Comments Add Comment

ढल्केबर सवस्टेसनको काम ९० प्रतिशत सकियो, ८० मेगावाट विद्युत थपिने

dhalkebar-subsatation

१३ मंसिर, काठमाडौं । बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । 

यसले हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुनेछ । ढल्केबरमुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन ढल्केबर सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।

भारतको मुजफ्फरपुरबाट जोडिएको ४ सय केभिएको अन्तर्देशीय प्रसारण प्रणाली र त्यसैगरी ढल्केवरबाट खिम्तीसम्म जोडिने अर्को २२० केभिएको प्रसारण प्रणाली पनि सोही सवस्टेसनमा जोडिनेछ ।
ढल्केबर हेटौँडा प्रसारण लाइन र ढल्केबर दुहवी प्रसारण लाइनको पनि मुख्य बिन्दु पनि ढल्केबर सवस्टेसन हो । दुवै प्रसारण लाइन चार सय केभिए क्षमताका छन् । धनुषा, महोत्तरी, सर्लाहीसम्म विद्युत् उपलब्ध गराइरहेको १३२ केभी क्षमताको प्रसारण लाइनसमेत सोही सवस्टेसनमा जोडिएको छ । 

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सवस्टेसनको काम सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए । काममा दृढ इच्छाशक्ति भयो भने दुई वर्ष लाग्ने काम चार महिनामा नै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण नै सो परियोजना हो । 

विसं २०७२ मा सम्पन्न गर्नुपर्ने सो सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापर्बाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन ।

गत भदौमा ऊर्जा मन्त्री शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक कम्पनी (सिसिपिजी)ले तत्कालै काम सुरु गरेको थियो । 

माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनामा काम गरिरहेका चिनियाँ र नेपाली गरी २०० भन्दा बढी मजदुरलाई नियमित रुपमा परिचालन गरेपछि आयोजनासम्पन्न हुने चरणमा पुगेको प्रवक्ता अधिकारीको भनाइ छ । 

परियोजनाको हाल सवस्टेसन रहने भवन, ठूला क्षमताको ट्रान्सफर्मर रहने बेसतथा अन्य भौतिक संरचनासमेत पूरा भइसकेको छ । ट्रान्सफर्मर समेत निर्माणस्थलमा आइसकेको छ भने अन्य प्राविधिक उपकरणसमेत उपलब्ध भइसकेको छ । 

भौतिक संरचना पूरा भइसकेको अवस्थामा उपकरण जडानको कार्य अब छिट्टै सुरु हुने र हिउँदमा मागअनुसार विद्युत् उपलब्ध गराउन सकिने प्रवक्ता अधिकारीले बताए ।

आयोजनाको महत्वपूर्ण मानिएको अग्नि नियन्त्रण कक्ष, तथा कर्मचारी आवास भवन बनिरहेको छ ।  आयोजनाका प्रमुख राधेशरण महतोले हरेक दिनको कार्यप्रगति ऊर्जा मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई उपलब्ध गराउने र कुनै समस्या परे तत्कालै समाधान गर्ने गरिएको छ । 

आयोजनामा समय र लागत बढाउने प्रवृत्तिका कारण अधिकांश आयोजना समस्याको चक्रब्युहमा फसिरहेको अवस्थामा ढल्केबर सवस्टेसनको कामले भने गति लिएको छ । 

यस्तै सोही सवस्टेसनमा आउने विद्युत् काठमाडौँ ल्याउनका लागि महत्वपूर्ण मानिएको ढल्केबरखिम्ती प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ । एकाध स्थानमा प्रसारण लाइनको तार कस्ने काम मात्रै बाँकी रहेको छ । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment