Comments Add Comment

मधेसबारे कमल थापाको ध्यानाकर्षणः ०५२ सालको भरुवा बन्दूक सम्झौं !

'म मधेस पुगेर फर्केको छु, परिस्थितिको बाध्यतालाई बुझौं'

kamal-thapa

८ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले आफू केही दिनअघि मधेस पुगेर फर्केको बताउँदै राजधानीमा बैठक गरिरहेका प्रमुख दलहरुलाई मधेसबारे गम्भीर हुन र परिस्थितिको बाध्यतालाई बुझ्न आग्रह गरेका छन् ।

राप्रपा नेता थापाले नेताहरुलाई ०५२ सालमा माओवादीले बोकेका केही थान भरुवा बन्दुकको समेत स्मरण गराएका छन् ।

अध्यक्ष थापाले एमालेको नाम नलिइकन केही लचकताका साथ मधेसको समस्यालाई सम्वोधन गर्नुपर्ने आग्रह गरेका छन् । संसदमा ३७ सीट रहेको एकीकृत दल राप्रपाले संविधान संशोधनको प्रस्तावको पक्षमा मतदान गर्ने संकेत गरेको छ ।

मधेस र संविधान संशोधनबारे थापाको भनाइ उनकै शब्दमाः

केही दिनअघिमात्रै म मधेस गएको थिएँ । प्रत्यक्षरुपमा त्यहाँका सुरक्षा निकायका अंगहरुसँग कुराकानी गरेको छु । राजनीतिक बैठक बसेर नथाक्ने दलका नेताहरुले सायद मधेसमा बढ्दै गइरहेको प्रवृत्तिबारे ठीक ढंगले बुझिरहनुभएको छैन ।

०५२ सालमा एउटा भरुवा बन्दुक, एउटा पेस्तोल र सय जना गुरिल्लाबाट सुरु गरिएको हिंसात्मक द्वन्द्वलाई ठीक ढंगबाट सम्बोधन गर्न नसक्दा कति क्षति बेहोर्नुपर्‍यो भन्ने हामी सबैको अगाडि तीतो अनुभव साक्षी छ । त्यसैले चाँडोभन्दा चाँडो समस्या समाधानको निमित्त म आग्रह गर्न चाहन्छु ।

मधेसकेन्द्रित दलहरुको आन्दोलन मत्थर भए पनि, मधेसकेन्द्रित दलहरुको मधेसमा प्रतिनिधित्व कम होला, तर, मधेसको समस्यालाई समाधन नगरिकन न संविधान कार्यान्वयन हुन सक्छ, न समयमा चुनाव हुन सक्छ । त्यसकारण मधेसको समस्यालाई चाँडो भन्दा चाँडो सम्बोधन गर्नका निमित्ति पार्टीको स्वार्थभन्दा माथि उठेर सहमतिमा आउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु ।

परिस्थितिको बाध्यतालाई बुझौं । मधेसको समस्या समाधान भएन भने चुनाव हुँदैन । चुनाव भएन भने संविधान कार्यान्वयन हुँदैन । संविधान कार्यान्वयन भएन भने संविधान धरापमा पर्छ ।

म चाँडोभन्दा चाँडो स्थानीय तहको चुनावको मिति घोषणा गर्न सरकारसँग माग गर्दछु । र, निर्वाचनको निमित्त अनुकुल वातवरण बनाउनका निमित्त यथासम्भव चाँडो मधेसको समस्या सम्बोधनका लागि आग्रह गर्न चाहन्छु ।

म जिम्मेवार राजनीतिक दलका शीर्षनेतालाई ध्यानकर्षण गर्न चाहन्छु, यदि हामीले केही लचकताका साथ भए पनि तत्काल मधेसको समस्यालाई सम्बोधन गरेनौं भने अतिवादी शक्तिहरु र विखण्डनकारी शक्तिहरु हावी हुन सक्ने खतरा देखिरहेको छु ।

राप्रपा संविधान कार्यान्वयनमा सघाउन चाहन्छ

राप्रपा मन, वचन र कर्मले प्रजातन्त्रमा विश्वास गर्छ । जनताको सर्वोच्चता र संविधानप्रति आस्था राख्छ । संविधानको परिधिबाट आफ्ना मान्यताहरु स्थापित गराउनुपर्छ र त्यही उपयुक्त मान्यता हो । हरेका पार्टीका फरक-फरक विचार हुन्छन् । हामीले अलग-अलग रुपमा भए पनि संविधानसभामा फरक मत राखेका छौं । यो संविधानलाई हामीले आलोचनात्मक समर्थन गरेका छौं । दुई तिहाइभन्दा धेरैले पास गरेको संविधानलाई हामीले पनि स्वीकार गरेका छौं । संविधान र संवैधानिक व्यवस्था गर्दै सहकार्य गर्दा अगाडि बढ््ने हाम्रो रणनीति हो ।

हाम्रो आधारभूत दुई विषय मान्यताहरु संविधानमा समाविष्ट हुन सकेका छैनन् । तर, पनि हामीलेे संवैधानिक सर्वोच्चतालाई स्वीकार गरेका छौं ।

हाम्रा मान्यताहरु समावेश नभएता पनि वर्तमान संविधानले विश्वका प्रचलित प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गरेको छ । यो संविधानले विचार स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । यो संविधानले पार्टी कहिल्यै प्रतिवन्ध नलाग्ने व्यवस्था गरेको छ । फरक विचार बोकेका कारणले गर्दा प्रतिबन्ध लगाइने छैन ।

यो संविधानले आवधिक निर्वाचनको व्यवस्था गरेको छ । सहज ढंगबाट संविधान संशोधन गर्न सक्ने व्यवस्था गरेको छ । त्यस कारणले गर्दा संविधानमा चित्त नबुझेर फरक मत राखेकाले पनि आफ्नो मान्यताका लागि बन्दुक बोकेर जंगलमा जानुपर्ने आवश्यकता पनि छैन, सीमामा नाकाबन्दी गरेर जनतालाई दुःख दिनुपर्ने आवश्यकता पनि छैन । जनताको माझमा गएर आफ्ना मान्यतालाई स्थापित गर्न सकिन्छ ।

जहाँसम्म समावेशी र समानुपातिक प्रतिनिधित्वको सवाल छ आफ्ना फरक मत हुँदाहुँदै पनि म दुढताका साथ भन्न सक्छु वर्तमान संविधान समावेशी र समावेशीको प्रतिनिधित्वको दृष्टिकोणबाट अग्रगामी र प्रगतिशील छ ।

त्यसैले संविधानको परिधिभित्र रहेर हामी अगाडि बढ्न सक्छौं । जसरी संविधान निर्माणमा हामीले एउटा फरक मत हुँदाहुँदै, विपक्षमा भोट हाल्दाहाल्दै पनि संविधान निर्माणमा हामीले बाधा पुर्‍याएनौं । संविधान निर्माणमा हामीले सहयोग पुर्‍यायौं ।

र, अहिले म सम्पूर्ण देशबासी र राजनीतिक दलहरुलाई विश्वस्त तुल्याउन चाहान्छु र बडो दृढताका साथ भन्न चाहन्छु कि संविधान कार्यान्वयनमा पनि राप्रपाले सकारात्क र रचनात्मक सहयोग पुर्‍याउँछ ।

मुलुकको प्रमुख चुनौति भनेको संंविधानको कार्यान्वयन र आगामी ०७४ माघभित्रमा स्थानीय, प्रदेश र संसदको निर्वाचन सम्पन्न गराउनु हो । निर्धारित समयभित्र निर्वाचन हुन सकेन भने संविधान धरापमा पर्छ । त्यसर्थ संविधानको सफलताका निम्ति निर्धारित समयमा चुनाव हुनुपर्छ ।

(पार्टी एकताका अवसरमा थापाले दिएको मन्तव्यबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment