Comments Add Comment

संशोधनमा सहमति खोज्न बालुवाटारमा सरकार र मधेसी मोर्चाको बैठक

Congress-Maoist-and-Madhesi-Morcha

१२ पुस, काठमाडौं । संसदमा जारी गतिरोध र संविधान संशोधनको विवाद टुंगो लगाउन मधेसी मोर्चासहित सत्तारुढ दलको संयुक्त छलफल आज अपरान्ह पुनः हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा कांग्रेस, माओवादी र मधेसी मोर्चाका नेताहरुबीच बालुवाटारमा छलफल हुन लागेको हो ।

संविधान संशोधन विधेयक फिर्ता हुनुपर्ने भन्ने एमाले र परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मधेसी मोर्चाका नेताहरुको अडान यथावत रहेकाले सहमतिको बाटो पहिल्याउन दलहरु प्रयासरत छन् । यसअघि सभामुख ओनसरी घर्तीको पहलमा सोमबार भएको छलफल निष्कर्षविहीन बनेको थियो । एमालेलाई सहमतिमा ल्याउन तत्काल चुनावको मिति घोषणा गर्न सत्ता साझेदार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको स्रोतले जनाएको छ ।

चुनावको मिति घोषणा गरेर चुनावलाई चाहिने विधेयकहरु लगेपछि एमाले चुनाव सम्बन्धी कानुन पारित गर्न संसद खुलाउन सहमत हुने अपेक्षा सत्ता पक्षको छ । तर त्यसो गर्दा संविधान संशोधन विधेयक स्थगन हुने र त्यसबाट मधेसी मोर्चा नमान्ने भएकाले बीचको बाटो खोज्न प्रधानमन्त्री प्रयासरत छन् ।

स्रोतका अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन र मधेसी मोर्चाको माग सम्बोधनका लागि तत्काललाई एउटा उच्चस्तरीय संयन्त्र गठन गर्न सकिने र चुनाव सम्बन्धी कानुनहरु संसदबाट बनाउने प्रक्रिया अघि बढाउन एमालेले सघाउने भएकाले त्यसतर्फ लाग्न प्रधामन्त्रीलाई सुझाव दिएका छन् । कार्यदल गठन गर्ने कुरामा एमाले पनि सकारात्मक रहेको स्रोतले जनाएको छ । तर मधेसी मोर्चा त्यसमा सहमत भइसकेको छैन । सरकार संविधान संशोधन विधेयक फिर्ता लिन वा थाति राख्न तयार छैन ।

यद्यपी सत्ता साझेदार कांग्रेसभित्रै पनि विधेयक थाति राख्न दबाव भने बढिरहेको छ । एमालेका कारण निर्वाचन पनि नहुने र संविधान संशोधन पनि नहुने अवस्था सिर्जना हुन थालेको भन्दै कांग्रेस र माओवादी अब पनि एमाले सहमतिमा नआए संसदमा पेलेर जानुपर्ने पक्षमा एकजुट देखिन थालेका छन् । त्योभन्दा अघि निर्वाचनको घोषणा र निर्वाचन कानुन ल्याउने गरी एमालेले संसद खुलाउन सघाएमा सहमतिको राजनीति अघि बढ्ने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment