Comments Add Comment

मधेसी मोर्चाद्वारा माधव नेपालको कार्यक्रम विथोल्ने प्रयास, पत्रकारसहित ३ घाइते

१५ फागुन, रौतहट । मधेसी मोर्चाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कार्यक्रम विथोल्न खोज्दा रौतहटमा झडप भएको छ । झडपका क्रममा पत्रकारसहित ३ जना घाइते भएका छन् ।

सदरमुकाम गौरमा एमाले पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखेको थियो र, पूर्वप्रधानमन्त्री नेपाल प्रमुख अतिथि थिए । तर, नेता नेपाललाई गौर प्रवेश गर्न नदिने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले मध्य बजार गरुडा र वीपी चोकमा बिहानैदेखि प्रर्दशन गरेका तिए ।

क्षेत्र नं. १ का सांसद समेत रहेका नेता कडा सुरक्षा घेराकाबीच दिउसो १ बजेतिर कार्यक्रम स्थल पुगेपछि तनाव बढ्यो । प्रदर्शनकारीले टायर बालेर मुख्य सडकमा प्रदर्शन गरेका कारण नेपाल बैकल्पिक बाटोबाट आएका थिए ।

एकातिर कार्यक्रम, अर्को तिर झडप

नेता नेपालले जिल्ला प्रहरी कार्यालय नजिकैको ब्यारेक मैदानमा विभिन्न पार्टी परित्याग गरेकाहरुलाई पार्टी प्रवेश गराइरँदा झण्डै चार सय मिटर वीपी चोकमा भने प्रहरी र प्रदर्शनकारीबीच झडप सुरु भयो ।

एमालेलाई मधेस विरोधी पार्टी भन्दै विरोधमा उत्रिएका मोर्चा कार्यकर्ता र सुरक्षाकर्मीबीच ढुङ्गा हानाहान हुँदा झण्डै तीन घण्टा सम्म उक्त क्षेत्र तनावग्रस्त बन्यो । प्रदर्शनकारीहरुले गौर ८ वासल्मकी नगरमा एमाले कार्यकर्ताले प्रयोग गरेको भारतीय नम्बरको जीपमा आगो लगाएका छन् भने अर्को गाडीको सिसा फुटाएका छन् । प्रहरीले भने एक सेल अश्रुग्यास हानेको छ ।

झडपका क्रममा प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी जवान रामविनय यादव घाइते भएका छन् भने प्रहरीको लाठीबाट पत्रकार प्रभात झा र स्थानीय नन्दकिशोर पटेल घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment