
५ पुस, काठमाडौं । नेकपा एमालेका क्षेत्रीय कार्यकर्तासमेत रहेका युवा संघका जिल्ला अध्यक्ष दूर्गा तिवारीको हत्याको घटनाबारे बुझ्न एमालेले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललाई काठमाडौंबाट रुपन्देही पठाउने निर्णय गरेको छ ।
त्यसैगरी गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापनपत्र बुझाइसकेपछि युवा संघका केन्द्रीय नेता राजीव पहारी लगायतको टोली पनि आजै दिउँसो रुपन्देही जाने कार्यक्रम छ ।
मंगलबार बिहान बुद्धनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर युवासंघले केन्द्रीय टोली घटनास्थलमा जान लागेको जानकारी दिएको हो ।

युवा संघका जिल्ला अध्यक्ष तिवारीलाई सोमबार अपरान्ह अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । तिवारीको देवदह मेडिकल कलेजमा उपचार गर्दागर्दै निधन भएको थियो ।
तिवारीको हत्या छानबिन गर्न युवा संघले छुट्टै छानबिन समिति गठन गरेको छ । संघका महासचिव किरण पौडेलको संंयोजकत्वमा गठित समितिमा सचिवद्वय नरेश शाही र अशोक चन्द सदस्य छन् ।
तिवारीको हत्यापछि सोमबारदेखि नै रुपन्देही तनावग्रस्त छ । एमालेको भातृ संघ युवासंघ नेपालले मंगलबार लुम्बिनी बन्दको घोषणा गरेका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।
यो पनि पढ्नुहोस्
रुपन्देही प्रहरीले भन्यो: तिवारीको हत्यामा मनोज पुनको संलग्नता, पुरानो रिसइबी कारण
प्रतिक्रिया 4