Comments Add Comment

नेपालमा ८ खर्ब ३० अर्ब लगानी गर्ने चिनियाँ घोषणा, भारतीय प्रतिवद्धता ३१ अर्ब मात्रै

श्रींलंका र बंगलादेश भारतभन्दा अघि, कसले कतिको प्रतिवद्धता जनाए ?


२० फागुन, काठमाडौं । काठमाडौंमा सकिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको छ । लगानी सम्मेलनमा अन्य देशका लगानीकर्ताको प्रतिवद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो ।

लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको आयोजक लगानी बोर्डले जनाएको छ । सम्मेलनमा चिनियाँ लगानीकर्ताले नेपालमा लगानीका लागि बढी र उत्साहजनक रुपमा चासो देखाएका छन् ।

सम्मेलनमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चीनका लगानीकर्ताले गरेको प्रतिवद्धता रकम कुल घोषित लगानीको ६१ प्रतिशत हो । चिनियाँ लगानीकर्ताको तर्फबाट भएको घोषणाले भारतीय लगानीकर्तालाई निकै पछि पारेको छ ।

नेपालमा लगानीका लागि होडबाजीमा रहको भारतबाट सम्मेलनमा सहभागी लगानीकर्ताले ३१ अर्ब ७० करोडको मात्रै प्रतिवद्धता जनाएका छन् । भारतबाट आएको प्रतिवद्धता कुल घोषित रकमको २.२९ प्रतिशत मात्रै हो ।

सम्मेलनमा अनुमान गरिएभन्दा १२ खर्ब ५२ करोड रुपैयाँ बढीको प्रतिवद्धता आएको छ । सरकारले लगानी सम्मेलनबाट १ खर्ब जुट्ने अनुमान गरेकोमा लगानी प्रतिवद्धता भने १३ खर्ब (१३.५२ बिलियन डलर) को आएको हो ।

लगानी सम्मेलन समापन गर्दै उद्योगमन्त्री नविन्द्रराज जोशीले अनुमानभन्दा निकै ठूलो प्रतिवद्धता आएकाले आफूहरु उत्साहित भएको बताए ।

‘सबै राजनीतिक दलको अबको प्राथमिकता भनेको विकास हो, यसका लागि विदेशी लगानी जरुरी छ, त्यसैले नै ठूला राजनीतिक दलहरुले यो सम्मेलनमा विदेशी लगानीलाई सुरक्षा गर्ने प्रतिवद्धता जनाएका हुन् ‘ उनले भने ।

साथै विदेशी लगानीलाई सुरक्षा दिने नेताहरुको प्रतिवद्धताकै कारण मन्त्रालयको अपेक्षाभन्दा पनि ठूलो मात्रामा लगानी प्रतिबद्धता आएको उनको भनाइ छ ।

मन्त्रालयले १ खर्बभन्दा बढी लगानी प्रतिवद्धता आउने अपेक्षा गरेको थियो । तर सम्मेलनमा विदेशी लगानीकर्ताबाट १३ खर्बभन्दा बढी रकमको लगानी प्रतिवद्धता आएको छ ।

कसले कतिको प्रतिवद्धता जनाए ?

सम्मेलनमा सहभागी बंगलादेशका लगानीकर्ताले दोस्रो ठूलो प्रतिवद्धता जनाएका छन् । उनीहरुले २ खर्ब ४० अर्ब रकमको लगानीको घोषणा गरेका हुन् ।

त्यसैगरी जापान र बेलायतबाट १/१ खर्बको लगानी प्रतिवद्धता आएको लगानी बोर्डले जनाएको छ । लगानी प्रतिवद्धताको होडबाजीमा भारतलाई श्रीलंकाले पनि उछिनेको छ ।


श्रीलंकाका लगानीकर्ताले ५० अर्ब लगानीको लागि आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् । नेपालका लगानीकर्ताबाट १ अर्ब १५ करोडको लगानी प्रतिवद्धता जनाएको बोर्डले जनाएको छ ।

विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

किन बढ्यो चिनियाँ लगानी ?

सम्मेलनपछि जारी गरिएको लेटर अफ इन्टेन्टमा चिनियाँ व्यवसायीहरुले लिखित रुपमा ८ खर्ब ३ अर्बभन्दा ठूलो लगानी गर्ने प्रतिबद्धता जाहेर गरेको देखिएको छ ।

पछिल्लो समयमा पर्यटन लगायत विभिन्न क्षेत्रमा चिनियाँ लगानी नेपालमा लगातार बढिरहेको छ । संविधान बनेर देश राजनीतिक स्थायित्वतर्फ लम्किँदै गर्दा चिनियाँ लगानीकर्ताले नेपालाई लगानीको भर्जिन ल्याण्डका रुपमा देखेका छन् ।

नेपालमा रहेको प्राकृतिक तथा सांस्कतिक स्रोत सम्पदा तथा त्यसैका आधारमा खडा हुनसक्ने विभिन्न उद्योग ब्यवसायमा चिनियाँ लगानी केन्दि्रत हुने देखिएको छ । भारतीय लगानीलाई पछि पार्ने गरी मौलाएको चिनियाँ लगानीकर्ताको चासोले अन्ततः नेपालकै पूर्वाधार क्षेत्रमा लाभ मिल्ने देखिएको छ ।

सम्मेलनको सुरुवातमै बोलेका प्रधानमन्त्री प्रचण्डले नेपालमा हुने विदेशी लगानीलाई सुरक्षित गर्ने वातावरण बनाउने बताएका थिए । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पनि विदेशीको लगानी सुरक्षामा आफ्नो पार्टी प्रतिबद्ध भएकेा जनाएका थिए ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिले विदेशी लगानीकर्तालाई सरकारभन्दा एक कदम अघि बढेरै सहयोग गर्ने बताएका थिए ।

यसरी नेपालका कांग्रेस, एमाले र माओवादीका बरिष्ठ नेताहरुले लगानी सुरक्षाको प्रतिवद्धता जनाएसँगै सम्मेलनमा चिनियाँ ठूला व्यवसायीहरुले नेपालमा लगानी बढाउने इच्छा देखाएका छन् ।

उद्योग मन्त्रालयका अनुसार चिनियाँहरुले अहिले पर्यटन, जलबिद्युत जस्ता क्षेत्रमा लगानी गर्ने इच्छा जाहेर गरेका छन् ।

कुन चिनियाँ कम्पनीको केमा चासो ?


चिनियाँ मेसिनरी इन्जीनियरिङ कम्पनीले जलविद्युत, मेट्रो र अस्पतालमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनीले यी क्षेत्रमा चीनबाट ३ खर्ब लगानी लगानी गर्ने प्रतिबद्धता आएको हो ।

चाइना स्टेट कन्स्ट्रक्सन् एण्ड इन्जिनियरिङ कम्पनीले पनि विमानस्थल, सुरुङ र राजमार्गमा २ खर्बभन्दा ठूलो रकम लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै चिनको सिटिसिइ ग्रुपले पनि सुरङमार्ग, रेल, जलबिद्युत जस्ता क्षेत्रमा १ खर्बभन्दा बढी खर्चने प्रतिबद्धता जनाएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।

यी पनि पढ्नुस्

लगानीकर्तालाई ऊर्जामन्त्रीको आह्वान- नेपाल बाँझो जमिन हो, जोत्नुस् र लाभ लिनुस्

लगानीकर्ताले मागे पुँजी भित्र्याउने सहज वातावरण, गभर्नर भन्छन् : नियमनमा कडा हुनैपर्ने बाध्यता

कुलमानले भनेः विहान-बेलुकाको विजुली महंगो र अन्य समयको सस्तो गर्नुपर्छ

५ वर्षभित्र २५ वटा नयाँ तारे होटल खोल्ने सरकारको घोषणा

भाबुक हुँदै उद्योगमन्त्रीले भने-७ खर्ब रेमिट्यान्स भित्र्यायौं, युवाशक्ति र विकास गुमायौं

लगानी सम्मेलनः अनुमानभन्दा साढे १२ खर्ब बढीको प्रतिवद्धता

कोकाकोलाको अनुभवः नेपालमा लगानी गर्दा उच्च मुनाफा

भारतीय अर्थमन्त्रीले भनेः नेपालमा रेल सञ्जाल र प्रशारण लाइन सहयोग प्राथमिकतामा

एयरपोर्ट र ऊर्जामा लगानी गर्नुस्ः देउवा, ओलीले भने-सरकारभन्दा अघि बसेर सघाउँछौं

१० वर्षभित्र नेपाली युवा काम खोज्दै विदेशिने अवस्था हट्छः उद्योगमन्त्री

राजनीतिक स्थायित्व आयो, अब लगानी आउनुपर्छः प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment