Comments Add Comment

अष्ट्रेलियामा नेपाली कलेज बिबादमा तानियो, अनुदानमा ‘नाटकीय बृद्धि’

rgit-australia

२२ डिसेम्बर, मेलवर्न । अष्ट्रेलियामा नेपालीद्वारा सञ्चालित एक कलेजमा यहाँको सरकारी निकायले दिएको अनुदानमाथि प्रश्न उठेको छ ।

मेलवर्नमा सञ्चालित रोयल गोर्खा इन्स्टिच्यूट अफ टेक्नोलोजी (आरजीआइटी)ले अष्ट्रेलियन बिद्यार्थीलाई प्राबिधिक तथा ब्यबसायिक कोर्स पढाएबापत अष्ट्रेलिया सरकारबाट एकै बर्ष (सन् २०१३) मा ५५ लाख ५८ हजार ४ सय १२ अष्ट्रेलियन डलर अनुदान पाएको भन्दै यहाँको फेयरफ्याक्स मिडियाले रिपोर्ट सार्वजनिक गरेको छ । सो कलेजले सन् २०१२ मा यही शीर्षकमा ५ हजार ३ सय ४२ डलरमात्र पाएको थियो ।

प्रतिशतमा भन्दा अघिल्लो बर्षको तुलनामा यो कलेजले पाएको रकम झण्डै १ लाख ३ हजार ९ सय गुणाको बृद्धि हो । आरजीआइटीसँगै अन्य दर्जनौं कलेजले पनि यसैगरी ठूलो रकम अनुदान पाएका छन् ।

अष्ट्रेलियन नेशनल अडिट अफिसको रिपोर्टलाई उदृत गर्दै अष्ट्रेलियाको फेयरफ्याक्स मिडियाले प्रकाशन गरेको समाचारमा ‘भेट फि्र हेल्प स्किम’ अन्तर्गत सो कलेजले एकै बर्षमा यति ठूलो रकम अनुदान पाएको र अनुदानमा नाटकीय बृद्धि हुनुमा दुरुपयोग पनि हुनसक्ने दावी गरेको छ ।

सन् २०१३ देखि १५ को अबधिमा अष्ट्रेलियामा भोकेसनल कलेजमा भएको नाटकीय बृद्धिमा सरकारको यस्तै अनुदानको योगदान रहेको रिपोर्टमा दावी गरिएको छ । आरजीआइटीजस्तै भोकेसनल कलेजले दुई बर्षको अबधिमा अष्ट्रेलियाली करदाताको ५ अर्ब डलरभन्दा बढि अनुदान लिएको जनाइएको छ ।

यस्तो कोर्स सञ्चालनका लागि सरकारले पहिले नै त्यसका लागि लाग्ने शुल्क कलेजलाई अनुदानस्वरुप भुक्तानी गरिदिन्छ । तर, त्यसरी अनुदान लिएअनुसार पढाइ गरिएको छ वा छैन भन्ने अनुगमन नगर्दा धेरै निजी कलेजले त्यसको दुरुपयोग गरेको समाचारमा जनाइएको छ ।

कसले कति अनुदान पाए ?

रिपोर्टमा यसरी अनुदानमा नाटकीय बृद्धि हुने अन्य कलेजको पनि नाम सार्वजनिक गरिएको छ । एमआईजीटी अष्ट्रेलियाले सन् २०१२ मा ६ हजार ६ सय ७५ डलर अनुदान पाएकोमा सन् २०१३ मा १ लाख ३८ हजार डलर पाएको देखिन्छ । यस्तै करियर्स अष्ट्रेलिया एजुकेसन इन्स्टिच्यूटले १ करोड चालिस लाख चौरासी हजार अनुदान पाएको अर्को बर्ष सात गुणा बढेर ७ करोड ३९ लाख ५३ हजार डलर अनुदान पाएको देखिएको छ ।

यस्तै फर्मास्युटिकल सोसाइटी अफ अष्ट्रेलियाले सन् २०१३ को तुलनामा २०१४ मा ३५२६ प्रतिशत, कल मल्टिमिडिया ट्रेनिङले १६९८ प्रतिशत, स्ट्राटेजिक्स ट्रेनिङ ग्रुपले ६३१४ प्रतिशत, अष्ट्रेलिया इन्स्टिच्यूट अफ पर्सनल ट्रेनिङले ७९१४ प्रतिशत बृद्धि गरेका छन् ।

नियमअनुसार पाएको हो, सदुपयोग भएको छः योञ्जन

यसैवीच प्रतिशतका हिसावले सवैभन्दा बृद्धि भएको रोयल गुर्खाज इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत चन्द्र योञ्जनले आफ्नो कलेजले नियम र मापदण्डअनुसार नै अनुदान लिएको र त्यसको सही सदुपयोग भएको बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै योञ्जनले भने- अनुदानमा पढेका बिद्यार्थीले कोर्स सकेर काम गर्न थालिसकेका छन् र उनीहरुले ऋण पनि तिरिरहेका छन ।’ प्रकाशित रिपोर्टको तथ्याङ्क सही भएको भन्दै उनले पछिल्ला बर्षहरुमा आफ्नो कलेजले पाएको अनुदान अझै बढि देखिनसक्ने बताए । आफ्नो कलेजले सरकारी अनुदानको सही सदुपयोग गरिरहेको उनले दावी गरे ।

आफ्नो कलेजमा अहिले करिव एक हजार पाँच सय बिदेशी बिद्यार्थीले पढिरहेको र करिव २ सय ५० जना अष्ट्रेलियन बिद्यार्थीले सरकारी अनुदानमा पढिरहेको जानकारी दिँदै योञ्जनले भने-‘हाम्रो मुख्य आय स्रोत सरकारी अनुदानको पढाई हैन, बिदेशी बिद्यार्थी नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment