Comments Add Comment

रानी-धरान सडकखण्ड ६ लेनको बन्ने

dharan_rani_road-6-lane

  • ६ लेनको रानी-धरान सडकखण्डको स्केच

४ माघ, मोरङ । विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको सडकलाई ६ लेनको बनाउने कामलाई तिव्रता दिइएको छ । पूर्वी नेपालमा नै पहिलोपटक यो सडक खण्डलाई ६ लेनको बनाउन लागिएको हो ।

४९ किलोमिटर लामो यो सडक हाल दुई लेनको छ । सडक बिस्तारको काम दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ । सडक बिस्तारमा १० अर्ब ९८ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको आधा-आधा लगानीमा सडक विस्तार गरेर ६ लेनको बनाउन लागिएको हो ।

dharan_rani_road-6-lane-3

यस्तो बन्ने छ सडक

रानी-विराटनगर-इटहरी-धरान सडकखण्ड व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय इटहरीका अनुसार सडक विस्तारको आयोजना सम्पन्न भएपछि सडकको बेरियारबाट दुवैतर्फ तीन-तीन लेनको चौडा सडक हुनेछ ।

चौडा गरिएको सडकको दुवैतर्फको भागमा ड्रेनसहितको दुई मिटर चौडा फुटपाथसँगै रेलिङ हुनेछ । सडक निर्माणमा अन्तर्राष्ट्रियस्तरको अस्फल्ट कंक्रिटसहित फ्लेक्जिबल पेभमेन्ट १० सिएको प्रयोगसँगै कालोपत्रे हुनेछ ।

यसअघि काठमाडौंका सडक विस्तार गर्दा अस्फल्ट कंक्रिटको प्रयोग गरिएको थियो ।

५७ वर्षअघि ब्रिटिश सरकारको सहयोगमा कोशी राजमार्गअन्तर्गत रानीदेखि धरानसम्मको सडक ३० मिटर चौडाईको बनाएको थियो ।

पहिलो चरणमा रानी-इटहरी सडकखण्ड विस्तार

विराटनगरको रानीदेखि धरानसम्मको ६ लेनको सडक विस्तारको काम सुरु भए पनि पहिलो चरणमा रानीदेखि सुनसरीको इटहरीसम्मको मात्रै सडकलाई ६ लेनको बनाइने छ । उक्त सडक खण्ड ३० किलोमिटर छ ।

biratnagar-ddc-office-road

दोस्रो चरणमा इटहरीदेखि धरानसम्मको सडकलाई ६ लेनको बनाइने सडक विस्तार आयोजनाका प्रमुख दिपक भट्टराईले जानकारी दिए ।

दुई वर्षमा सम्पूर्ण काम सम्मन्न गर्न ११ वटा प्याकेजमा विभिन्न ठेकेदार कम्पनीसँग सम्झौता भएको भट्टराईले बताए ।

अहिले विभिन्न खण्डमा धमाधम ड्रेन निर्माण गरी सडकमा भरोट भर्नेलगायतका काम भइरहेको छ ।

विद्युत, खानेपानी र टेलिफोनको लाइन सार्ने काममा सम्वन्धित निकायको सहयोग भएको खण्डमा तोकिएकै समयमा लक्ष्य हासिल गर्न सकिने आयोजनाका प्रमुख भट्टराईले बताए ।

dharan_rani_road-6-lane-4

‘यही महिनाभित्र सडकको दुवैतर्फ ड्रेन निर्माण गरी सडकमा भरोट भर्ने, टेलिफोन लाइन, विद्युत लाइन र खानेपानीको पाइपको व्यवस्थापनको काम पूरा गर्ने र फागुनबाट कालोपत्रेको काम सुरु गर्ने योजना छ,’ उनले भने ।

अहिले रानीदेखि दुहवीको सिमाना निमुवासम्मको १२ किलोमिटरमा चार वटा प्याकेजमा काम भइरहेको छ । जसअनुसार रानीदेखि रोडशेषचोक, वरगाछी, दूधफारम र निमुवासम्मको काम भइरहेको छ । इटहरीदेखि दुहवीसम्मको १० किलोमिटर क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ ।

dharan_rani_road-6-lane-2

दुहवी बजारका १७७ घर भत्किने

सुनसरीको दुहवी बजार क्षेत्रको सडक विस्तारको लागि भने ठेक्का लाग्न सकेको छैन । यहाँको करिब डेढ किलोमिटर सडक विस्तारको लागि ठेक्का लाग्न नसकेको हो ।

इटहरीबाट दक्षिण दुहवीसम्मको १० किलोमिटर र रानीदेखि उत्तरतर्फ निमुवासम्मको १२ किलोमिटर सडक विस्तारको भने ठेक्का सम्झौता भइरहेको छ ।

दुहवी बजार क्षेत्रमा सडक विस्तार गर्दा एक सय ७७ वटा घर भत्काउनु पर्नेछ । जसकारण यो क्षेत्रमा ठेक्का सम्झौता हुन कठिन भएको हो ।

सडक आयोजना प्रमुख दीपक भट्टराईले भने, ‘दुहवीबजार क्षेत्रमा सडकको जग्गाबाहेक अरू थप दुई बिघा जग्गा चाहिन्छ । त्यहाँ बनेका घर पनि भत्काउनु पर्ने भएकाले जग्गा उपलब्ध गराइदिन भनी सडक विभागलाई पत्राचार गरिएको छ ।’

duhabi-bajar-810
किमाथाङ्का सडकलाई सहयोग हुने

पूर्वी नेपालको कोशी र मेचीमा चीन-नेपाल जोड्ने दुई वटा महत्वपूर्ण नाकामध्ये संखुवासभाको किमाथाङका नाका एक हो भने अर्को ताप्लेजुङको ओलाङचुङगोला नाका हो । यी दुबै नाकाहरु भारत र चीनलाई छोटो दुरीमा जोड्ने नाका हो ।

जोगवनीसँग यी दुबै नाकालाई जोड्न सके पूर्वी नेपालले निकै ठूलो आर्थिक उपलब्धि हासिल गर्न सक्ने मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए । तिब्बतसँगको सिमाना किमाथाङ्काबाट पनि सडक निर्माणको काम अघि बढेको र रानीबाट धरानसम्मको सडकलाई पनि ६ लेनको बनाउदा किमाथाङ्का सडकमा निकै सहयोगी हुने राउतको तर्क छ ।

यो सडक विस्तार भएपछि भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि सहज हुनेछ ।

जोगवनी नाकादेखि किमाथाङ्कासम्मको दुरी तीन सय ७६ किलोमिटर मात्रै छ । यो सडकको ट्रयाक खोल्न ४१ किलोमिटरमात्रै बाँकी छ ।

अबको दुई वर्षभित्र तिब्बतको यो नाकालाई धनकुटा र धरान हुँदै भारतको जोगवनी जोड्ने सरकारी लक्ष्य छ । भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment