२२ मंसिर कञ्चनपुर । संविधान संशोधनको रस्साकस्सी भइरहेका बेला प्रधानमन्त्री प्रचण्ड पश्चिम नेपालको दुई दिने भ्रमणमा निस्किए । काठमाडौंबाट सेनाको हेलिकोप्टरबाट दाङ ओर्लिएका उनी त्यहाँबाट कैलालीको धनगढी हुँदै नेपालको पश्चिम सीमाना कञ्चनपुरको दोधारा चाँदनी पुगे ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोधारा चाँदनीमा आउने पहिलो बहालवाला प्रधानमन्त्रीको रेकर्डसमेत राखेका छन् । दोधारा चाँदनीको कञ्जभोजमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माण गर्ने भनिएको जग्गाको स्थलगत अवलोकन गर्न प्रचण्ड यहाँ आएका हुन् ।
‘यसअघि कोही पनि बहालवाला प्रधानमन्त्री यहाँ आउनु भएको थिएन । हजुरलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले प्रधानमन्त्री प्रचण्डलाई दोधारा नजिकैको एक नदी किनारमा बनाइएको हेलिप्याडमा स्वागत गर्दै भने ।
नदीको बगरबाट करिब एक किलोमिटर टाढा गाडीको यात्रामार्फत् प्रधानमन्त्री प्रचण्ड, सचिव टंकमणि शर्मासहितको टोली बन्दरगाह निर्माणस्थल अवलोकन गर्न गएको थियो । साथमा माओवादी केन्द्रका नेता एवम् सात नम्बर प्रदेश इञ्चार्ज लेखराज भट्टसमेत थिए । प्रजिअ खनाल र माओवादी नेता भट्टले प्रधानमन्त्री प्रचण्डलाई सुक्खा बन्दरगाह निर्माणबारे जानकारी गराएका थिए ।
सो क्षेत्र भारतीय सीमा बजार खटिमाबाट करिब १२ किलोमिटर वर पर्दछ । भारतीय सीमा क्षेत्रमा रेलमार्ग छ र त्यससँग जोडिने गरी सुक्खा बन्दरगाह निर्माण भएमा कञ्चनपुर सबै प्रदेशमा सबैभन्दा धनी हुने बताए ।
सुक्खा बन्दरगाह निर्माणस्थलमा ८० बिगाह भन्दा धेरै जग्गा रहेको बताइएको छ । प्रधानमन्त्रीले बडो चासोपूर्वक कुरा सुने र भने, ‘त्यसो भए रेलमार्ग ल्याउनु पर्यो ।’
स्थलगत अवलोकन पछि प्रधानमन्त्रीले राष्ट्रिय निमाविको प्रांगणमा आयोजित सभालाई उनले संक्षिप्त सम्बोधन गरे । करिब तीनमात्रै मिनेट भाषण गरेका उनले भने, ‘नेपालको यति महत्वपूर्ण भूगोललाई नेपालसँग राम्रोसँग जोड्न राज्यले अहिलेसम्म किन ध्यान दिएन होला बडो चिन्ता लागिरहेको छ । यस भूगोलमार्फत सिंगो नेपालसँग जोड्ने कुरालाई मैले पहिलो प्राथमिकता दिनेछु ।’
उनले अगाडि भने, ‘महाकालीको पुल निर्माणको प्रक्रिया र यहाँ सुक्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अभिन्न रुपले जोडिएको छ । मैले आज यहाँ आएर सुक्खा बन्दरगाहको जमिन हेरिसकेपछि के प्रतिबद्धता व्यक्त गर्दछु भने सरकारले यो महाकाली नदीको पुल निर्माण गर्ने र सुक्खा बन्दरगाह निर्माण गर्ने प्रक्रियालाई व्यवस्थित र बैज्ञानिक रुपमा अगाडि बढाउने छ ।’
महाकाली नदीमा पुल निर्माण भएमा र सुक्खा बन्दरगाह निर्माण भएमा कञ्चनपुरको र विशेषगरी दोधारा चाँदनी गाविसका जनताको दुःखकष्ट अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।
‘शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक साँस्कृतिक रुपले जे जति अप्ठ्यारा भोग्नु भएको छ त्यसको अन्त्य हुनेछ । तपाईंहरुका दुःख कष्ट पीडा मैले महसुस गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
कर्मचारीहरुलाई प्रचण्डले भने- मलाई रिजल्ट चाहियो
दोधारा चाँदनीबाट पुनः कैलालीको धनगढी फर्किएका प्रधानमन्त्री प्रचण्डले होटल साथीमा जिल्लाका कर्मचारीहरुलाई निर्देशन दिँदै जनताका काम छिटो छरितो गर्न र विकास निर्माणलाई तिव्रता दिन निर्देशन दिए । उनले भने, ‘बजेट ८० प्रतिशत कार्यान्वयन गर्ने लक्ष्य छ । तर त्यति भएको छैन । लक्ष्य अनुसार काम गर्नुस्, जनतालाई छिटो छरितो सेवा दिनुस् । मलाई रिजल्ट चाहियो ।’
कैलालीमा विरोधमा कालो झण्डा, स्वागतमा १६ किलोको माला
प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर जानु अघि धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव उदघाटनमा सहभागी भए । धनगढी ब्यारेकमा ओर्लिएका उनी सेती अञ्चलस्तरीय प्रहरी तालिम केन्द्रको प्रांगणमा आयोजित महोत्सवमा पुगेका थिए ।
प्रचण्डका आगमनलाई मध्यनजर गर्दै एमाले र थरुहट कार्यकर्ताहरुले जिल्ला बन्द आह्वान गरेका थिए । प्रहरीले करिब ८० जना बन्दकर्ताहरुलाई नियन्त्रणमा लिएको थियो । सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको भनिए पनि प्रधानमन्त्री प्रचण्ड महोत्सव स्थलमा जाँदा एक व्यक्तिले कालो कपडा हल्लाउँदै विरोध जनाइरहेका थिए ।
उनी एक्लै थिए तर पनि प्रहरीले ति व्यक्तिलाई नियन्त्रणमा लिएन । बरु प्रचण्डसहितको टोली चोक चोकमा बालिएका टायरको कालो धुलो उडाउँदै महोत्सवस्थलमा प्रवेश गरेको थियो ।
त्यसो त प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै नेकपा एमालेले दाङ जिल्ला पनि बन्द गरेको थियो । शिक्षण संस्थाहरु समेत बन्द गरिँदा अहिले चलिरहेको अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ । तर, दाङमा प्रधानमन्त्री प्रचण्डले बन्दको सुइँको समेत पाएनन् । किनकी उनी हेलिकोप्टरबाट सिधै सिसहनिया महदेवा जोड्ने पुल शिलान्यास गर्न सिधै राप्ती नदीको बगरमा अवतरण गरेका थिए । शिलान्यास कार्यक्रमलाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्रीले मानिसहरुको उपस्थिति कम जस्तो लाग्यो भनेर आयोजक समितिका सदस्यहरुलाई सोधे । उनीहरुले भने, ‘आज एमालेले बन्द आह्वान गरेको छ, त्यहि भएर मान्छे पनि थोरै भए होलान् ।’
यस्तो उत्तर सुनेपछि प्रधानमन्त्री प्रचण्डले आश्चर्य मान्दै ‘हो र !’ भनेका थिए ।
तेस्रोपटक प्रधानमन्त्री बन्ने इच्छा !
महोत्सव आयोजक उद्योग वाणिज्य संघको टोलीले प्रचण्डलाई १६ किलोको माला लगाइदिएर स्वागत गरेको थियो । अघिल्लोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा २१ किलोको माला लगाइदिए पनि ५ वटा माग सम्बोधन भइसकेकाले १६ किलोको माला लगाइदिइएको आयोजकले बताए ।
प्रचण्डले सम्बोधनको क्रममा ठट्यौली पाराले फेरि तेस्रोपटक प्रधानमन्त्री बनाइदिए यसरी मालाको भारी नै बोक्न नपर्ने बताए । उनले भने, ‘अघिल्लो पटक २१ किलोेको मालाको भारी बोकेको थिएँ । अहिले घटेर १६ किलो भएछ । अर्को पटक पनि प्रधानमन्त्री भएपछि यसरी मालाको भारी लगाउनै नपर्ने हो कि !’
सुदूरपश्चिमबासीको तर्फबाट महोत्सव आयोजक समितिले प्रधानमन्त्री प्रचण्डसमक्ष १६ बुँदे मागपत्र पेश गरेको थियो । १० वर्षसम्म ट्याक्स फ्री जोन घोषणा गर्नुपर्ने, विशेष औद्योगिक क्षेत्र -सेज)को स्थापना हुनुपर्ने, गेटा विमानस्थललाई वैकल्पिक अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्ने लगायतका मागपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियो ।
सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकासका लागि आफूले पटक-पटक पहल गरिरहेको भन्दै नयाँ नेपालको निर्माण सुदूरपश्चिमबाटै हुनुपर्ने बताए । उनले दैजीमा सेज स्थापनाको प्रक्रिया अघि बढिसकेको भन्दै अब हरैयामा पनि विशेष आर्थिक क्षेत्र स्थापनाको प्रक्रिया अघि बढाउने आश्वासन दिए ।
पश्चिम सेतीबारे चीनसँग मिलेर काम गर्ने, खप्तड क्षेत्रमा पर्यटन व्यवसायीलाई लगानीको वातावरण बनाउने र कैलालीमा गहुँको सुपर जोन स्थापनाको पहल गर्ने उनले बताए ।
बिहीबार खप्तडको यात्रा
प्रधानमन्त्री प्रचण्डसहितको टोली धनगढीको होटल साथीमा बास बसेको छ । उनले बिहीबार प्रदेशस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।
बिहीबार बिहान धनगढीबाट खप्तड जाने र सुर्खेत हुँदै काठमाडौं फर्किने प्रधानमन्त्रीको कार्यक्रम छ । सुर्खेतमा उनले कर्णाली एक्स्पो उदघाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4