Comments Add Comment

कुलमानको करामतः हिउँदमा पनि बर्षाकै बराबर बिजुली, राजस्व ह्वात्तै बढ्यो

वर्षायाम जस्तै हिँउदमा पनि पर्याप्त राजस्व संकलन

१३ फागुन, काठमाडौं । गत भदौमा प्रशस्त बर्षा भएका कारण बिजुलीको उत्पादन सबैभन्दा उच्च बिन्दूमा थियो । त्यो महिना नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई ३९ करोड ९६ लाख युनिट बिजुली बेच्यो । असोजको सुरुवातमा प्राधिकरणमा कुलमान घिसिङ नेतृत्वमा आए ।

कुलमानले लोडसेडिङ त हटाए नै, पुसमा पनि उनले बर्षायाम बेचिएको बराबर नै बिजुली उपभोक्ता माझ पुर्‍याए । यसरी बिजुलीको राजस्व बढाएर कुलमानले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने पथमा उन्मूख गराएका छन् ।

पुसमा प्राधिकरणले ३९ करोड २३ लाख युनिट बिजुली ग्राहकसमक्ष पुर्‍याएको देखिन्छ, जुन वर्षकै अधिकतम् बिजुली उत्पादन हुने भदौ महिनाको भन्दा थोरै मात्रै कम हो ।

गत वर्षहरुमा हिउँद सुरु भएपछि यति धेरै बिजुली ग्राहककोमा पुग्दैनथ्यो । यो वर्ष भने कुलमानले कसैगरी बिजुलीको खपतलाई धेरै ओराले लाग्नै दिएनन् ।

घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि सबै ठाउँमा लोडसेडिङ घट्यो । काठमाडौंसहित पोखरा र चितवनमा पनि लोडसेडिङ अन्त्यको घोषणा नै भइसक्यो ।

कुलमान नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनेपछि स्पष्ट रुपमा देखिने गरी धेरै कामहरु गरे । तर, उनले गरेका राम्रा काम सबै पर्दा बाहिरमात्रै छैनन् । उनले प्राधिकरणभित्र पनि सुधारका धेरै प्रयासहरु गरेका छन् ।

कुलमानको प्रयासबाट नै प्राधिकरणको वित्तीय अवस्था पनि ह्वात्तै उकालो लागेको छ । कुलमानले लोडसेडिङ हटाउन गरेको बिजुलीको कुशल व्यवस्थापनले प्राधिकरणको आर्थिक अवस्था उकालो लागेको हो ।

पुससम्म २१ अर्ब राजश्व

चालु आर्थिवर्षको साउनदेखि पुससम्मको प्राधिकरणको राजश्व हेर्ने हो गत वर्षको सोही अवधिको भन्दा निकै उच्च देखिन्छ । प्राधिकरणले २१ अर्ब ३० करोड रुपैयाँ बराबर महसुल उठाएको छ । गत वर्ष यो समयमा राजस्व उठ्ने दर योभन्दा निकै न्यून थियो ।

यो वर्ष प्राधिकरणले पुससम्म कुल बेचिएको बिजुलीमा झण्डै ९७ प्रशित महशुल समयमै उठाएको छ । प्राधिकरणले पुससम्म २२ अर्ब ३१ करेड रुपैयाँ बराबरको बिजुली बेचेको थियो ।

प्राधिकरणले पुससम्म गतवर्षको भन्दा धेरै रकमको बिजुली बेचेको छ भने राजश्व पनि गतवर्षको पुससम्मभन्दा बढी उठाएको छ ।

राजश्व धेरै उठ्नुको कारण हो, प्राधिकरणले धेरै परिमाणमा बिजुली बेच्नु । गत वर्षहरुमा लोडसेडिङ गराएर बिजुलीको खपत न्यून गराइन्थ्यो । उपलब्ध बिजुली पनि कमिसनका लागि डेडिकेटड फिडरमा दिने र धेरै बिजुली चोरीका लागि प्रयोग हुने गरेको तथ्य बाहिर आइसकेको छ ।

तर, यो वर्ष बिजुली निरन्तर आपूर्तिको प्रयास हुँदा पुसससम्म नै प्राधिकरणले २ अर्ब ३० करोड युनिट बिजुली बेचेको छ । जुन, गतवर्षको भन्दा निकै उच्च हो । कुलमान आएपछि प्राधिकरणमा ब्यालेन्स सीटमा नै ठूलो उपथपुथल आएको छ ।

प्रतियुनिट राजश्व पनि बढ्यो

पुसमा प्राधिकरणको प्रतियुनिट राजस्व १० रुपैयाँ पैसामा पुगेको देखिन्छ । प्राधिकरणका विभिन्न ग्राहककका लागि प्रतियुनिट राजस्व फरक-फरक तय गरेको छ ।

एक युनिट बेच्दा समग्रमा प्राधिकरणले कति रुपैयाँ राजश्व पाइरहेको छ भनेर समग्रमै हुने हिसाव प्रतियुनिट राजश्व हो । बितेको पुसमा प्राधिकरणले एक युनिट बिजुली बेच्दा १० रुपैयाँ ०४ पैसा राजस्व पायो, गत वर्षको पुसमा भने ८ रुपैयाँ ८ रुपैयाँ ८५ पैसा थियो ।

लोडसेडिङ हुने समयमा प्रतियुनिट राजश्व घट्छ भने बर्षाको समयमा धेरै बिजुली बेचिने हुँदा यो बढ्ने गर्छ । तर, यो वर्ष हिउँदमै पनि प्राधिकरणको एक युनिट बराबर उठ्ने राजश्वमा खासै फेरबदल आएन ।

सबैभन्दा बढी बिजुली उत्पादन सम्भव हुने भदौमा १० रुपैयाँ ६ रुपैयाँ प्रतियुनिट राजस्व थियो । त्यसपछि कुलमान नेतृत्वमा आए र सुख्खायाम पुसमा आइपुग्दा पनि उनले प्रतियुनिट राजश्व १० रुपैयाँ ४ रुपैयाँ नै कायम गराएका छन् ।

पुससम्म एउटा ग्राहकले महिनामा औसतमा १२ सय ७४ रुपैयाँ भुक्तानी गर्ने अवस्था छ । गत वर्षको पुसमा यो राजस्व रकम ८ सय ७९ रुपैयाँ थियो ।

प्रतिग्राहकले पाए १२६ युनिट

यसैगरी पुससम्मको प्राधिकरणको प्रतिग्राहक खपत युनिट अर्थात एउटा ग्राहकले महिनाभर खर्च गर्ने युनिट पनि बढेको छ । प्राधिरकणले अधिकतम् बिजुली उपलब्ध गराएकाले नै ग्राहकले खपत गर्ने बिजुलीको युनिट बढेको हो ।

गतवर्ष पुसमा एउटा ग्राहकले औसतमा ९९ युनिट खपत गर्थे भने यो वर्ष त्यो बढेर १२६ युनिट पुगेको छ ।

कुलमान प्राधिकरणमा आउनुअघि साउन महिनामा यो १२७ मा थियो । साउनमा धेरै बिजुली उत्पादन हुने भएकाले प्रति ग्राहकको खपत स्वतः बढ्ने गर्छ । तर, पुससम्म पनि कुलमानले प्रतिग्राहकको खपत युनिटलाई निकै ब्यवस्थापन गरेर १२६ युनिटमा कायम गर्न सफल भएका छन् ।

प्राधिकरणले पुससम्म घरेलु ग्राहकबाट प्रतियुनिट ९ रुपैयाँ १६ पैसा राजश्व असुलिरहेको छ । गतवर्ष पुसमा यो राजश्व दर प्रतियुनिट ८ रुपैयाँ ३ पैसा थियो ।

यसैगरी गत वर्षको पुसमा औद्योगिक ग्राहकबाट ग्राहकबाट प्रतियुनिट ८ रुपैयाँ ६० पैसा राजश्व उठाउन सकेेको प्राधिकरणले यो वर्ष ९ रुपैयाँ ९९ पैसा राजश्व उठाएको छ ।

अन्य धेरै प्रकारका ग्राहकबाट पनि प्राधिकरणले गत वर्षको भन्दा प्रशस्तै राजस्व उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment