसको पहुँच सर्वत्र छ ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनले यहाँको मूलधारे मिडिया कतिसम्म मक्किएको रहेछ भन्ने छर्लङ्ग देखियो । संसारभरिकै समाचारको सही विश्लेषण गर्ने भनेर पगरी गुथेको यी मिडियाहरु आफ्नै देशभित्र के भइरहेको छ भनी ठम्याउन सकेनन् र धोती फुस्किएपछि बल्ल चाल पाए र भन्न थाले- “अचम्मै भयो, यो कसरी भयो ? “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment