Comments Add Comment

‘मह (जस्तै)’ जोडी

maha-jodi

छुकछुक गरिरहने उनको बानी । छिनछिनमा मोबाइल हेरिरहन्थे । घरी उट्पट्याङ बोल्थे, घरी के-के गुनगुनाउँथे, घरी छेउछाउमा कोही मान्छे भए जिस्किइ पनि रहन्थे ।

मोबाइलमा यसै के-के चलाएर दाहिने खुट्टा हल्लाउँदै बि्रक्स क्याफेको मेचमा बसिरहेका थिए । बसिरहेका मात्रै थिएनन् । उठ्दै भित्र-बाहिर पनि गरिरहेका थिए । आँखा एकदमै चञ्चल थिए ।

लाग्छ, हरिवंश आचार्य ६० छेउछाउका अधबैंसे होइनन् । पाँच वर्षका चञ्चले बालक हुन्

‘सर, हजुरको जुत्ताको तुना फुस्किएको रैछ । लड्नुहोला कि… ।’ अप्ठयारो मानीमानी हरिवंशतिर हेरेर वेटर मुस्कुराए । हरिवंशले जुत्ताको तुना कँस्दै धन्यवादको शैलीमा मुन्टो हल्लाए । र, रुघाग्रस्त टोनमा वेटरलाई भने, ‘भकभकी उम्लिएर ऐया भनेको पानी ल्याइदिनु न भाइ ।’ एकै छिनमा हाम्रो टेबलअघि दुई गिलास तातो पानी आयो ।

***

टुकुटुकु हिँड्दै केही बेरमा अर्का एक जना आए । कालो कोटको खल्तीमा हात छिराउँदै आएर हामीछेउ उभिए । तिलचामले कपाल यस्सो कोरेझैं गरेर हरिवंशको अपोजिट बसे । दुवैले एकअर्कालाई हेरेर मुस्कुराए । ग्रिटिङ्सको यही तरिका हो सायद दुवैको ।

उनको आँखामुनिको छाला गुजुमुज्ज परेको छ । आँखा चञ्चल छैनन् । कत्ति पनि । हत्केला, घाँटी र अनुहारवरिपरि बुढेसकालले ल्याप्चे लगाउन थालिसकेको थियो । लाग्छ, उनको जीवनका असंख्य अनुभूति त्यही हजार मुजाहरूभित्रभित्र टाँसिएर रहेका छन् । गहिरा आँखाले बताउँथे उनीभित्र केही गम्भीर चिन्ता थिए । भद्र स्वभावले चाहिँ त्यो चिन्ता बाहिर देखिन दिएको थिएन ।

हरिवंशजस्तो छुकछुके उनी पटक्कै छैनन् । ६५ नाघिसकेका मदनकृष्ण श्रेष्ठलाई पार्किन्सन र प्यारी श्रीमतीलाई क्यान्सर लागेको छ तर, यो अघोर पीडाका बाबजुद उनी धरतीझैं लाग्छन् ! कस्तो होला त्यो क्षण जुन बेला उनी पार्किन्सनले च्यापेर हस्पिल लाइज्ड हुँदा क्यान्सरले अँठिएकी श्रीमती जाउलो लिएर उनलाई खुवाइदिन हस्पिटल-घर दौडधुप गरेकी थिइन् ?

जीवन त यस्तै-यस्तै अजिबको लाग्छ उनलाई । जतिसुकै पीडाको शूल शरीरभरि रोपिए पनि मदन सौम्य र अविचलित छन् । उनले बुझेका पनि छन्, इफ यू लाफ् एभि्रबडी लाफ्स विद यू । इफ यू ह्याभ टु क्राई, यू ह्याभ टु डु इट अलोन ! संसार निर्मोही छ !

***

त्यो बेला मदनकृष्णलाई धेरैले चिन्थे । उनी गीत पनि गाउँथे, अभिनय पनि गर्थे । चिन्न त हरिवंशलाई पनि चिन्थे मानिसले । यद्यपि, उनी स्ट्रगल नै गरिरहेका थिए । प्रहसनहरूमा भाग लिएर केही स्वर्ण पदक जरुर पाइसकेका थिए ।

दुवै जना आआफ्नै गच्छेअनुसार रंगकर्ममा थिए । देखादेख पनि भइसकेको थियो । किनभने, काम गर्ने क्षेत्र त एउटै थियो । त्यसैले एक किसिमले एकअर्काका प्रतिद्वन्द्वी नै थिए । जे होस्, दुवैको जीवन ठेलागाडा थियो ।

२०३७ साल ।

त्यस बेला राजारानी आएका थिए सभाहलमा नाटक हेर्न । व्यवस्था असजिलो थियो । त्यसैले कार्यक्रम चाँडोचाँडो सक्याउने अर्जेन्सी पनि । छुट्टाछुट्टै प्रहसन लिएर राजारानीका अघि प्रस्तुत गर्ने तयारीसाथ लागेका थिए दुवै । तर, मीठो संयोग ! दुइटा छुट्टाछुट्टै नाटक एउटै मालामा उनेर प्रस्तुत भयो । सो हेरेर राजारानी मुस्कुराउनु भनेको काम हिट हुनुको संकेत थियो ।

बस् ! त्यही एउटा संयोग ! हरिवंश/मदनकृष्ण जीवनभर एक भए । एउटै मालामा गाँसिए । केही घटना केवल संयोग मात्रै हुँदैनन् । समयको विशेष सिर्जना पनि हुन सक्छन् । त्यसलाई हामी म्याचफिक्सिङ भनूँ ? !

हो ! हरि र मदनको त्यो संयुक्त प्रस्तुति समयले गराइदिएको सुन्दर म्याचफिक्सिङ थियो ।

***

अहिले ३६ वर्षलाई रिवाइन्ड गरेर हेर्छन् महजोडीले मनमनै । खुब रोमाञ्चित हुन्छन् । यतिका लामो समयसम्म अनवरत यात्रामा रमाइरहेका छन् यी महान् कलाकार ।

देशमा हरेक क्षेत्रमा सहकर्म नभएर भद्रगोल भइरहँदा यो जोडी त्यसको जीवन्त उदाहरण बनेको छ । उदाहरण बन्नु पक्कै सहज हुँदैन । एकदमै असहज पनि त हुँदैन नि, यी जोडीलाई देख्दा त्यस्तै लाग्छ ।

एउटै घरभित्रका सहोदर दाजुभाइ, दिदीबहिनी वा जोकोही पारिवारिक सदस्यबीच बेमेल हुन सक्छ, कुरा नमिलेर भद्रगोल हुन सक्छ । तर, फरक सांस्कृतिक पृष्ठभूमिका यी दुईको जबर्जस्त जोडी जोकोहीका लागि ईर्ष्या लाग्दो छ ।

सबैथोक देख्दा लाग्छ समयले यिनीहरूलाई मिल्नै भनेर एउटै समयमा धरतीमा पठाएको हो । जरुर हो !

***

समय, भाग्य र आआफ्नो विशेषता । यो तीनमध्ये के थियो जसले यी दुईलाई सहयात्री बनाइदियो ?

गीत गाउन, कविता लेख्न मान्छे एक्लैले सक्छ । ड्रामालाई दुई जना मान्छे चाहिन्छ । एक्लै त गर्न सकिन्छ । तर, त्योचाहिँ एक्लैले गाडा तान्दा र दुई जनाले गाडा तान्दाको झैं फरक हुन्छ । खास, कुरो यही थियो यिनीहरूलाई जोड्ने ।

नदेखिएको एउटा कुनै ‘दृश्य’, जसलाई हरिवंशले भाग्य पनि भन्छन्, त्यही कुराले आफूहरूको भेट गराएको जस्तो लाग्छ दुवैलाई । अझ भन्दा, त्यो बेलाको समय पनि त्यस्तै । आफूहरूको क्षमता पनि अपार । सबैथोकमा रहेको अदृश्य कुनै कुराले यिनीहरूको भेट गरायो । कहाँकहाँबाट दुईलाई तानेर ल्यायो र जोडिदियो । हरिवंश, हरिवंश मात्रै थिए र मदनकृष्ण पनि मदनकृष्ण मात्रै ।

त्यसपछि यिनीहरू ‘म’ बाट ‘हामी’ भए । राजाराम पौडेलले कुनै एउटा औपचारिक कार्यक्रममा दुइटैको नामबाट एकुन्टा अक्षर झिके ‘म’, ‘ह’ । दुवैलाई जोडे । बन्यो– ‘मह’ ।

‘मह’ लाई उल्ट्याउ ! ‘हम’ बन्छ । हम अर्थात् हामी । तर, त्यो ‘म’ को अगाडि ‘अ’ थपिएर अहम् कहिल्यै नबनोस् । बनेन ।

***

‘हरिवंश भर्सेटाइल छ । यो स्विकार्न मलाई कुनै प्रब्लम छैन ।’ मदन मुस्कुराइरहँदा हरि फ्याट्ट कुरा काट्छन्, ‘गाई भर्सेटाइल कि भैंसी ? हँ सिपी भाइ ? गैंडा भर्सेटाइल कि हात्ती ? गोरु कि गँड्यौला ?’ दुवैले मनको कता हो कता लुकेर बसिरहने अहंलाई जिते, हरिले मदनको अभिभावकत्व स्वीकारे, एकअर्काको भर्सेटायलिटीलाई स्विकारे अनि पो जम्यो त जोडी ! नत्र यस्तो हुँदैनथ्यो ।

कस्तो हुन्थ्यो त ?

हरिसँग चिनजान हुनुअगाडि एक्लै भए पनि अघि त जीवन बढिरहेको थियो । चलिरहेकै थियो । तर, हरिलाई भेटेपछिको रौनक बेग्लै भयो । ढुंगाको भर माटो । माटोको भर ढुंगा । हरिलाई नभेटेको भए काम गराइ नरमाइलो हुन्थ्यो कि ? त्यस्तै लाग्छ मदनलाई ।

हरि पनि मदनलाई भेट्नुअघि आफ्नै तालमा काम गर्दै थिए । केही गोल्ड मेडल पनि जितेका त थिए । तर, मदनलाई भेटेपछि वान मेन सोबाट टु मेन सो भयो कर्म । दुइटाको ब्रेन लगानी भयो । एउटा गोरुले गाडा तान्नु र दुइटाले तान्नुमा फरक त जरुर भयो । उन्नति भयो । जीवन बडो शानदार हुँदै गयो ।

दुइटाले प्राप्त गरेका अनमोल कुराहरू साह्रै लोभलाग्दा छन् । ‘एक जना मात्रै लुखुरलुखुर हिँडिरहेको भए हामीले ‘मह’ बाट पाएको कलाकारिता यस्तो भव्य कहाँ हुन्थ्यो र !’ दुवैलाई यस्तै लाग्छ ।

***

रापिलो घाममा बसेर गफ गरिरहेका थियौं । हरि छुकछुक पनि गर्थे, गफ पनि गर्थे । मदनचाहिँ भद्र पारामा उपस्थित थिए । त्यही बेला क्याफेको मूल ढोकाबाट कोही बाहिरियो । हरिवंशले चञ्चल आँखा उतै लगे ।

एक अधबैंसेले ‘मह’ तिर हात हल्लाए । हरितिर आएर के-के बोल्न थाले । मदन चुपचापै थिए । हरिचाहिँ ती अधबैंसेसित फरर नेवारीमा पो कुरा गर्न थाले ।

केबारे थियो वार्तालाप, थाहा भएन । तर पनि, बडो मजा लाग्यो । भाषाको चमत्कारै यही हो सायद । भाषा एउटा संगीत पनि हो कि जुन नबुझे पनि सुललित लाग्ने । हरिले ती मानिससँग फररर नेवारीमा वार्ता गरेको सुन्दा मलाई पनि आनन्द आयो ।

हरिलाई सोध्न थालेँ, ‘के गफ गर्नुभयो ?’

‘यसो सन्चो-विसन्चो सोध्छन् मान्छेहरू ।’

‘नेवारी जान्नुभाछ ?’

उत्तर दिन मदन तम्सिए, ‘हरिलाई पर्फेक्ट नेवारी आउँछ ।’

कसरी त ?

नक्सालमा उनका नेवार साथीहरू थिए । मुख छोड्ने शब्दहरू तिनै साथीबाट सिके । बाँकी धेरै कुरा मदनबाट ।

नेवारी नाटक खेल्न हरिलाई उक्साउने पनि मदन नै हुन् । काठमाडौंमा बसेको बाहुन नेवारी नाटक खेल्दा नेवार समुदायमाझ बडो सम्मान र प्रेम बढ्छ भनेर मदनले भनेपछि हरि पनि अघि सरे । केही समयको प्रयासपछि त हरि त कोहीसँग आधा घण्टासम्म नेवारीमै फोनमा कुरा गरिरहेको देख्दा मदन त ट्वाँ !

सहकर्मको सबैभन्दा सुन्दर पक्ष यो पनि हो । हरिवंश ब्राह्मण परिवारमा जन्मे हुर्के । मदनको साथ हुँदा नेवारी जाने । कोही-कोही त झुक्किएर ‘मदनवंश आचार्य’, ‘हरिकृष्ण श्रेष्ठ’ भनी बोलाइदिन्छन् पनि । यो सुन्दा दुवैलाई बेग्लै खालको आनन्द लाग्छ ।

खैर, ब्राह्मण र नेवारको सांस्कृतिक खुराक बडो मज्जाले चाखिरहेकै छन् दर्शक । केही नाटकहरूमा पनि मदनचाहिँ ब्राह्मण बनेका देखिन्छन् भने हरिचाहिँ नेवार ।

***

कुनै-कुनै नाता रगतकै हुनु पर्दैन । आत्मीयताको नाता नै काफी हुन्छ । ‘मह’ को नाता त रगतको होइन, पक्कै । तर, रगतको नाताभन्दा बेग्लै, अर्कै छ यिनीहरूको पारिवारिक नाता । आफ्नो सम्बन्धबारे ‘मह’ जति कन्सस छ त्योभन्दा ज्यादा कन्सस परिवारका सदस्य छन् । दुईको सम्बन्धको मियो बलियो बनाउन परिवारको भूमिका नेपथ्यमा छ, सुन्दर छ । गजबको छ । हरि ठान्छन्, यो जोडीबीच वैमनस्य पैदा गराइदिने काम गर्नै हुँदैन भन्ने कुरामा पारिवारिक सदस्य एकदमै सचेत छन् । दुईको संगतमा अलिकति पनि दरार आए राष्ट्रको सिंगो कलाकारितालाई नै असर गर्नेमा उनीहरू सचेत छन् ।

हरिवंशका छोराहरूले मदनलाई ठूलोबुवा भन्छन् र मदनका छोराछोरीले हरिलाई अंकल । दसैंमा टीका लगाउन मदनकहाँ हरिको परिवार जान्छ । नेवारी र बाहुन/क्षत्रीको खान्की मदनकोमा पाक्छ । बडो अचम्मको तर चाखलाग्दो दृश्य देख्न पाइन्छ त्यो बेला ।

***

सिनेमामा, कथामा, नाटकमा कथा सुरु हुन्छ । पात्रबीचको सम्बन्ध अघि बढ्छ । घम्साघम्सी हुन्छ दुईबीच । ‘मह’ मा पनि त्यो बेला आयो जुन बेला यिनीहरूको करिअर पिकमा थियो । दुवै योङ थिए । जोशिला थिए । त्यसैले एक्लै काम गर्ने पनि जोश आयो । गल्ती त्यहीँनिर भइदियो ।

हरिवंश कस्सिए, एक्लै फिल्म बनाउन । काम अघि बढिसकेपछि मदनको नाम (मात्रै) राख्न आग्रह गरे । मदनले मानेनन् । मनमा त उनको पनि कुरा खेलेको थियो होला । दुखेको थियो होला । तर, प्रकट गरिहालेनन् । हरिलाई त्यसो गर्न मन लाग्यो होला, गरेजस्तो ठाने । चित्त बेस्करी दुखाएनन् । एक्लै नगरे हुन्थ्यो, एउटा गर्‍यो अर्को नगरे हुन्थ्योजस्तो पनि लागेको थियो रे । फेरि अर्को, फेरि अर्को गरे । राति कोल्टे फेर्दा उनले हरिकै बारेमा सोच्थे । दुःखी त अवश्य भए । तर, बेचैन भएनन् । स्वभावले भद्र उनी । पर्खेर बसे ।

उता हरिवंश अघि बढिरहे । फिल्म बनाउने लहर थियो त्यो बेला । हरिलाई पनि फिल्म बनाउन रहर लाग्यो । फिल्म लेखे, अभिनय गरे । बन्यो फिल्म । मदन पनि एक्लै हिँड्ने बाटो खन्न थाले । ‘नगद पाँच लाख’ पनि एक्लै चलाए । एकाध फिल्म हरिबिना खेले ।

प्यारा दर्शकले त दुवैलाई खुब मिस गरेकै थिए । हरिको फिल्ममा मदन । र, मदनको काममा हरि । खुब मिस हुन्थे दुवै । मानिसबीच व्यापक हल्ला भयो । लौ !  ‘मह’ छुट्टएि ! कोही साह्रै खुसी भए । कोही दुःखी भएर मन निचोरियो पनि । खुसी हुनेमा ‘मह’ को प्रगति देख्न नचाहने आसोपासे थिए । दुःखी हुनेमा पक्कै पनि, सम्पूर्ण नेपाली थिए ।

सँगै उठ्दाबस्दा खुट्टा त जसको पनि लागिहाल्छ । यिनीहरूको जीवनमा पनि त्यस्तो भइ त गयो । आफूहरूले अभिनय गर्ने सिनेमा वा नाटकमा अनिवार्य रूपमा आउने क्लाइमेक्स यिनीहरूको जीवनमै आयो । दुईबीच खटपट पनि भइ त गयो ।

तर, त्यो धेरै बेर टिकेन ।

दुवै जना मान्छे हुन् । भावना हुन्छ नै । मनभित्र रहने अहम् नाम गरेको छुच्चो पशु सायद यी दुई महान् कलाकारमा पनि थियो । करिअरको पिकमा दुवैले आआफ्नो सुर कँस्नुको कारण सायद, दुवैको त्यही अहम् हुन सक्थ्यो । आफ्नो प्रतिभाबारे अल्लि बढी घमण्ड पनि थियो कि ! वा अन्य केही पनि हुँदो हो ।

खैर, त्यसको रियलाइजेसन दुवैलाई भयो । मन फेरि जोडियो । एकअर्कालाई जितेर आफूभित्रको अहम्लाई हराए । र त, दुवैले दुवैलाई जिते । एकले अर्कोलाई जित्छु भनेर लागेको भए दुवै हार्थे नि !

अनि त फेरि, एउटै हलमा दुवै जना नारिए । जीवनमा सुनौलो इन्द्रधनुष आइहाल्यो !

***

‘मह’ जोडीका काममा राजनीतिक सन्देश बहुत पावरफुल हुन्छन् ।

‘बोसे आन्द्राइ भुँडीको’ नामक प्रहसनमा हरिवंश रसियन बनेका छन् । खुब व्यंग्य हान्छन् नेपालको कम्युनिस्ट संस्कारलाई । नेपालको भौगोलिक परिस्थिति हेर्दा नेपालमा कोही पनि कट्टर कम्युनिस्ट हुनै नसक्ने लाग्छ हरिलाई । किनभने, ‘हाम्रो देशको लोकेसनै त्यही छ । कसैले कम्युनिस्ट हुँ भन्नै पर्दैन,’ हरि भन्छन्, ‘बाहुन हुँ भन्ने अनि चिकन खाने भनेझैं क्या ।’ तर, यसलाई मदन सच्याउँछन्, ‘होइन होइन, बाहुन हुँ भन्ने अनि छोइला खाने ।’ हा हा हा !

यतिका वर्ष काम गरिरहँदा केही विमति आए दुवैले एकअर्कालाई मज्जाले कमेन्ट गर्छन्, यो भएन, त्यो यसरी गर्न पर्छ भन्छन् । दिलबाटै गरेको कमेन्ट लागू भइहाल्छ ।

लोकतान्त्रिक विचारधाराका पक्षपाती दुवै जना कुनै बेला नेताहरूका पि्रय कलाकार पनि थिए । कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, बीपी कोइरालाहरू यिनका फेबरेट पोलिटिसियन हुन् । कृष्णप्रसाद भट्टराईका पनि पि्रय थिए यिनीहरू । जो पि्रय थिए, जसका यिनीहरू पनि प्रिय थिए उनैलाई व्यंग्य गर्दै उनैको क्यारिकेचर गर्दै ‘नेपाल बन्द’ प्रहसन गरे । त्यो खुब हिट भयो ।

***

खास व्यक्ति खास समयले आफैं जानेर जन्माइदिन्छ, सायद । इतिहासमा उल्लेखनीय श्रद्धा कमाएका केही व्यक्ति उदाहरण त छँदै छन् । ‘मह’ पनि हुन् । यिनीहरू नेपालको कलाकारिताका लागि यस्ता प्रतिभा हुन् जसलाई समयले ठीक बेलामा धरतीमा पठाइदिएको थियो ।

दुवैलाई पनि के लाग्छ भने, यिनीहरूले काम गरेको समय गजबको थियो । पञ्चायतको बेलामा गर्ने गरेको व्यंग्य अहिले गरेर के काम ? टाइमिङ बडो गजब भइदियो अनि जे गरे पनि हिट !

नेपालीहरू विदेश जाँदा गुन्द्रुक मस्यौराको पोकोमा ‘मह’ का प्रहसनका अडियो क्यासेट पनि एक्सपोर्ट हुन्थे । अडियो क्यासेट लाखौं प्रति बेचेरै घरजग्गा जोड्न सक्ने कलाकारमध्ये अग्रपंक्तिमा यिनै पर्छन् ।

***

कलाकारितामा आफ्ना सन्तानलाई पनि अघि लगाउने प्रवृत्ति त बलिउडमा व्यापक छ । हामीकहाँ त्यत्तिको छैन । मदनले जीवनभर कलाकारिता गरे । अहिले उनलाई लाग्छ उनका छोराले पनि यसैलाई अघि बढाए हुन्थ्यो नि । हरि पनि त्यसै भन्छन्, ‘मोहितले राम्रो एक्टिङ गर्छ, गीत गाउँछ ।’ उनको पनि मन त छ, छोराले पनि कलाकारिता गरोस् । तर, जीवन अधकल्चोचाहिँ नहोस् भन्ने कामना पनि छ ।

‘तर, रामचन्द्र भगवान्जत्तिको पपुलर उनका छोरा भएनन्, बुद्धजत्तिको पपुलर उनका छोरा पनि भएनन् । तर, शिव भगवान्का सन्तानचाहिँ पपुलरै छन् नि !’ मदनकृष्ण ठट्टा गर्छन् । हरिवंश सही थाप्छन् । के थाहा, उनीहरूका सन्तानले पनि यही पेसा रोजे बाहरूभन्दा हिट हुन्छन् कि ? वा नहुन पनि सक्छन् ।

आफ्नो प्रतिभाले दुनियाँ हँसाएका हरिवंश जीवनमा कति रोएका थिए, उनको आत्मकथाले बताइसक्यो । अब पालो मदनकृष्णको आइरहेको छ, उनी जीवनमा कति रोए, कति हाँसे र हँसाए ती सबै कुरा आउनै लागेको आत्मकथामा पक्कै होला ।

***

एक र एक जोड्दा दुई पनि बन्छ, ११ पनि बन्छ !

हरिवंश र मदनकृष्णको जीवनमा एक र एक जोड्दा ११ बन्यो, दुई होइन ।

(पोखरामा शुक्रबारबाट सुरू भएको नेपाल साहित्य महोत्सव २०१७ का लागि फाइन प्रिन्टले प्रकाशन गरेको  ‘हर्पन’ विशेषबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment