+
+

किसान सेलिब्रेटी हुँदैनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते १०:२१

nattha810

अन्ततः चरम गरिबीबाट गुज्रिरहेका भारतीय किसान ‘नत्था’ एकाएक सेलिब्रेटी बने । कसरी ? उनको पाखुरीले ? होइन । उनको पसिनाले ? त्यो पनि होइन ।

आत्मघाती निर्णयले, मृत्युको ।

जब ‘आत्महत्या गरेको खण्डमा मुआब्जा वापत एक लाख रुपैयाँ (भारु) पाउने’ प्रलोभनमा नत्थाले मृत्युवरण गर्ने घोषणा गरे, सर्वत्र चर्चा भयो । मिडियाको ‘बिकाउ कन्टेन्ट’ बने उनी । राजनीतिक दाउपेचको ‘गोटी’ बने ।

नत्था भर्चुअल पात्र हुन्, फिल्म ‘पिपली लाइभ’को । तर, उनको जीवन-भोगाइ आम भारतीय किसानको साझा कथा हो । हत्केलामा जति ठेला उठाए पनि, जति पसिना चुहाए पनि यसअघि नत्थालाई कसैले चिनेनन्, कसैले गनेनन् । हामीकहाँ यस्तै नियतिसँग जुधिरहेका छन्, किसानहरु ।

त्यसो नहुँदो हो त, कास्की लाहाचोक-५ का इमानबहादुर गुरुङ सेलिब्रेटीमा दरिने थिए होलान् । उनलाई फूलमाला सजाइएको गाडीमा नगर परिक्रमा गराइन्थ्यो होला । उनीसँग सेल्फी खिच्ने र अन्तर्वार्ता लिनेको भिड जम्मा हुन्थ्यो होला । विभिन्न संघ संस्थाले थप पुरस्कारको घोषणा गर्थे होलान् । थरीथरीका कम्पनीले आफ्ना उत्पादनका लागि ‘ब्रान्ड एम्बासडर’ बनाउन तछाँड-मछाड गर्थे होलान् । तर, त्यस्तो भएन । न कसैले ‘इमानबहादुर सर्वोत्कृष्ट बर्ष किसान’ भएको भेउ पाए । न कसैले ‘इमानबहादुरलाई २ लाख नगदसहित राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएको’ चाल पाए ।

माटोमा जोतिएर पसिना चुहाउने किसानको कथालाई हामी ‘विकाउ कन्टेन्ट’ बनाउँदैनौं ।

०६३ सालमा तीनवटा भैंसीबाट कृषिकर्म थालेका उनी कसरी करोडौंको भैसी मालिक बने ? मिहेनत, लगाव र परिश्रमको यो अन्तर्कथा खोतल्ने जाँगर भएन हामीलाई । त्यसैले त ‘कृषि क्षेत्रकै सबैभन्दा ठूलो राशीको पुरस्कार’ प्राप्त गरेर पनि इमानबहादुर गुमनाम भए ।

किसानहरु गुमनाम छन् । जतिसुकै लगाव भए पनि, जतिसुकै साधना गरे पनि उनीहरुलाई ‘आम आदमी’ भन्दा माथिल्लो दर्जा दिइँदैन । यदि त्यति नै लगाव, त्यति नै साधना उसले गाउनमा खर्चेकोे भए, खेल्नमा खर्चकोे भए, अभिनयमा खर्चेको भए वा नेतागिरीमा खर्चेको भए के हुन्थ्यो ?

निसन्देह ‘सेलिब्रेटी’ कहलिन्थे । उनको मृत्युमा ‘राष्ट्रिय सम्मान’ मिल्थ्यो । उनको पार्थिव शरीरमाथि झन्डा ओडाउन राज्यका कार्यकारी प्रमुखदेखि नेता-मन्त्रीको ताँती लाग्थ्यो । तर, एउटा किसानले गर्ने अथक श्रम र अनवरत साधनाले त्यो ‘भ्यालु’ पाउँदैन । किसानको यो बर्षौको मिहेनत र लगाव एकसाता रियाज गरेर एल्वम निकाल्ने गीताङ्गेको अगाडि फिका बन्छ ।

***

जब खेतीबालीको स्तरोन्नती गर्ने कुरा आउँछ, कृषि नीतिमाथि औंला ठड्याइन्छ । सिंचाई, मलखाँद, उन्नत बिउ-बिजनको अभाव औंल्याइन्छ । यान्त्रीकरण र आधुनिक खेती प्रणालीको आवश्यक्ता महसुष गरिन्छ । अब फुटबल खेलको स्तरोन्नती गर्नुपर्‍यो भने के गरिन्छ ? मैदानको सुधार गर्ने, प्यारापिटहरु मर्मत गर्ने, टिकाउयुक्त बल र बुट खोज्ने काम गर्ने । होइन ।

बरु, खेलाडीको वृद्धिबिकासमा जोड दिइन्छ । पारिश्रमिक बढाइन्छ । पुरस्कार र सम्मान दिइन्छ । उसको सफलतामा हर्षोल्लास मनाइन्छ । उसको मनोबल उकास्ने जुक्ति खोजिन्छ । ठीक यसैगरी किसानको मनोबल उकास्ने परिपाटी नभएकाले नै हो, कसैले गर्वसाथ ‘म किसान हुँ’ भन्न नसकेका । जब आफ्नो पेशा, व्यवसायप्रति नै गर्व गर्न सकिदैन भने त्यसको स्तरोन्नतीको कल्पना कसरी गर्ने ?

चितवनका एकजना किसान छन्, विनोद सापकोटा । कृषि-कर्मसँग जोडिएका उनको सफलताको कथा आफैंमा लोभलाग्दो र घतलाग्दो छ । साहित्यमा स्नातक उनले ३० हजार लगानीबाट आलु खेती गरे । त्यही बिन्दुबाट सुरु भएको उनको कृषिकर्मले अहिले ‘सौगात एनिमल फार्म’को वृहत्तर आकार ग्रहण गरिसकेको छ ।

उनी गाइबस्तु पाल्छन्, दुध-दही बेच्छन्, पशुपालनसम्वन्धी जानकारीमुलक पुस्तक लेख्छन् । यसै बापत प्राप्त ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’, ‘उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार’को प्रमाणपत्रले उनको घरको भित्तालाई शोभयामान बनाएको छ । तर, जब कसैलाई आफ्नो परिचय दिनुपर्छ, उनले ‘म पत्रकार पनि हुँ’ भन्नुपर्छ । ‘श्रीमतीलाई समेत तपाईका श्रीमान के गर्नुहुन्छ भन्दा सही जवाफ दिँदैनन्’ उनी ठट्यौली शैलीमा भन्छन्, ‘किसान नभनेर पत्रकार भनिदिन्छन् ।’

किसानलाई ‘किसान’ भनेर चिनाउन लाज लाग्छ । बिवाहका लागि केटी माग्न जाँदा सम्भावित सासु-ससुराले समेत उपेक्षा गर्छन्, ‘ए, किसान पो ! अरु के गर्नुहुन्छ ?’

***

 माटोमा जोतिएर पसिना चुहाउने किसानको कथालाई हामी ‘विकाउ कन्टेन्ट’ बनाउँदैनौं । उनको मिहेनत र श्रमलाई सलाम गर्दैनौं । उनले छिचोलेको चर्को घाम र कठ्यागि्रँदो जाडोलाई अनुभूत गर्दैनौं ।

चरचर फुटेको कुर्कुचा र ठेला उठेको हात लिएर तपाई सरकारी कार्यलयमा पुग्नुहोस्, सुरक्षा गार्डले सातो लिने गरी खनतलासी गर्छ । पियनले थर्काएर सोध्छ, ‘के काम छ, कसलाई भेट्न आएको ?’ कर्मचारीले हेपाह व्यवहार गर्छन् । काममा ढिलासुस्ती गर्छन् । चाहे स्थानीय मालपोत कार्यालयमा प्रवेश गर्दा होस् वा सिंहदरबारको गेटमा, किसानको हुलियाले हार्दिक-स्वागत कहीँकतै पाउँदैनन् । उनीहरु जहिल्यै उपेक्षाका सिकार हुन्छन् । त्यसैले त हो, किसानले ‘म किसान’ भनेर गर्वसाथ छाती फुलाउन नसकेको ।

किसान भन्नासाथ अति सामान्य नागरिकमा गणना गर्ने प्रवृत्ति छ ।

***

कक्षा तीनदेखि नै ‘हाम्रो नेपाल कृषि प्रधान देश हो’ घोकेर हुर्किएका हामीले जीवनको कुनै मोडमा ‘म किसान बन्छु’ भन्ने लक्ष्य बनाउन सकेनौं । सबै विकल्पहरु ठप्प भएपछि मात्र सुस्केरा हाल्यौ, ‘अब खेतीपातीमा लाग्नुपर्ला ।’ जब खेती किसानीमा आफूलाई रुपान्तरण गर्छौं, अपहेलित महसुस गरिन्छ । त्यही हीनता र ग्लानीले हामीलाई आत्महत्याको बाटो रोज्न समेत बाध्य तुल्याउँछ । थाहा छैन, नेपालमा अपहेलना, असहयोग र अप्ठ्याराहरुले कति किसान मर्छन् ? तर, यस्तै तथ्यांक भारतसँग छ । अध्ययनहरुले भन्छ, ‘भारतमा हरेक दिन ४४ जना किसानले आत्महत्या गर्छन् ।’

के अरु क्षेत्रमा जस्तै खेती किसान गर्नेहरुलाई हामी ‘आइडल’ बनाउन सक्दैनौं ? उनको संघर्ष र कथा बेच्न सक्दैनौं ? उनलाई ‘सेलिब्रेटी’ बनाउन सक्दैनौं ?

किसानहरु जिउँदै पनि मर्छन् । जब खेतीपातीका लागि ऋण लिन पुग्छ, जटिल वित्तीय प्रक्रियाले उसलाई मार्छ । जब बाली लगाउन बेला हुन्छ, उन्नत बिउ-बिजनको अभावले उसलाई मार्छ । जब वाली उम्रर्न थाल्छ, सिंचाई र मलखाँदको समस्याले उसलाई मार्छ । जब, हात नङ्ग्रा खियाएर उत्पादन गरेको बस्तु बजारमा पुर्‍याउँछन्, बिचौलियाले उसलाई मार्छ । त्यसबाहेक उसलाई पटक-पटक मार्छ, अपहेलनाले ।

परिश्रम, मिहेनत र लगावलाई नाप्ने साझा ब्यारोमिटर हुँदो हो त, अरुको तुलनामा किसान सबैभन्दा माथि हुने थिए होलान् । दुर्भाग्य के छ भने, यतिका श्रम, मिहेनत गर्ने किसानको ‘स्थान र स्तर’ ग्रास रुट लेभलमै हुन्छ । परिणामतः उनीहरुको मनोबल कमजोर हुँदै र खिइँदै जान्छ । समाजमा उसले जहिल्यै निर्धो र बामपुड्को बन्नुपर्छ ।

के अरु क्षेत्रमा जस्तै खेती किसान गर्नेहरुलाई हामी ‘आइडल’ बनाउन सक्दैनौं ? उनको संघर्ष र कथा बेच्न सक्दैनौं ? उनलाई ‘सेलिब्रेटी’ बनाउन सक्दैनौं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?