Comments Add Comment

आन्दोलनरत स्वास्थ्यकर्मीको ‘तालिबानी’ शैली, पोलियो अभियान रोक्ने प्रयास

२० फागुन, काठमाडौं । काठमाडौं । पदस्थापनाको विषयलाई लिएर आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियान नै रोक्ने प्रयास गरेका छन् । उनीहरुले पोलियो थोपा भण्डारण गरिएको कक्षमा तालाबन्दी गरेका छन् भने ओसारपसारमा प्रयोग भएको गाडी समेत रोक्ने प्रयास गरेका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले भने स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएका जनाएका छन् । साथै पोलियो थोपा खुवाउनेसहितका स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न आहृवान समेत गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले भोलि शनिबार १५ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउँदैछ ।

स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि तराईका १२ र काठमाडौं उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा पोलियो खोप कार्यक्रम हुन सकेको थिएन । भोलि शनिबार र पर्सि आइतबार कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौं, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ ।

तर, हेल्थपोष्ट इन्चार्ज बनाउन माग गर्दै आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियानमा असहयोग मात्कार होइन, अवरोध गरेका छन् ।

पोलियो खोपलाई प्रभावित गर्ने, खोपका सरसामानहरु ओसारपसार गर्ने सवारी साधनलाई अवरोध भइरहेको सुन्दा आफु अचम्मित भएको मन्त्री थापाले बताएका छन् ।

एक सरकारी अधिकारीले भने नेपालका स्वास्थ्यकर्मीले नै तालिबानी शैली अपनाउन लागेको त होइन भन्ने प्रश्न गरेका छन् । तालिवानले पाकिस्तानमा आतंककारी गतिविधि गरेर पोलियो खोप अभियान अवरुद्ध पार्दै आएका छन् ।

जनआन्दोलन सफल भएपछि तत्कालीन सरकारले करिव ३ हजार ९ सय अहेबको दुई तह बढुवा गरेको थियो । तर, लोकतान्त्रिक बढुवा खाएपनि शैक्षिक योग्यता नपुगेका कारण उनीहरुले त्यस अनुसार जिम्मेवारी पाएका थिएनन् । गगन थापा स्वास्थ्यमन्त्री भएपछि समस्या समाधानका लागि पहल गरेका छन् ।

तर, आन्दोलनरत कर्मचारीहरुले भने हेल्थपोष्ट इन्चार्ज बनाउनु पर्ने अडान राख्दै आएका छन् । पछिल्लो समय भएका वार्ताहरुमा सहमति हुन नसकेपछि उनीहरुले पोलियो अभियानलाई नै अवरुद्ध पार्ने प्रयास थालेका छन् ।

मन्त्री थापाले भने पुल दरबन्दी सृजना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको र स्वास्थ्य सेवा ऐन संशोधन गरी ३ महिनाभित्र समस्याको समाधान गर्न प्रतिबद्धता जनाएका छन्, र स्वास्थ्यकर्मीहरुलाई आ-आफ्नो काममा र्फकर्न आहृवान गरेका छन् ।

यसैविच, स्वास्थ्य मन्त्रालयले सेवा अवरोध भएका ठाउँहरुमा सुरक्षा व्यवस्था गरी सेवा सुचारु गराउन सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment