Comments Add Comment

विमर्शको राप छाड्दै सकियो साहित्य महोत्सव

१७ माघ, पोखरा । फेवाताल किनारमा शुक्रबार सिमसिमे झरीबीच उद्घाटन हुँदै चार दिनसम्म चलेको नेपाल साहित्य महोत्सव सोमबार सकिएको छ ।

पार्दीस्थित नेपाल पर्यटन बोर्ड परिसरमा बुकवर्म फाउन्डेसनको आयोजना तथा र्‍याण्डम रिडर्स सोसाइटीको सह-आयोजनामा भएको महोत्सवमा तीन दर्जनभन्दा बढी सत्रमा राजनीति, विकास, संस्कृति, उद्यमशीलता, साहित्यदेखि संगीतसम्मका विषयमा रापिला बहस भए ।

अन्तिम दिनको कार्यक्रममा साढे तीन दशकदेखि सफल सहयात्रा गरिरहेका कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रस्तुति विशेष रह्यो । पत्रकार गुणराज लुइँटेल सहजकर्ता रहेको सत्रमा मह जोडीले कलाकारिता यात्राको सुरुवाती दिन सम्झँदै आफूहरुको सफल साझेदारी हुनुमा एक-अर्काप्रति आदर, प्रेम र इमानदारी नै आधार रहेको उल्लेख गरे ।

चौरको अर्को सत्रमा लेखकहरु बुद्धिसागर र अमर न्यौपानेले रुन्चे साहित्यको विषयमा साहित्यकार राजेन्द्र पराजुलीसँग वार्ता गर्दै सिर्जनामा आँसुको व्यापारबारे आफ्नो राय सुनाए ।

यसपछि ‘एन्टी सोसल मिडिया’ विषयक सत्रमा युवा लेखक ऋचा भट्टराईले इन्टरनेटको सामाजिक सञ्जालको शक्ति, सीमा र चुनौतीबारे भुटानी पत्रकार नाम्गे जाम, लेखक सुबिन भट्टराई र चिकित्सक तथा अभियन्ता जीवन क्षत्रीको अनुभव खोतलिन् ।

अर्को सत्रमा लेखक नारायण ढकाल तथा कविहरु सरिता तिवारी र भूपाल राईले साहित्यमा आवश्यक समयचेत र समयबोधबारे टीकाटिप्पणी गरे ।

बहुप्रतिक्षित अर्को सत्रमा सरकार र सरकारी निकायमा सर्वत्र निराशा र अँध्यारो रहिरहेको अवस्थामा सम्भावना बनेर देखिएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ र स्वास्थ्य मन्त्री गगन थापाले आफूले गरेका प्रयास र त्यसको अनुभव बाँडे । त्यसपछिको सत्रमा जनवादी गायक रामेशले सबैलाई देश निर्माणका लागि आफ्नो तर्फबाट प्रयास गर्न आग्रह गर्दै गीतमार्फत पनि गाउँ र बस्तीबाट उठ्न आह्वान गरे ।

हलको कार्यक्रममा सञ्चारकर्मी समृद्धि राईले भारतीय लेखक दुर्जोय दत्तसँग जीवनमा प्रेमको महत्वबारे कुराकानी गरिन् ।

यसपछि बागी विचार, साहित्य र जीवनबारे खगेन्द्र संग्रौला, राजन मुकारुङ र सरस्वती प्रतिक्षाले विचार राखे ।

हलको अन्तिम सत्रमा जीवन धान्न अपनाइने पेसा लेखकहरुको लागि बाधा बन्छ वा लेखनको खुराक भन्ने विषयमा नयनराज पाण्डे, रविन्द्र समीर र रामलाल जोशीले आफ्नो अनुभव सुनाए ।

महोत्सवको मैजारो सत्रको रुपमा रहेको कविता वाचनमा भूपिन, कुमार नगरकोटी, राजन मुकारुङ, निभा शाह, सरिता तिवारी, नवराज पराजुली लगायत १० कविले कविता सुनाए ।

फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले अर्को वर्ष पनि पोखरामै यस्तै उत्साहका साथ महोत्सव गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment