Comments Add Comment

आहा रारा गोल्डकपको फाइनलमा मनाङ र सहारा भिड्ने, संकटामाथी मनाङको कठीन जित

manag-vs-sankata-aaha-rara-gold-cup
१३ माघ, पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मनाङमर्स्याङ्दी क्लव र आयोजक सहारा क्लव पोखरा भिड्ने भएका छन् ।

मनाङले बिहीबार संकटा क्लबमाथी १-० को कठीन जित निकाल्दै सहारा क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । उपाधिका लागि यी दुई टीम शनिबार प्रतिष्पर्धामा उत्रिनेछन् ।

बिहीबारको खेलमा अफिज ओलावाले ओलाडिपोले मनाङका लागि निर्णायक गोल गरे । दश खेलाडीमा सीमित संकटा बिरुद्ध उनले खेलको ८६ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन् । विक्रम लामाको फि्रकिक बलमा विमल रानाले हेडमार्फत मिलाइदिएको पासमा ओलावालेले फष्टबार च्याप्दै जाली चुमाए ।

यसअघी शुरुदेखि नै आक्रमण बुनेको मनाङ पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । खेलको पाँचौ मिनेटमै सुजल श्रेष्ठको पासमा विमल बस्नेत गोल गर्न चुके ।

१९ औं मिनेटमा सुजलकै पासमा क्याप्टेन अनिल गुरुङले डि-एरियामा पाएको बल पनि प्रहार गर्न असफल भए । पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा सुजलको कर्नरकिकमा विक्रम लामाको हेडर क्रसबार माथीबाट बाहिरियो ।

७३ औं मिनेटमा विक्रम लामाको क्रसमा सुजल श्रेष्ठको हेडर खे पनि खेर गयो । दोश्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा ओलावाले वान भर्सेस वानमा गोल गर्न चुके । उनले प्रहार गरेको बल फष्टबार हुँदै बाहिरियो ।

संकटाले एक-दुई वटा गोल गर्ने राम्रो अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन । खेलको ४० औं मिनेटमा सुशील केसीको फि्रकिक प्रहारमा बिपक्षी गोलकिपर दिनेश थापा मगर बाधक बने ।

पहिलो हाफ प्रतिष्पर्धी मनाङलाई कडा टक्कर दिएको संकटा दोश्रो हाफमा भने रक्षात्मक बन्यो । खेलको ६३ औं मिनेटमा संकटाका सुशील केसी दुई पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि संकटा थप दवाबमा पर्‍यो ।

मनाङका क्याप्टेन अनिल गुरुङले बल खोस्ने क्रममा सुशीललाई ठेलेर लडाई दिएपनि रेफ्रीले अनिललाई पहेंलो कार्ड नदिएको भन्दै सुशीलले मुख छाडे । लगत्तै फिफा रेफ्री विकास महतले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै पहेंलो कार्ड दिए ।

विहीबारकै खेलको ५९ औं मिनेटमा समेत पहेंलो कार्ड खाएका उनलाई रेफ्रीले रातो कार्ड दिँदै मैदानबाट निकाले । त्यसपछि दश खेलाडीमा सीमित संकटाले लगातार दबाव झेल्नुपर्‍यो र पराजय भोग्यो ।

खेल समापन पछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै बिजेता मनाङमर्स्याङ्दीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले शुरुवाती १०-१५ मिनेटमै गोल निकाल्ने आफ्नो रणनीति सफल नहुँदा कठिन जित निस्केको प्रतिक्रिया दिए । मिडफिल्ड र स्ट्राइकर समानान्तर ढंगले अघि बढ्दा पहिलो हाफ भनेजस्तो खेल्न नसके पनि दोश्रो हाफमा आफूले सम्झाएर पठाएपछि खेल सुधारिदा जित हात परेको उनको भनाई छ ।

पराजित संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले रेडकार्ड नै खेलको टर्निङ प्वाईन्ट भएको र सोही कारण हार्नुपरेको बताए । रेफ्रीको निर्णयप्रति असन्तुष्ट उनले विहीबारको खेल ११ भर्सेज १४ भएको बताए । रेफ्री र सहायक रेफ्री दुबैजना गरी तीनै जना रेफ्री मनाङका खेलाडी भएर प्रस्तुत भएको आरोप लगाउँदै उनले हारको मुख्य कारण नै रेफ्री भएको बताए ।

बिहीबारको खेलमा मनाङका रोहित चन्द म्यान अफ दी म्याच भए ।

प्रतियोगिता अन्तर्गत अब उपाधिका लागि मनाङमर्स्याङ्दी र आयोजक सहारा क्लब आमनेसामने हुनेछन् । खेल शनिबार दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment