Comments Add Comment

लघुकथा: जोगी सुब्बा

‘जाबो सुब्बाले यत्रो सम्पत्ति जोड्ला भनेर त मैले एकरत्ति पनि सोच्या थिइनँ । यस्तो थाहा पाएको भए त उतिबेला बिहेको लागि किन अनकनाउँथेँ होला र ! यस पटक हजुरको भागमा बीस हजार ? आखिर बुढो कसको !’

दुई पटक गालामा चुप्प-चुप्प पार्दै काखमा ढसारिँदै बसिन् उनी ।

‘हुन त नेपालभित्रै नजिकै कतै आफ्नै गाडीमा घुम्न गए’नि हुन्थ्यो । तर, मिल्यो भने त यसपालि बाबु-नानी लिएर थाइल्यान्ड जानुपर्छ । फुर्सद मिलाउनु है बुढो । त्यो हाकिमकी जहान पोहोर साल गोवा घुम्न गा’की, देख्नु भो कसरी फूर्ति देखाई फर्केर ? यसपालि लामो बिदा त होस् न, कसरी देखाउँछु म त्यसलाई !’, उनको अहङ्कार बोल्यो यसपालि ।

समय बित्दै गयो, लामो बिदा नआइपुग्दै अचानक एक दिन टिभीमा समाचार आयो- ‘भन्सार कार्यालयमा कार्यरत सुब्बा मुर्धन्य ५० हजार घुससहित रंगेहात पक्राउ !’

यस पटक कालो मुख बनाएर घर फर्केको उसले श्रीमतीको शब्द रूपी चुप्प भेट्यो – ‘कुभिन्डोलाई खुट्टो लगाएर’नि के हुन्थ्यो र ! हुतीहारा, बेकुफ । आजसम्म मेरो बुद्धिले उँभो लाथ्यौ, अब आफ्नै बुद्धि प्रयोग गर्न थाल्दा सड्ने भयौ ! बस्नु छैन मलाई यस्ता बदनामसँग, म त हिँडेँ माइत !’

केही दिनपछि उनको माइतको टिभी बोल्दै थियो- ‘अकुत सम्पत्ति कमाएका सुब्बा मुर्धन्यको हालसम्म भ्रष्टाचार गरेर कमाएको दुई करोड बराबरको सम्पत्तिको पनि छानबिन गरिने । श्रीमतीको बुद्धिले आफू जोगी भएको उनको गुनासो ।’

देवचुली न पा ७, नवलपरासी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment