Comments Add Comment

चिनियाँ सेनाको उच्चस्तरीय टोली सुटुक्क काठमाडौंमा

chinese-army-in-nepal
९ माघ, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आएर उच्चस्तरीय भेटवार्ता गरिरहेको छ ।

अर्को महिना नेपाल चीन पहिलो संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला चिनियाँ जनमुक्ति सेनाले मेजेर जनरलको नेतृत्वमा टोली पठाएको हो । दुई महिना अघि वरिष्ठ कर्णेल नेतृत्वमा चिनियाँ सेनाको टोली नेपाल आएको थियो ।

तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका मेजर जनरल ली उु चुन नेतृत्वको टोलीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र, रक्षा र सैनिक हेडक्वाटरका समेत सीमित अधिकारीहरुलाई जानकारी दिइएको छ, त्यसैले सेनापतिसँग भेटवार्ता सैनिक जनसम्पर्क निर्देशनालयले पनि केही बोलेको छैन ।

उच्च स्रोतका अनुसार यसपटक चिनियाँ सेनाले नेपाली सेनालाई केही सैन्य सामाग्री दिने तयारी गरेको छ । चिनियाँ सेनाले विषेश गरेर विकास निर्माण र अस्पताल सम्बन्धी उपकरणहरु दिने सम्झौता गर्ने बताइएको छ ।

सैनिक प्रवक्ता ताराबहादुर कार्कीले चिनियाँ सेनाको टोली नेपाल भ्रमणमा रहेको स्वीकार गरे । नियमित सम्बन्धका कारण काठमाडौं आएको भन्दै उनले भने, ‘यो नियमित भ्रमणको शिलसिला हो । यसमा खास कुरा केही छैन ।’

सैन्य अभ्यासको तयारी

नेपाली सेना र चिनियाँ सेनावीच पहिलोपटक संयुक्त अभ्यासको तयारी भइरहेको छ । यसले दुई देशको सैन्य सम्बन्धमा नयाँ आयाम थपिने रक्षा अधिकारीहरु बताउँछन् ।

अहिले नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको टोलीले सैन्य अभ्यासबारे पनि चासो दिएको छ । पहिलो पटक हुने लागेको यो अभ्यासमा कति जना सहभागी गराउने, कुन स्थानमा गर्ने भन्ने लगायतका विषयमा दुई देशका सेनाले तय गरेपछि मिति तोकिने सेना स्रोतले बतायो ।

सैन्य अभ्यास सुरुवात मात्रै होः पूर्व रथी शर्मा

चिनियाँ र नेपाली सेनावीच हुन लागेको संयुक्त अभ्यासका बारेमा भारत र अमेरिकाले समेत चासो दिएका छन् ।

नेशनल डिफेन्स कोर्ससहित केही महत्वपूर्ण तालिमका लागि नेपाली सेना चीन जाने गरेको भए पनि संयुक्त सैन्य अभ्यास अहिलेसम्म हुन सकेको थिएन ।

पूर्व रथी बालानन्द शर्मा चीन र नेपालबीच हुने सैन्य अभ्यासलाई भारतले चासो दिनु स्वभाविक भएको बताउँछन् । उनले भने ‘आफ्नो स्पेसमा चीन पस्यो भनेर भारतले चासो दिनु स्वाभाविक हो । तर, यो चिनियाँ र नेपाली सेनालाई एक अर्काका बारेमा जान्ने नयाँ अवसर हो ।’

चिनियाँ सेनासँग हुने सैन्य अभ्यास नेपाली सेनाको सुरुवात मात्रै हुने पूर्व रथी शर्माको बुझाइ छ । ‘अमेरिका, बेलायत, भारतसँग सैन्य अभ्यास भइरहेको छ । चीनसँग पनि कुनै न कुनै दिन सुरुवात गर्नुपर्ने थियो । यसपटक भयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment