Comments Add Comment

प्रचण्डले भने-मधेसी मोर्चासँग सहमति भयो, संशोधन पास फेल जे भएपनि चुनावमा जान्छ

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal

१४ मंसिर, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयकमा मधेसी मोर्चाले सहमति जनाएको दाबी गरेका छन् । साथै अब छिट्टै मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर संविधान संशोधन विधेयक दर्ता गर्ने जानकारी दिएका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवसहितका मधेसी मोर्चाका नेताहरुसँग कुराकानी भएको जानकारी दिए । उनले भने, ‘मेरो सबैसँग कुराकानी भएको छ । उनीहरुले संविधान संशोधनमा आलोचनात्मक समर्थन गर्ने र पास-फेल जे भएपनि चुनावमा जाने प्रतिवद्धता जनाएका छन् ।’

माओवादीमा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मधेसी मोर्चाले स्वीकार नगर्ने भए संशोधन प्रक्रिया अघि बढाउन नहुने अडान लिएका थिए । र, पछिल्लो दिनमा प्रचण्ड स्वयंमले पनि मधेसी मोर्चाले नै समर्थन नगरे संशोधन किन दर्ता गर्ने भनेका थिए ।

तर, सोमबार मात्र बसेको मधेसी मोर्चा र संघीय गठवन्धनको बैठकले विधेयकको मस्यौदाबारे जानकारी नभएको भन्दै दर्ता गर्नु अघि नै समर्थन गर्ने प्रतिवद्धता जनाउन नसकिने बताएको थियो ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने मधेसी मोर्चासँग सहमति भएको दाबी गरे ।

उनका अनुसार एमाले पनि सकारात्मक देखिएको छ । एमाले नेतृत्वसँग आफ्नो कुराकानी भएको भन्दै उनले भने, ‘एमाले नेताहरुले समर्थनत गर्न सक्दैनौं । तर, संशोधन दर्ता गर्नुस् भनेका छन् ।’

एमालेको समर्थनमै संविधान र्सशोधन विधेयक पास हुने सम्भावना रहेको प्रचण्डले बैठकमा सुनाए ।

राष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको छलफलमा पनि संविधान कार्यान्वयनका लागि संशोधन जरुरी भएको निष्कर्षमा दलका नेताहरु पुगेको उनको भनाइ थियो । उनले भने, ‘संविधान संशोधन पछि सरकार निर्वाचनको तयारीमा जुट्छ ।’

बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘संविधान संशोधनको प्रस्तावबारे प्रधानमन्त्री ज्यूले जानकारी गराउनु भयो । पहिचान, सीमांकन, भाषा, नागरिकता लगायतका विषयमा संशोधन प्रस्तावबारे जानकारी गराउनु भयो । शीर्ष तहमा छलफल गरेर छिट्टै निष्कर्षमा पुग्ने कुरा छ ।’

उनका अनुसार अंगीकृत नागरिकलाई मुख्यमन्त्री पदसमेत नपाउने गरी संविधान संशोधन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment