Comments Add Comment

पुँजी वृद्धि दबाबले ४० संस्थाको विलय, लगानीकर्तालाई भने ३२ अर्बको सेयर लाभ

२७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई परेको पुँजी वृद्धिको चटारोले प्रतिफलको रुपमा लगानीकर्ताको हातमा भने २० महिनामा ३२ अर्ब रुपैयाँको सेयर परेको छ ।

नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष ‘क’ ‘ख’ र ‘ग’ वर्गका ९६ बैंक तथा वित्तीय संस्थाले १७ अर्ब ६४ करोड रुपैयाँको बोनस सेयर दर्ता गराएका थिए ।

त्यस्तै चालु आर्थिक वर्षको करिब ८ महिनामा यी तीनै वर्गका ६५ संस्थाले १४ अर्ब ४७ करोड रुपैयाँको बोनस सेयर दर्ता गराएका छन् । यी कतिपय कम्पनीको बोनस सेयर जारी भइसकेको छ भने केहीको प्रक्रियामा रहेका छन् ।

आव २०७२/७३ को मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पूँजी रु. ८ अर्ब पुग्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असारसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुले रु. २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले रु. १ अर्ब २० करोड, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले रु. ५० करोड चुक्ता पुँजी पुर्याउँनुपर्छ ।

चालु आव २०७३/७४ मा दर्ता भएका बोनस सेयर, स्रोत : नेपाल घितोपत्र बोर्ड

राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले पनि यो अवधिमा रु. ८० करोड र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले रु. ४० करोड पुर्याउनु पर्ने हुन्छ ।

पुँजी वृद्धिले परेन मर्जरमा दबाब, निर्देशनपछि मात्रै ४० संस्था बिलय

चुक्ता पुँजी वृद्धिको प्रारम्भिक लक्ष्य बैंक तथा वित्तीय संस्थाबीच मर्जर नै रहेको थियो । तर राष्ट्र बैंकले समेत यो अडान छाडेपछि बैंकहरु स्वयं पुँजी वृद्धिमा लागे र यसको परिणाम बैंकिङ क्षेत्रमा कर्जा योग्य पुँजी अभावलाई पनि लिइएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार मर्जर विनियमावली २०६८ आएपछि २०७२ असारसम्ममा ७८ संस्थामध्ये ४८ संस्थाको विलय भएर ३० संस्थामा सिमित भएका थिए । तर, त्यसयता मर्जरमा दबाब नपुग्दा मर्जर विनियमावली २०६८ आएपछि २०७३ पुससम्ममा कुल १ सय ३० संस्थामध्ये ८८ संस्था विलय भएर ४२ मा सिमित भएको देखिन्छ । चुक्ता पुँजी वृद्धिको निर्देशन अघि ४८ संस्था विलय भएपनि निर्देशन आएको १८ महिनामा मात्रै ४० संस्था विलय भएका छन् ।

स्रोत: नेपाल राष्ट्र बैंक

हुनत : चुक्ता पूँजी वृद्धि गर्नुपर्ने समयसीमा नजिकिदै जाँदा र बजारमा कर्जा योग्य लगानी अभावको समस्या चुलिदा थप संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदै छन् । चालु आव अन्त्य हुँन बाँकी ४ महिनासम्ममा थप कति संस्था विलय हुने हुन त्यो भने समयले नै बताउँला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment