Comments Add Comment

चुनावमा ८० लिटरका मतपेटिका ! आयोग भन्छ- भोटिङ मेसिन छैन, मतपत्रमै निर्वाचन हुन्छ

१० फागुन, काठमाडौं । आगामी बैसाख ३१ मा हुने स्थानीय चुनावमा ८० लिटरका ब्यालेट बक्स (मतपेटिका) चाहिने निर्वाचन आयोगले बताएको छ । यस्ता ठूलो साइजका मतपेटिका करिब २५ हजारको संख्यामा चाहिने भएको छ ।

आगामी चुनाव भोटिङ मेसिनबाट नभएर मतपत्रबाटै हुने पनि आयोगले स्पष्ट पारेको छ । तर, मतपत्र छाप्न जनक शिक्षा सामाग्री केन्द्रले मात्रै नभ्याउने आयोगको भनाइ छ ।

ठूलो साइजका पारदर्शी मतपेटिकाहरु विदेशबाटै ल्याउनुपर्ने आयोगको भनाइ छ । विगतको संविधानसभा चुनावमा पनि प्लाष्टिकका पारदर्शी मतपेटिका प्रयोग गरिएको थियो, तर ती मतपेटिका स्थानीय चुनावमा सानो हुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको भनाइ छ ।

‘ब्यालेट बक्स अन्यत्रबाटै ल्याउनुपर्छ’ प्रमुख आयुक्त अयोधीप्रसाद यादवले मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा भने- ‘८० लिटरका २५ हजार थान प्लाष्टिकका पारदर्शी बक्स चाहिन्छ ।’

मतपत्रमै चुनाव हुने, जनक शिक्षाले मात्रै छाप्न नसक्ने

प्रमुख निर्वाचन आयुक्त यादवले आगामी चुनावमा भोटिङ मेसिनको प्रयोग सम्भव नभएको जानकारी दिएका छन् । विद्युतीय भोटिङ मेसिन सम्भव नभएको बताउँदै यादवले भने- ‘अब मतपत्रमै चुनाव हुन्छ ।’

नेपालमा भोटिङ मेसिनको उत्पादन नभएको र विदेशबाट झकाउन तत्काल सम्भव नभएको यादवले जानकारी दिए ।

तर, मतपत्रमै चुनाव गर्नुपर्ने भए पनि जनक शिक्षा सामाग्री केन्द्रले मात्रै मतपत्र छाप्न नसक्ने प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ छ । मतपत्र छपाइका लागि विकल्प खोज्ने तयारी भइरहेको उनले जानकारी दिए ।

मतपत्रका साथै मतदाता शिक्षा कार्यक्रम अन्तरगत बुकलेट र ब्रोशरहरु पनि छपाउनुपर्ने यादवको भनाइ छ ।

प्रमुख आयुक्त यादवका अनुसार अहिलेको चुनावमा करिब २१ हजार मतदान केन्द्रहरु रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment