२२ फेब्रुअरी, सिड्नी । समुद्री तटहरुमा अपनाउनुपर्ने सुरक्षाबारे अष्ट्रेलियाको एक शैक्षिक संस्थाले नेपाली विद्यार्थीहरुलाई अभिमुखीकरण तालिम दिएको छ ।
समुद्री तटमा नेपाली विद्यार्थीहरुको डुबेर मृत्यु हुन थालेपछि हाम्रो इन्सटिच्युट अफ विजनेश टेक्नोलोजीले अष्ट्रेलियाको बोण्डाई बीचमा नेपाली विद्यार्थीहरुलाई बुधबारबाट सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम दिन सुरु गरेको हो ।
हाम्रो इन्सटिच्युट अफ विजनेश टेक्नोलोजीका सीईओ दीपक खनालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बोण्डाई सर्फ बाथर्स लाइफ सेभिङ क्लबका व्यवसायीक पौडी निरीक्षकहरु करिब ४० जना विद्यार्थीहरुलाई तालिम दिन खटिएका छन् । बुधबार ली ट्रिविलकले तालिम दिएकी छन् ।
विद्यार्थीहरुले यो तालिम आफ्ना लागि निकै उपयोगी, नयाँ र महात्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
हाम्रो इन्सटिच्युट अफ विजनेश टेक्नोलोजीका सीईओ दीपक खनालले पछिल्ला दिनहरुमा ओभरसिजबाट आउने विद्यार्थीहरुमा समुद्रको बारेमा ज्ञान नहुँदा दुर्घटना भएकाले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
प्रशिक्षक लीले अनलाइनखबरसँग भनिन्, ‘मेरो यो दशकको लाइफगार्ड पेशामा यस्तो पहिलो प्रशिक्षण हो । म भूपरिवेष्ठित देशका मानिसहरुसँग समुद्रमा सुरक्षा सम्बन्धी छलफल गर्न पाउँदा खुसी छु ।’
के-के छ प्रशिक्षणको विषयवस्तु ?
जम्मा आठवटा बुँदामा समेटिएको उक्त अभिमुखीकरण तालिममा अष्ट्रेलियाको पौडी तथा जल मनोरञ्जनको सँस्कृतिबारे पहिलो कक्षा हुनेछ ।
दोस्रो कक्षामा खुला जलस्थानहरु बीच, नदीहरु, तालहरु र लगुनहरुको परिचय दिइने छ ।
तेस्रो कक्षा निकै महत्वको हुने छ जसमा बीच साइडमा सुरक्षा सम्बन्धी जानकारी दिइने छ । बीचमा के-के खतराहरु हुन्छन्, कहिले र कहाँ पौडी खेल्ने र नखेल्ने भन्नेबारे विस्तृत जानकारी यो सेशनमा हुनेछ ।
चौथो शीर्षक समुद्रको छाल र करेन्टबारे हुने छ । किन बीचहरु खतरनाक हुनसक्छन् र लुकेको खतरा के हुनसक्छ भन्नेबारे विस्तृत ज्ञान दिइने छ ।
पाँचौ कक्षा रमाइलो हुनेछ । पानीमा कसरी सुरक्षितसाथ रमाउने भन्ने कुरा पाँचौ शीर्षकमा छ ।
यस्तै छैठौंमा जीबन रक्षकहरुको भूमिकाबारे छ । सातौंमा यदी आफै वा कोही पानीमा फसिहालेमा के गर्ने भन्ने जानकारीमा आधारित छ ।
अन्तिम कक्षामा विद्यार्थीहरु फुर्सदिला भएमा पौडी तथा पानीमा सुरक्षाबारे अरु धेरै जानकारी लिन सकिने ठाउँ तथा तरिकाबारे हुनेछ ।
गत फेब्रुअरी १३ को राति सिड्नीको मरुब्रा समुद्री किनारमा दुई नेपाली विद्यार्थीहरुको निधन भएको थियो । उक्त घटनापछि शैक्षिक संस्थामात्र होइन क्यानवेरास्थित नेपाली दूतावास र एनआरएन अष्ट्रेलियाले समेत यहाँका नेपाली समुदायमा समुद्रमा अपनाउनुपर्ने सुरक्षा सम्बन्धी अभियान चलाउनुपर्ने निष्कर्षमा पुगेको छ ।
कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले अनलाइनखबरसँग भने, ‘आगामी वर्षको वर्षायाम सुरु नहुँदै हामी अभियान थाल्ने छौं ।’
एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले नेपाली विद्यार्थीहरुलाई समुद्र किनारमा सुरक्षित हुने उपायबारे जानकारी दिन सूचनामुलक कार्यक्रम निर्माण गर्ने र बुकलेट प्रकाशित गरेर वितरण गर्ने तयारी गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया 4