Comments Add Comment

पत्याउनुहुन्छ ? वायु प्रदुषणबाट बर्सेनी ९९४५ नेपाली मरिरहेका छन्

काठमाडौं संसारका प्रदुषित शहरमध्ये २६१ औं स्थानमा

dhulo_ktm (4)

२६ पुस, काठमाडौं । तपाईलाई पत्याउन गाह्रो पर्न सक्छ । तर, विश्व स्वास्थ्य संगठनले जारी गरेको सन् २०१६ को तथ्यांक हेर्ने हो भने नेपालमा वायु प्रदुषणकै कारण हरेक वर्ष ९ हजार ९ सय ४३ जनाको मृत्यु हुने गरेको छ । विश्व बैंकको अध्ययनले त अझै यो भन्दा पनि डरलाग्दो दाबी प्रस्तुत गरेको छ ।

विश्व बैंक तथा आईएचएमईको तथ्यांकले विश्व स्वास्थ्य संगठनको भन्दा अझै विकराल अवस्था देखाएको छ । ती संस्थाको सन् २०१६ को तथ्यांकले वायु प्रदुषणकै कारण नेपालमा बर्सेनी २२ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको दाबी गरेको छ ।

मानिसहरु जन्मनु र मर्नु सामान्य प्रक्रिया हो । तर, यसरी मृत्यु हुने आफन्तका बारेमा हामीले यस्तो सोच्ने गरेका छैनौं कि उनीहरुको मृत्युको कारण वायुप्रदुषण वा त्यसले पार्ने प्रभावका कारणले पनि भइरहेको छ ।

प्रदुषणका कारण कुल ग्राहस्थ उत्पादनको ४.७ प्रतिशत आर्थिक नोक्सानसमेत भइरहेको अध्येताहरुले दाबी गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार काठमाडौं संसारका प्रदुषित शहरहरुमध्येमा पर्छ । प्रदुषणको मात्राको हिसाबले विश्वका २७ सय ७३ शहरमध्ये काठमाडौं २६१ औं स्थानमा छ ।

अधिकारकर्मी भन्छन्- प्रदुषण न्यूनीकरणका लागि अदालत जान्छौं

air-pollution

यसैबीच, वायु प्रदुषणले व्यक्तिको बाँच्न पाउने अधिकारको हनन गरेको भन्दै उपभोक्तावादी संस्थाले अधिकार रक्षाका लागि अदालत जाने बताएका छन् ।

काठमाडौंको बढ्दो वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा परेको असरबारे उपभोक्ता हित तथा संरक्षण मञ्चले सुरुमा संसदीय समितिमा कुरा राख्ने भएको छ ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले मानव स्वास्थ्य संवेदनशील विषय भएकाले काठमाडौं उपत्यकाको वायु प्रदुषण रोक्न आवश्यक परे अदालतको ढोका घच्घच्याउनसमेत पछि नपर्ने बताए ।

वायु प्रदुषणले स्वास्थ्यमा पारेको प्रभावबारे ‘रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयर’ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बानियाँले राजनीतिक दलहरुले समेत प्रदुषण रोकथामलाई प्रमुख एजेण्डा बनाइसकेको अवस्थामा यस्तो महत्वपूर्ण विषयलाई उपेक्षा गर्न नहुने बताए ।

कार्यक्रममा मेरिट लिगल काउन्सिलका अधिवक्ता श्रीङ्गऋृषि काˆलेले काठमाडौं उपत्यकाको विकासे कामसँगै प्रदुषणको मात्रा बढ्दै जाँदा मानव अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको बताए ।

काफ्लेले स्वास्थ्य मन्त्रालयको तथ्यांकले नेपालमा झण्डै ७१ प्रतिशत मुटुको समस्या वायु प्रदुषणकै कारण हुने गरेको देखाएकाले त्यसतर्फ गम्भीर हुनुपर्ने औंल्याए ।

‘पुराना गाडी हटाऔं’

कार्यक्रममा उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीले उपत्यकाको वायु प्रदुषण बढ्नुमा पुराना गाडी प्रमुख कारक भएको औंल्याए । प्रदुषण न्यूनीकरणका लागि सबैभन्दा पहिले २० वर्ष पुगिसकेका गाडी हटाउनुपर्ने उनले बताए ।

dhulo_ktm (5)

कार्यक्रममा वातावरणविद् डा. भूषण तुलाधरले उपत्यकामा वायु प्रदुषण र त्यसले स्वास्थ्यमा पार्ने प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपालमा बाहिरी वायु प्रदुषणको तुलनामा ग्रामीण भेगमा घरभित्र प्रयोग हुने दाउरा र गुइँठाका कारण हुने प्रदुषण दस गुणा बढी रहेको उल्लेख छ ।

त्यस्तै, घर बाहिरको वायु प्रदुषणमा सवारी साधनको धुवाँ र सडकको धूलोलाई प्रमुख मानिएको छ ।

डा. तुलाधरले भने गाडीको संख्याले प्रदुषणलाई अझ बढावा दिने उल्लेख गरे । उनले भने, ‘विगत २० वर्षमा काठमाडौंको सवारी संख्यामा तीन गुणाले वृद्धि भएको बेला उपत्यकाको ट्राफिक जाम कम गर्न सडक विस्तार गर्नु भनेको वायु प्रदुषणको क्षेत्रमा आगोमा घिऊ थप्नु सरह हो ।’

उपत्यकामा डिजेलका कारण सबैभन्दा धेरै ९० प्रतिशत वायु प्रदुषण हुने गरेको उनले जानकारी दिए । त्यसको न्यूनीकरणका लागि वातावरण विभाग अग्रसर हुनुपर्ने भन्दै विभागसित थुप्रै नीति भएर पनि त्यसलाई लागू गर्न नसकेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment